बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

मङ्गलबार, ०८ फागुन २०८०, ०७ : ५२
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं. २७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै सङ्कलन गर्न थालिएको छ । ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ । घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी यस वडाबाट गरिएको हो ।

५ हजार जनसंख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले भनिन्, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो जैविक फोहोर हुन्छ । एक भाग जैविक फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’ 

वडा नं. २७ मा फोहोर वर्गीकरण गरेर माघ २१ गतेबाट टेकु ल्याउन थालिएको थियो । त्यसपछि सङ्कलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्ममा ४ वटा पाइल तयार भइसकेका छन् । सङ्कलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।  

वडाबाट फोहोर उत्पादनको स्वरुपमा परिवर्तन आएको छ । विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठले भने, ‘फोहोर छुट्टाउन थालेपछि कुहिने फोहोरलाई उत्पादक आफैँले मल बनाउन थाल्नु भएको छ । नकुहिने फोहोर बेच्न र पुनः प्रयोग गर्न थाल्नुभएको छ ।’

यसरी उत्पादन हुने फोहोर सङ्कलन गर्न महानगरपालिकाको रङ्ग सङ्केतसहितको सवारी साधन जान्छ । एउटै गाडीको हरियो रङ्ग भएको कोठामा कुहिने र नीलो रङ्ग भएको कोठामा नकुहिने फोहोर सङ्कलन गरेर ल्याउँछ । सङ्कलित फोहोरलाई छुट्टाछुट्टै ठाउँमा खन्याएर प्रशोधन गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप