सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ठाकुर पक्षधर नेता भन्छन्, ‘पद छाड्ने सुझावको कुनै तुक छैन’

महाधिवेशनमा नेतृत्वबारे छलफल हुन्छ
आइतबार, १३ फागुन २०८०, १३ : १४
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको सुझावको कुनै तुक नरहेको अध्यक्ष ठाकुर पक्षधरका नेताहरूले बताए । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर पार्टीका महासचिव केशव झाले आजै लोसपाका अध्यक्ष ठाकुरलाई पार्टीको नेतृत्व अरूलाई सुम्पिनेसहितको सुझाव पत्र बुझाएका हुन् ।

लोसपाका अर्का महासचिव डा.सुरेन्द्रकुमार झाले पार्टीको कुनै एउटा नेताले पार्टीका अध्यक्षलाई यसरी एक्लै भेटेर सुझाव दिने भन्दा त्यस्ता सुझावहरू पार्टीको बैठकहरूमा सामूहिक रूपमा दिनुपर्ने बताए । ‘एक्लै गएर अध्यक्षलाई सुझाव दिएर आफ्नो लागि पद माग्ने राम्रो होइन । पार्टीको आफ्नो सिस्टम, पद्धति छ, सो पद्धति अनुसार सुझाव दिनुपर्छ,’ उनले भने, ‘पार्टीका महासचिव वा अरू कुनै नेताले अध्यक्षलाई यसरी घरमै गएर लिखित रूपमा सुझाव दिनु पार्टीको मर्यादा भित्र पर्दैन ।’

‘पार्टीलाई नेताले मात्र होइन, जनताले पनि विभिन्न सुझाव दिएका हुन्छन् । तर पार्टीको नेता आम जनताजस्तो होइन,’ पार्टीभित्रको असन्तुष्टि पार्टीलाई दिनुपर्ने उनले सुझाए ।

पार्टीको नेतृत्व कसैलाई लिनुछ भने महाधिवेशनमार्फत आउनुपर्ने बताउँदै महासचिव झाले २०८१ भित्र पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको बताए । बरु पार्टीको महाधिवेशन छिटो गराउनका लागि नेतृत्वलाई दबाब दिएर महाधिवेशनबाट नै नेतृत्व परिवर्तनका लागि बहस गर्नुपर्ने उनले बताए ।

फागुनको अन्तिम साता मधेस प्रदेशमा लोसपाको केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट पार्टीको महाधिवेशनको बारेमा टुङ्गो लगाइने उनले बताए । लोसपाले पार्टीलाई सांगठनिक रूपमा व्यवस्थित बनाउन विभिन्न कार्यदलहरू गठन गरेको थियो । कार्यदलले आ-आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनहरूको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल गरी पारित गरेर कार्यान्वयनमा ल्याउने महासचिव झाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप