सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

वीरेन्द्रनगरमा गोली प्रहार प्रकरण : हत्या गर्न डेढ लाखको सुपारी

७ दिनदेखि वीरेन्द्रनगरमै थिए भारतीय सुटरसहितको टोली, मुख्य योजनाकारको खोजी
आइतबार, १३ फागुन २०८०, २० : ३५
आइतबार, १३ फागुन २०८०

सुर्खेत । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार अपराह्न पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूत रहेका छन् । राजपूत यस घटनामा सुटरको रूपमा प्रयोग भएका छन् ।

उनले नै तरुण दलका जिल्ला सदस्य समेत रहेका गिरीलाई गोली प्रहार गरेका थिए । यद्यपि गोली गाडीमा लाग्यो । यसमा गोली प्रहार गर्ने भारतीय नागरिक भए पनि योजनाकार भने सुर्खेतकै अन्य व्यक्ति भएको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका चार जनामाथि अनुसन्धान गरेको छ भने अरूको खोजीका लागि प्रहरीहरू ठाउँ–ठाउँमा तैनाथ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, एसपी रुपेश खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा इन्द्रले सहजीकरण गरेको देखिएको छ । इन्द्रले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको प्रहरीले फेला पारेको छ । करिब २०–२५ दिन अघि इन्द्रले ती पुरुषलाई कैलालीको अत्तरियामा भेटेका थिए ।

हत्या योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगन्जमा भेटेका थिए । उनीहरूको भेटमा ती अज्ञात व्यक्तिले ‘हामीसँग सुटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ । म तिमिलाई डेढ लाख दिन्छु’ भनेका थिए । अज्ञात पुरूषले नै उनीहरूलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

योजना बनाउने व्यक्तिले सुटर भनिएका राजपूतलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमति भएको प्रहरी प्रमुख खड्काले बताए । सुटर भनिएका राजपूत फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए । उनलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था पक्राउ परेका राजन गिरीले मिलाएका थिए । फागुन ९ गते इन्द्र र भरत नेपालगन्जबाट सुर्खेत आई सोही होटलमा बसेका थिए ।

भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएको पनि प्रहरीले बतायो । ‘ती अज्ञात व्यक्तिले नै योजनाअनुसार सुटरहरूलाई विनोदको घर–ठेगाना हुलियासहित दिएका थिए,’ प्रहरी प्रमुख खड्काले भने, ‘उनीहरूको योजनाअनुसार शनिबार सुटरको समूहले विनोद गिरीको गाडीलाई पछ्याएको थियो । वीरेन्द्रनगर–१ गैरीचोकमा पुगेपछि भने गोली प्रहार गरेका थिए । गोली प्रहार गरेलगत्तै सुटरको मोटरसाइकल र विनोदको गाडी ठोक्किएका थिए । जसपछि सुटरहरू फरार भए ।’

अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरू विरुद्ध हातहतियार खरखजना र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । एसपी खड्काले भने, ‘मुख्य योजनाकारहरूको खोजी भइरहेको छ, एक–दुई दिनमै पक्राउ गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप