आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अनुसन्धानमा प्रविधि

अपराधमा अकाट्य प्रमाण लिन एआई र सीसीटीभीको व्यापक प्रयोग

बिग्रेका सीसीटीभी मर्मत गर्न प्रहरीको हारगुहार
शुक्रबार, ११ फागुन २०८०, १० : २८
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा प्रयोग गर्दै आएको नेपाल प्रहरीले उपत्यकामा हुने अपराध अनुसन्धान र नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि समेत उपयोगमा ल्याएको छ । 

‘सुरक्षित काठमाडौँ उपत्यका हाम्रो प्रतिबद्धता’ अभियान अन्तर्गत एआई प्रविधि प्रयोगमा ल्याइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीको भनाइ छ।

काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा क्यामरा जडान गरिएको छ । सशङ्कित व्यक्तिको तस्बिर सर्भरमा राखेपछि एआई क्यामेराले अनुहार मिलेमा संकेत पठाउँछ । एसएसपी मैनाली रातोपाटीसँग भने, ‘नोटिफिकेशन आएपछि पछ्याएर आरोपी पक्रन्छौँ ।’

अपराधमा संलग्नहरू सवारी लिएर भागेमा पक्राउ गर्न समेत अटोमेटिक नम्बर प्लेट पहिचान गर्नसक्ने क्यामरा ‘एएनपीआर’ काठमाडौँको चक्रपथमा जडान गरिएको प्रवक्ता मैनालीले जनाएका छन् ।

अपराध अनुसन्धान र नियन्त्रणका लागि सीसीटीभीको प्रयोग बढ्दो छ । चालु आर्थिक वर्षमा उपत्यका प्रहरी कार्यालय अन्तर्गत २ सय ६१ सहित देशभर १ हजार २ सय ९५ वटा थप सीसीटीभी जडान गरिएको छ । प्रदेशमा जडित क्यामरा प्रदेश प्रहरी कार्यालयबाट मनिटर गरिन्छ । 

देशभर जडित सीसीटीभीको यस्तो छ, तथ्यांक 

Capture

क्लोज सर्किट टेलिभिजनको फुटेज प्रहरीका लागि ‘अकाट्य प्रमाण’ हुने पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बुझाइ छ । ‘सुरक्षा र अनुसन्धानमा सीसीटीभीले राम्रै सहयोग पुर्‍याउँछ,’ उनले भने । 

बलात्कारको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराको घटना सीसीटीभीकै सहयोगमा अनुसन्धान गरियो । ’उहाँको मुभमेन्ट सीसीटीभीमा देखिएपछि अनुसन्धान अधिकृतहरू थप विश्वस्त भएका थिए,’ खनाल भन्छन् ।

प्रहरीले २० वर्षअघिदेखि देशको राजधानी काठमाडौँ उपत्यकामा सीसीटीभी प्रयोग गर्दै आएको छ । काठमाडौँको बौद्धस्थित नबिल बैंकभित्रै २०६१ मा गोली चल्यो । सीसीटीभीको सहयोगमा अनुसन्धान गरी गोली चलाउनेलाई पक्राउ गरिएको स्मरण उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सोमेन्द्र सिंह राठौर गर्छन् । २०६७ मा व्यापारी अन्जनी कुमार चाचन ‘हत्याकाण्ड’ मा पनि सीसीटीभी निकै सहयोगी बन्यो ।

काठमाडौँको गण बहाल स्थित ‘एभी इन्टरप्राइजेज’ नामको ब्याग होलसेल पसलका सञ्चालक भारतीय नागरिक चाचनलाई गोली प्रहार भयो । उनको ज्यान जाने गरी पसलमै भएको घटनाको अनुसन्धानमा सीसीटीभी फुटेज महत्त्वपूर्ण सहयोगी बन्यो । ‘चाचन हत्याबारे अनुसन्धान गरेका एसएसपी राठौर भन्छन्, ‘हामीलाई प्राप्त १ सेकेन्डको फुटेजले सुटरसम्म पुग्न सकियो ।’ फुटेजमा देखिएका सुटर निरज केसीलाई उनकी प्रेमिकाले सनाखत गरिदिएसँगै अनुसन्धान टुङ्गियो ।

काठमाडौँको गैह्रीगाउँस्थित दिव्या सः मिलमा भदौ २९ गते ४ जनाको हत्याको घटना पहिचानमा सीसीटीभी सहयोगी बन्यो । नविन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्यापछि झोला बोकेर दौडिएका आरोपीलाई सीसीटीभीको दृश्यकै आधारमा पछ्याइयो, र सञ्जय भण्डारी पक्राउ परे । कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई पक्रन पनि सीसीटीभीनै उपयोगी भएको थियो । निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न सुटरलाई पनि सीसीटीभीकै सहयोगमा पक्राउ गरियो । प्रहरी सबै ठाउँमा पुग्दैन, ६० प्रतिशत अपराध सीसीटीभीकै सहयोगमा पत्ता लाग्ने गरेको छ । 

अनुसन्धान अधिकृतहरूका अनुसार ‘हिट एन्ड रन’का घटना ९९ प्रतिशत सीसीटीभीको सहयोगमा अनुसन्धान हुने गरेको छ । सवारी दुर्घटनाको अनुसन्धानमा सीसीटीभी महत्त्वपूर्ण माध्यम बनेको छ । कोटेश्वर–कलंकी सडक खण्डमा सवारी–साधनको नम्बर प्लेट रिड गर्नसक्ने सीसीटीभी राखेसँगै ‘हिट एन्ड रन’का घटना न्यूनीकरण भएको छ । घरमा हुने चोरीलाई समेत नियन्त्रणमा सहयोग पुग्ने खनालको अनुभव छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा चालु आर्थिक वर्षमा सवारी दुर्घटना, सवारी चोरी, सामान छुटेको र लुटपाट सम्बन्धी घटनामा आवश्यक पर्दा प्रहरी युनिटहरूले पत्र पठाएर प्रहरी कार्यालयबाट फुटेज लिन्छन् । त्यसरी ५८१ वटा फुटेज आफू मातहत कार्यालयलाई दिइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । ती फुटेजको आधारमा ४ सय ९ वटा आपराधिक घटना अनुसन्धान गरी टुङ्ग्याइएको छ । 

२०८० साउनपछि काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेर फरार भएका १४ हजार ६६३ जना कारबाहीको दायरामा आएका छन् । पछिल्लो ७ महिनामा उपत्यकामा ट्राफिक कारबाही र अन्य अवाञ्छित गतिविधिमा संलग्न ४० हजार २६९ जनालाई प्रहरीले सीसीटीभीको आधारमा पहिचान गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सीसीटीभी शाखाका प्रमुख एसपी दामोदर कँडेल भन्छन्,‘आधुनिक प्रविधिको प्रयोग गरेर २४ सै घण्टा सीसीटीभी मार्फत गलत गतिविधि मनिटर गरेर परिणाममुखी काम गर्न लागिरहेका छौँ ।’ 

सीसीटीभी नहुँदाको निर्मला प्रकरण  

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भयो । प्रहरीले लगातार अनुसन्धान गरिरहे पनि अपराधी पहिचान गर्न सकेको छैन । अनुसन्धान संलग्न प्रहरीहरूलाई खड्किएको विषय हो,‘घटनास्थलमा सीसीटीभी नहुनु ।’ 

आरोपी पत्ता लगाउन प्रहरीले एक समय डीएनए जाँचलाई मुख्य ‘अनुसन्धान विधि’ बनायो, तर परिणाम हात परेको छैन । पूर्व आईजीपी खनाल भन्छन्,‘सीसीटीभी भएको भए कञ्चनपुरको घटनाका आरोपीको मुभमेन्ट हेर्न सकिन्थ्यो ।’

उपत्यकामा मात्र ४ हजार 

उपत्यका प्रहरी कार्यालयबाट मनिटर हुने गरी काठमाडौँ उपत्यकामा हाल ३ हजार ९ सय ९३ वटा सीसीटीभी जडान गरिएका छन् । त्यसमध्ये ५ सय ४५ सीसीटीभी चालु अवस्थामा नहुँदा मर्मतका लागि प्रहरीले विभिन्न संघ संस्थाहरूलाई गुहार्नु परेको छ ।

नगरको माग 

सीसीटीभी जडानका लागि काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले उपत्यका प्रहरी कार्यालयलाई ११ करोड बजेट उपलब्ध गराएका छन् । काठमाडौँ महानगरपालिकाले दिएको ६ करोड रुपैयाँबाट थप १ सय ६० वटा सीसीटीभी जडान गर्न लागिएको छ । ‘काठमाडौँमा ५ वटा चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने प्रहरी योजना छ । भलै यो पर्याप्त होइन, काठमाडौँ उपत्यकाभर २ सय ४२ वटा ‘सीसीटीभी चेक प्वाइन्ट’ राख्नुपर्ने देखिन्छ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रभित्र सीसीटीभी जडानका लागि ५ करोड उलपब्ध गराउने निर्णय गरेको छ, जसबाट १ सय ४५ वटा सीसीटीभी जडान गर्ने प्रक्रिया अगाडि बढेको छ । यस्तै भक्तपुरको सूर्यबिनायक हुँदै कमलबिनायक–खरिपाटी क्षेत्रमा ५० वटा सिसिटीभी जडानको काम भइरहेको छ । 

यसका अतिरिक्त सुरक्षा सचेतता अपनाउदै कार्यालय र घर–घरमा सीसीटीभी जडान गर्ने प्रचलन बढेको छ । यसको तथ्यांक प्रहरीसँग छैन न अनुमति लिएर जडान गरिएको हो । ‘निजी प्रयोजनका लागि राखिएको सीसीटीभी पनि सुरक्षाकर्मीले हेर्ने अवस्था हुन्छ, हेरिरहेका छौँ’ ढकाल भन्छन् ।  

यसरी जुटाइन्छ बजेट 

प्रहरीसँग सीमित बजेट हुने भएकाले सीसीटीभी जडानका लागि प्रदेश र स्थानीय सरकारमार्फत रकम जुटाइन्छ । प्रहरी प्रवक्ता (डिआईजी) भिम ढकालले भने –प्रदेश सरकार र स्थानीय निकायहरूसँग समन्वय गरेर सीसीटीभी जडान गरिरहेका छौँ । प्रहरीसँग हुने सिमित बजेट चाहिँ अत्यावश्यक ठाउँमा सिसिटीभी जडानमा प्रयोग हुन्छ । 

सीसीटीभीको दुरुपयोग भएको गुनासो अहिलेसम्म प्रहरी सुन्नु नपरेको प्रवक्ता ढकाल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप