आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा ३ सय ५५ वटा सीसीटिभी जडान गरिँदै

बुधबार, २० वैशाख २०८०, १२ : ३३
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीबीच वैशाख ७ मा सीसीटिभी जडान गर्ने सम्झौता भयो । सम्झौताअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने भएको छ ।

महानगरले दिने बजेटबाट काठमाडौँमा १६० वटा सीसीटिभी जडान गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले रातोपाटीलाई बताए । प्रहरीले ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी गरिरहेको छ । अपराध गरेर भाग्ने आरोपी जताबाट पनि सीसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटिभी जडान गर्ने महानगरको योजना छ । ‘काठमाडौँमा ५ वटा चेक प्वाइन्ट बनाउने हाम्रो योजना छ’ एसएसपी श्रेष्ठले भने– ‘त्यस्ता चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्दैछौं ।’

काठमाडौँ उपत्यकाभर २ सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान गर्न प्रहरीलाई ५ करोड उलपब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र १ सय ४५ वटा सीसीटिभी जडान गर्न लागिएको एसएसपी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘बुढानीलकण्ठ नगरपालिकाले दिएको रकमबाट १४५ वटा क्यामेरा जडान गर्ने गरी काम अघि बढेको छ ।’   

भक्तपुरको सूर्य विनायक हुँदै कमलबिनायक–खरिपाटी क्षेत्रमा ५० वटा सीसीटीभी जडानको काम अघि बढेको छ । चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडामा १५ वटा सीसीटिभी जडान भैसकेको छ । सीसीटिभी जडान गर्न चाँगुनारायण नगरपालिकाले वडाहरूलाई बजेट दिएको छ । काठमाडौँ र भक्तपुरमा ३ सय ५५ वटा सीसीटिभी जडान गर्न लागिएको एसएसपी श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौँ उपत्यकामा ३ हजार ५२२ वटा सिसिटिभी छन् । उपत्यकाको धेरै ठाउँमा सीसीटिभी जडान गर्नुपर्ने एसएसपी श्रेष्ठले बताए ।

सीसीटिभी नहुँदा अनुसन्धान निकै जटिल हुन्छ । कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सीसीटिभीकै सहयोगमा पक्राउ गरेर सार्वजनिक गरेको छ । अनुसन्धानमा सीसीटिभीको सहयोग महत्त्वपूर्ण हुने गरेको बताउँछन् एसएसपी श्रेष्ठ । उनी भन्छन्– ‘प्रहरी सबै ठाउँमा पुग्दैन, ६० प्रतिशत अपराध सीसीटिभीकै सहयोगमा पत्ता लाग्ने गरेको छ ।’

निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न सुटरलाई पनि सीसीटिभीकै सहयोगमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धान अधिकृतहरूका अनुसार ‘हिट एन्ड रन’का घटना ९९ प्रतिशत सीसीटिभीको सहयोगमा अनुसन्धान हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप