शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पतालको बदलिएको स्वरूप

कसरी सम्भव भयो एक दशकमै युगान्तकारी परिवर्तन ?
बुधबार, ०९ फागुन २०८०, ०६ : २९
बुधबार, ०९ फागुन २०८०

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३, कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल आकर्षक, सुन्दर र सफा देखिन्छ । झट्ट हेर्दा यो कुनै अस्पताल नभएर रमणीय स्थल हो कि जस्तो लाग्छ ।

सरकारी अस्पताल भन्नासाथ अस्तव्यस्त, फोहोर, दुर्गन्ध हुन्छ भन्ने भाष्यलाई यो अस्पतालले गलत साबित गरेको छ । पछिल्लो एक दशकमा यो अस्पतालमा युगान्तकारी परिवर्तन भएको छ ।

पछिल्लो समय मिर्गौला प्रत्यारोपण सेवादेखि ‘हिप रिप्लेसमेन्ट’, न्युरो, स्पाइनल, मुटुरोग जस्ता जटिल खालका स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रदेश अस्पतालले आइसीयु/एनआइसीयु, एमआरआई र सिटीस्क्यान मेसिनद्वारा बिरामीको परीक्षण गर्नुका साथै मनोचिकित्सा सेवा पनि प्रदान गर्दै आएको छ ।

यो अस्पतालमा चार आँखा विशेषज्ञ सेवाको पनि सुविधा छ । अस्पतालमा अत्याधुनिक प्रयोगशाला छ । जसले गर्दा कर्णालीका नागरिकलाई उपचारका लागि नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । यहाँ दैनिक सरदर ६ सय बिरामीले उपचार सेवा लिने गरेका छन् ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘यो जनताको अस्पताल हो, जनताको विश्वास नरहे अस्पतालको अस्तित्व रहँदैन ।’

अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ओपीडी र इमरर्जेन्सीमा गरी कुल ६७ हजार १ सय ३५ बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष ०७९/०८० को तथ्याङ्क हेर्दा यो सङ्ख्या २ लाख १३ हजार १ सय ४३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पतालले आर्थिक वर्ष ०७४/०७५ मा १ हजार ४ सय ७० जना बिरामीको मेजर अप्रेसन गरेको थियो भने गत वर्ष ४ हजार ५४३ जना बिरामीको मेजर अप्रेसन भएको थियो ।

उपचार गर्दै डाक्टरहरु

शल्यक्रियाबाट सुत्केरी हुने महिलाको सङ्ख्या पनि उल्लेख्य छ । गत वर्ष १ हजार ५१३ जना महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ ।

अस्पतालमा दक्ष तथा विशेषज्ञ चिकित्सकका साथै सुविधा सम्पन्न भवनबाट अत्याधुनिक उपकरण तथा औजारको सहायताले सेवा प्रवाह गरेका कारण अस्पतालप्रति जनताको विश्वास बढेको निर्देशक डा. खड्का बताउँछन् ।

कुनै बेला जनशक्ति अभाव झेलिरहने अस्पतालमा अहिले चिकित्सकको अभावसमेत छैन । प्रदेश सरकारले एक जना अस्पताल निर्देशकसहित ७५ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये ५० जना कन्सल्ट्यान्ट चिकित्सक र २५ जना मेडिकल/डेन्टल अफिसर छन् ।

निर्देशक खड्काका अनुसार अहिले यो अस्पतालमा दरबन्दीभन्दा बढी चिकित्सक छन् । अस्पतालमा स्थायी दरबन्दी, करार तथा छात्रवृत्ति र अस्पताल विकास समितिबाट समेत गरी ५ सय १७ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।

  • १० वर्षमा उदाहरणीय परिवर्तन

कर्णाली प्रदेश अस्पतालमा पछिल्लो १० वर्षमा उदाहरणीय परिवर्तन आएको हो । स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल हुँदै ०७५ मा प्रदेश अस्पतालमा स्तरोन्नति भएको यो अस्पतालमा सुरुवाती चरणमा राज्यबाट पर्याप्त लगानीसमेत थिएन ।

५० वर्षअघि तत्कालीन स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा स्तरोन्नति भएको हो ।०२९ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । ०४९ सालमा २५ शय्यामा विकास गरियो । ०६२ फागुन ५ गते मध्यपश्चिम क्षेत्रीय अस्पतालका रूपमा रूपान्तरण गरियो । क्षेत्रीय अस्पतालमा रूपान्तरण भएपछि तत्कालीन स्वास्थ्य तालिम केन्द्रको भवनबाट अस्पतालले सेवा प्रवाह गरेको थियो ।

कमजोर भौतिक संरचना, जनशक्तिको अभाव, स्वास्थ्य उपकरणको कमी झेलेको यो अस्पताले ६० को दशकसम्म पनि भौतिक स्रोत–साधनको अभाव झेल्दै आयो ।

अहिले अस्पतालले ठुलो फट्को मात्र मारेको छैन, सुविधा सम्पन्न अस्पतालका रूपमा आफूलाई स्थापित गरेको निर्देशक डा. खड्का बताउँछन् ।

०७३ जेठमा निर्माण सम्पन्न भएको नयाँ भवनबाट बहिरङ्ग (ओपीडी) सेवा सुरु भयो । त्यसपछि अस्पतालमा सेवाग्राहीको चाप पनि बढ्न थाल्यो । त्यसैलाई मध्यनजर गर्दै २ वटा प्रिफेब भवन निर्माण गरी मेटरनिटी वार्ड र आइसीयु/एनआइसीयु सञ्चालन गरियो ।

तालिम केन्द्रमा रहेको पुरानो अस्पताल भवन रहेको स्थानमा मनोरम बगैँचा निर्माण गरियो । दुईवटा प्रिफेब भवनको बिचमा प्रसूति वार्डको अगाडि बिरामी कुरुवा प्रतीक्षालय बनाइयो ।

dr dambar khadka

निर्देशक खड्काका अनुसार ०७४ मा अस्पताललाई ३ सय शय्याको बनाउन नयाँ भवन निर्माणको सुरुवात गरिएको थियो । अहिले अस्पतालको सम्पूर्ण सेवा तीन वटा ब्लकमा रहेका तीन तले नयाँ भवनबाट चलिरहेको छ ।

०७५ कार्तिक १३ गते मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट प्रदेश अस्पतालमा रूपान्तरण भएको अस्पताल अहिले प्रदेश सरकार मातहतमा छ । प्रदेश मातहत आएपछि अझ सजिलो भएको खड्काको भनाइ छ । सरकारले यो अस्पताललाई १ सय ५० शय्याका लागि दरबन्दी स्वीकृत गरेको छ तर, बिरामीको चापका कारण २ सय ९० शय्या सञ्चालन भइरहेको छ ।

अस्पतालको क्षमता ५ सय शय्या बनाउने योजना समेत अघि बढिरहेको छ । अहिले कर्णालीका मात्र होइन, छिमेकी प्रदेशका जनतालाई समेत भरपर्दो र विश्वसनीय स्वास्थ्य सुविधा प्रदान गर्दै आएको निर्देशक खड्का बताउँछन् ।

डा. खड्काले ०७२ देखि निर्देशकको जिम्मेवारी पाए । त्यसपछि अस्पतालको अवस्थामा सुधार आउँदै गएको सरोकारवाला बताउँछन् ।

‘प्रदेश अस्पताल आजको अवस्थामा पुग्नुमा नेतृत्वको भूमिकामात्र होइन, नेतृत्वलाई अस्पतालको आन्तरिक तथा बाह्य क्षेत्रबाट प्राप्त विश्वास महत्त्वपूर्ण छ,’ डा. खड्का भन्छन्, ‘सबैको सहयोगले नै आज सुविधा सम्पन्न अस्पतालको रूपमा विकास भएको छ ।’

उनका अनुसार एमडी/एमएस गरेका विशेषज्ञ चिकित्सक भित्र्याउनेदेखि लिएर भौतिक संरचना निर्माण र स्तरीय सेवालाई केन्द्रमा राखेपछि नै यो अस्पतालले जनताको विश्वास जित्न सकेको हो ।

  • आगामी तीन वर्षे कार्ययोजना

५ सय शय्या सञ्चालन गर्ने योजना अनुसार धमाधम काम भइरहेको डा. खड्का सुनाउँछन् । बिरामीको चाप अत्यधिक बढेकाले ओपीडी भवन निर्माणका लागि डीपीआर तयार गरी प्रक्रियासमेत सुरु गरिसकिएको उनले बताए ।

उक्त भवन देशकै उत्कृष्ट ओपीडी भवनको रूपमा तयार हुने उनको दाबी छ । यस्तै चार तले बिरामी कुरुवा घर निर्माणको चरणमा छ ।

रात्रीकालिन तस्वीर

भवन निर्माण भएसँगै दुरदराजबाट आउने बिरामीका आफन्तलाई बास बस्न सहज हुने उनको अपेक्षा छ ।

उनका अनुसार अस्पताल परिसरमै सौर्य ऊर्जा जडित क्यान्टिन निर्माण गरिने छ, जसबाट चिकित्सक र कर्मचारीका साथै बिरामी र बिरामी कुरुवाहरू लाभान्वित हुनेछन् ।

स्वास्थ्य सेवालाई अझ विश्वसनीय बनाउन निकट भविष्यमा ‘क्याथ ल्याब’ सेवा पनि सुरु हुने छ । उक्त ल्याब सुरु भएमा जटिल खालको मुटुरोगको निदान र उपचार सुर्खेतमै सम्भव हुनेछ ।

त्यसैगरी डाइलासिस सेवा पनि सञ्चालन गरिने निर्देशक खड्का बताउँछन् । अस्पताललाई अझ राम्रो बनाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न चाहन्छन् उनी । प्रतिष्ठान बनेको खण्डमा अस्पतालको विकास र समृद्धिको दायरालाई थप फराकिलो बनाउन सकिने उनले बताए ।

प्रतिष्ठान बनेको खण्डमा अस्पतालले सधैँ भोग्ने गरेको जनशक्ति अभाव सदाका लागि समाप्त भएर जाने निर्देशक खड्काको दाबी छ । प्रतिष्ठानमा एमडी/एमएस चिकित्सक र स्नातक तह नर्सिङको अध्यापन हुने भएपछि विशिष्टकृत जनशक्तिको उपलब्धता स्वतः वृद्धि हुने उनले बताए ।

यद्यपि यो विषयमा प्रदेश सरकारभित्र सत्तारुढ दुई दलबिच विवाद छ । प्रतिष्ठान बनाउने प्रस्ताव अहिले कानुन मन्त्रालयमा थन्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप