सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
त्रिवि उपकुलपति उम्मेदवारको अन्तर्वार्ता

‘विवादित’ खनियाँ, बराल र भुसाल उपकुलपति सिफारिसको सूचीमा पर्लान् ?

आइतबार, ०६ फागुन २०८०, १७ : ५९
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सर्टलिष्टमा परेका १४ जनाको अन्तर्वार्ता आइतबार लिएको छ । अन्तर्वार्तापछि समितिले कुलपति तथा प्रधानमन्त्री समक्ष तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस गर्नेछ । 

कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा अन्तर्वार्ता लिइएको हो । समितिले ३ जनाको नाम सिफारिस गरेपछि त्यसमध्ये एक जनाको नियुक्ति हुनेछ । जो त्रिविको २० औँ उपकुलपति हुने छन् । 

१४ जनामध्ये तीन जना (खनियाँ, बराल र भुसाल)को विषयमा विवाद देखिएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा समेत खनियाँ, बराल र भुसालबारे अनेकन प्रश्नहरु उठेको थियो । 

यतिसम्म कि समितिका सदस्य सुमना श्रेष्ठले उनीहरूलाई उपकुलपतिमा नियुक्त नगर्न प्रधानमन्त्री तथा त्रिविका उपकुलपति पुष्पकमल दाहाल प्रचण्डलाई लिखित ध्यानाकर्षण पत्र बुझाएकी थिइन् । 

विवाद र तथ्य

विवादित भनिएका मध्ये एक हुन्, त्रिविका पूर्व उपकुलपति खनियाँ हुन् । उनलाई बौद्धिक चोरी र मापदण्ड नपुगेको मेडिकल कलेजलाई सम्बन्धन दिएको आरोप लागेको छ ।

बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति भएको बेला भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । वर्तमान उपकुलपति भुसाललाई त्रिविको शिक्षाध्यक्ष हुँदा सूचना लुकाएको आरोप छ ।

खनियाँमाथि दुई आरोप 

खनियाँमाथि बौद्धिक चोरी र उपकुलपति भएको बेला निजी मेडिकल कलेजलाई अनुचित ढंगले सम्बन्धन दिएको आरोप लागेको छ ।

२०७२ सालमा उपकुलपति नियुक्त हुने बेला भएको बौद्धिक चोरीको चर्चा अहिले फेरि चुलिएको छ ।

टर्कीका भाषाविद् फेरिट किचिच्कायाको कार्यपत्रको अंश हुबहु स्रोत उद्धृत नगरी खनियाँले ‘नेपाल अंग्रेजी भाषा अध्यापक संघ’ (नेल्टा) द्वारा प्रकाशित जर्नलमा छपाएको आरोप छ । लेखक स्वयमले यो दाबी खनियाँ समक्ष गरेको वा लेख छाप्ने संस्थाले लेख निलम्बन गरेको अवस्था छैन । यदि फेरिटले दाबी गरे खनियाँको लेख निलम्बनमा पर्छ र त्यसबाट प्राप्त रोयल्टी फेरिटले पाउँछन् । तर, बौद्धिक प्रक्रिया चलेको रेकर्ड पाइएन । तत्कालीन उपकुलपतिबारे उठेको प्रश्नबारे शिक्षा मन्त्रालयले सहसचिव डा. तुलसी थपलियाको संयोजकत्वमा छानबिन समिति बनाएर विषय केलाएको पाइयो ।

थपलियाले रातोपाटीसँग कुरा गर्दै मन्त्रालयको आन्तरिक कार्यदलले खनियाँमाथि उठेको प्रश्नबारे सोधपुछ गरेको बताए । ‘तर, मन्त्रिपरिषद्बाट बनेको समिति नभएकाले हामीले सोधपुछसम्म गर्‍यौँ, कारबाहीको सिफारिस गर्ने अधिकार थिएन । कारबाहीको विषय हुने कुरै भएन,’ उनले भने । समितिले सोधपुछ गरेको विवरणसहितको रिपोर्ट बुझायो, त्यसपछि यो विषय सरकारी तवरमा सामसुम भयो ।  

खनियाँमाथिको अर्को गम्भीर आरोप हो– उपकुलपति रहेकै बेला पूर्वाधार नै पुगेको घट्टेकुलोस्थित काठमाडौँ नेसनल मेडिकल कलेजलाई २०७४ साउन १२ गते सम्बन्धन दिएको । त्यति बेला अदालतको आदेशमा कलेजलाई सम्बन्धन दिइएको थियो । त्रिविका अनुसार, अदालतको आदेश कार्यान्वयन गरेको देखाउन दिइएको सम्बन्धन पछि खारेज भयो । तर, खनियाँलाई यो विषयले लखेटिरहेको छ ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग–२०७४ मा यो विषय समेटियो । डा. उपेन्द्र देवकोटा र मन्त्रालयका तत्कालीन सहसचिव सूर्य गौतम आयोगको सदस्य थिए । तर, प्रतिवेदन तयार गर्दै गर्दा डा. देवकोटा बेलायतमा उपचारका लागि गए । त्यसपछि काममा फर्केनन् र प्रतिवेदन पूर्ण हुँदासम्ममा प्राण त्याग गरिसकेका थिए । गौतमले प्रतिवेदनमा कलेजलाई सम्बन्धन दिएकोमा खनियाँलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही गर्ने विषयमा लिखित असहमति जनाएका थिए । 

उनले रातोपाटीसित भने, ‘मैले मापदण्ड पुगेर सम्बन्धन दिएको अवस्थामा भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस गरेकोमा असहमति जनाएको थिएँ । विभागीय कारबाहीको सिफारिस गरौँ भन्दा मानिएन ।’

तसर्थ त्यो प्रतिवेदन संयोजक कार्कीको ‘एकल निर्णय’ का आधारमा तयार भयो । प्रतिवेदन बुझाउन पनि उनी एक्लै दौडधुप गरिरहे । ‘एकल निर्णय भएकाले प्रतिवेदन कार्यान्वयन हुने कुरै रहेन’, गौतमले भने ।

यो प्रतिवेदन सार्वजनिक भएको छैन । तर कार्कीले यसका अंशबारे सार्वजनिक टिप्पणी गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्र्रविधि मन्त्रालयले सो प्रतिवेदन आफैसँग राखेर खनियाँलाई त्रिवि उपकुलपतिको उम्मेदवारमा योग्य ठानिदिएको छ । ‘किन कार्यान्वयन भएन भन्ने तपाईँहरूलाई थाहै छ, त्यो मन्त्रालयमा होला,’ मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले रातोपाटीसँग भने ।

आइतबार भएको अन्तर्वार्तामा यी विषय उठेका थिए । साथसाथै उपकुलपति हुँदा के गर्नुभयो भन्ने प्रश्नमा खनियाँले २०७६ मा त्रिविले निकालेको त्रिभुवन विश्वविद्यालयको ‘छ दशकः योगदान, उपलब्धि र सम्भावना’ पुस्तक र ‘त्रिवि भिजन–२०३०’ मा यो विषय उल्लेख गरिएको जवाफ दिएको अन्तर्वार्ता लिने एक सदस्यले जानकारी दिए ।

बराललाई एक आरोप

बराल पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लगाएको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । निजी कलेजहरूलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको आरोप अख्तियारले लगाएको थियो । 

प्रक्रिया नपुर्‍याएका कलेज तथा शैक्षिक संस्थालाई विश्वविद्यालयबाट सम्बन्धन दिई आर्थिक चलखेल गरेको आरोप थियो । यो आरोपमा उनले सफाइ भने पाइसकेका छन् । त्यस्तै उनीमाथि गैरकानूनी रूपमा कर्मचारी नियुक्ति गरेको आरोप समेत लागेको थियो । 

बरालले समितिको बैठकमा उक्त विषयमा आफूले सफाइ पाइसकेको बताएका थिए । अदालतबाट सफाइ पाइसकेको विषयमा अहिले विवादमा ल्याउन खोजिएको उनको आरोप छ । 

भुसाल पनि आरोपित  

त्रिविका उपकुलपति भुसाललाई पनि सूचना लुकाएर सजाय पाएको आरोप लागेको छ । विश्वविद्यालयको शिक्षाध्यक्ष हुँदा विद्यार्थीलाई सूचना नदिएर लुकाएको भन्दै राष्ट्रिय सूचना आयोगले उनलाई २०७७ मंसिर २५ गते ५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो । 

आयोगको सो निर्णय विरुद्ध उच्च अदालत पाटनमा उनले पुनरावेदन दायर गरेका थिए । अदालतका न्यायाधीशहरु जनक पाण्डे र रमेश ढकालको संयुक्त इजलासले आयोगको निर्णय उल्टिने फैसला गरेका थिए । २०७९ मंसिर २६ को आदेशमा ‘उप्रान्त पुनरावेदक त्रिभुवन विश्वविद्यालको शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल र प्रत्यर्थी राष्ट्रिय सूचना आयोग, देविनगर काठमाडौँ भएको सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम भएको कारबाही सम्बन्धमा मुद्दा यस अदालतबाट मिति २०७९ मंसिर २६ गते उल्टी हुने ठहरी फैसला भएकाले फैसलाको प्रतिलिपि साथै राख्री फैसला भएको जानकारीको लागि यो सूचना पठाइएको छ ।

टुंगिसकेको यही विषय अहिले चर्चामा ल्याइएको छ । त्रिविको उपकुलपति नियुक्ति प्रकरणमा सर्वाधिक विवादमा आएका खनियाँ, बराल र भुसालबारे सिफारिस समितिले सार्वजनिक टीकाटिप्पणीका आधारमा तीन जनाको नाम सिफारिसको सूचीमा पार्ला या नपार्ला ?– सिफारिस सूची सार्वजनिक नभएसम्म प्रतीक्षाकै विषय बनेको छ । 

समितिले अन्तर्वार्तापछि सम्भव भएसम्म आज नै तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयका उपसचिव तेज प्रकाश प्रसाईँले अन्तर्वार्तापछि समितिले उत्कृष्ट नम्बर प्राप्त गर्ने तीन जनाको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने बताए । त्यो सम्भव भएसम्म आज नै सिफारिस गर्ने तयारी भइरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप