बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभा : आक्रामक प्रतिपक्ष, सत्ता पक्ष प्रतिरक्षात्मक

हाम्रो नेपाली पार्टीलाई संघीयताको चिन्ता
मङ्गलबार, १५ फागुन २०८०, २१ : १३
मङ्गलबार, १५ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशको सत्तापक्ष र विपक्षी दलहरु बिचको विवाद कायमै रहँदा मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष पद आक्रामक रुपमा प्रस्तुत हुँदा सत्ता पक्षका दलहरु प्रतिरक्षात्मक रुपमा देखिएका छन् ।

सरकार र प्रतिपक्षबिच बजेटमाथिको किचलो जारी रहेका बखत प्रदेशसभा सञ्चालन गरिएको हो । चालु आर्थिक वर्षको बजेटको भागबण्डाको विषयमा सरकार र प्रतिपक्ष दलहरु बिच विवाद मिल्न सकेको छैन ।

फागुन १३ गतेदेखि सभामुख भुवन कुमार पाठकले निरन्तर सर्वदलीय बैठक राखेर छलफल गराउँदा समेत सो विषयमा ठोस निकास निस्कन सकेको छैन । सरकार पूर्वसहमति अनुसार बजेट विनियोजन गर्न प्रक्रियागत समस्या रहेको बताउँदै आएको छ भने विपक्षी दल बजेट प्राप्त नभए संसद् चल्न नदिने अडानमा छन् ।

सरकारले बजेट नदिए सदन रोक्ने चेतावनी दिँदै आएको प्रतिपक्षी दलहरुले मंगलबारको बैठक भने सञ्चालन गर्न दिएका छन् । बुधबारको बैठक भने सहमति नभएको खण्डमा चल्न नदिने रणनीति रहेको प्रतिपक्ष दलहरुको भनाइ छ ।

सरकारको बचाउमा सत्तापक्ष, आक्रामक प्रतिपक्ष

मंगलबारको बैठकमा शुभकामना व्यक्त गर्ने कार्यसूची अनुसार दलीय हैसियतबाट विभिन्न दलका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले धारणा राखेका थिए । प्रतिपक्ष दलका तर्फबाट एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोेसाईले सम्बोधन गरेका थिए ।

बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको बचाउ गरेका छन् भने विपक्षी दलका सांसदहरुले सरकारप्रति आक्रोश पोखे । बैठकमा सत्तापक्षका सांसदले सरकारले विकास निर्माणसँगै सुशासन कायम गर्नेतर्फ काम गरिरहेको बताएका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले संसदबाट जनताको अपेक्षा सम्बोधन गर्नुपर्ने बताए । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीसमेत रहेका चित्रकारले प्रदेशबाट जनताले धेरै अपेक्षा गरेको भन्दै प्रदेश सरकार र संसदले यसलाई गम्भीर रुपमा ग्रहण गर्न आवश्यक रहेको बताए । उनले सहमति, सहकार्यले जनतालाई उत्साहित गर्ने र वर्तमान व्यवस्था बलियो बनाउन भूमिका खेल्ने प्रस्ट पारे ।

मन्त्री चित्रकारले सरकार र प्रतिपक्षबिच विगतमा भएका केही सहमतिलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । जनताको समस्या किनारा लगाउन प्रदेश सरकारले गरेका प्रयासमा सबै दलले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले प्रदेश सरकार नयाँ ढंगबाट विकासको गतिमा अग्रसर भएको बताए । प्रदेश सरकारले ५ वर्षे नीति निर्माण गरेर प्रस्ट योजनाका साथ अगाडि बढेकाले विपक्षीहरुले यसमा सघाउनुपर्ने उनको भनाइ छ ।

उनले आवश्यकताका आधारमा विकास बजेट विनियोजन र समानुपातिक विकास प्रणाली निर्माण गर्नुपर्ने बताए । सरकारले त्यसतर्फ अग्रसरता देखाउनु पर्ने र प्रतिपक्षले त्यसमा सघाउन जरुरी रहेको उनको भनाइ छ । संसदमा उभिएर सांसदहरुले बजेट माग गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने पनि उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले प्रदेश सरकारले निरन्तर प्रयास गर्दा समेत संवैधानिक अधिकारहरु प्राप्त गर्न नसकिएको बताए । उनले संघीय सरकारको सामन्ती र संकिर्ण सोचका कारण प्रहरी समायोजन नभएको जिकिर गरे ।

सरकारले जनतालाई अनुभूति दिन निजामती प्रशासन ऐन कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिँदै प्रदेश अनुसन्धान ब्युरो कार्यान्वयनमा ल्यानुपर्नेमा उनले जोड दिए ।

बैठकमा विपक्षी दलहरु भने बजेटका सन्दर्भमा आफूहरुसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आक्रामक ढंगबाट प्रस्तुत भएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पूरक बजेट ल्याउन सरकारसँग माग गरेका थिए ।

राजनीतिक नेतृत्वले कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने भन्दै उनले प्रदेशका नागरिकलाई समान रुपमा हेरेर बजेट विनियोजन गरिनु पर्ने प्रस्ट पारे । उनले कर्मचारीलाई देखाएर सरकारले आफ्ना कमी कमजोरी ढाक्न खोजेको आरोप लगाए ।

कर्मचारीको इशारामा मन्त्री चलेर नहुने भन्दै थपलियाले आफ्ना कमजोरी ढाक्न प्रतिपक्षमाथि आरोप थोपर्न नपाइने प्रस्ट पारे ।

बैठकमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कै कारण नागरिकमा वर्तमान व्यवस्थाप्रति वितृष्णा बढिरहेको बताए । उनले सरकारले संसदलाई उपेक्षा गरिरहेको र संसदमाथि सरकार हाबी भएको भन्दै आक्रोश व्यक्त गरे ।

बैठकमा नेमकिपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले सरकारमा बेकामे र अनैतिक भएर बस्न नहुने बताए । उनले बेकामे र अनैतिक भएर सरकारमा बस्नुभन्दा राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिए ।

प्रदेश सरकारले बारम्बार झुक्याउने खेल खेलिरहेको भन्दै उनले राजनीतिक बेइमानी धेरै दिन नटिक्ने दाबी गरे । उनले देशमा गम्भीर राजनीतिक तथा आर्थिक सङ्कट बढ्दै गएकाले देश कसले चलाउँदै छन् भन्ने प्रश्न खडा भएको बताए ।

प्रदेश सरकार आफूसँग भएको विकास बजेटसमेत खर्च गर्न असक्षम हुँदै गएको उनको भनाइ थियो ।

बैठकमा हाम्रो नेपाली पार्टीले वर्तमान व्यवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले जनतालाई बलियो बनाएर संघीय व्यवस्था बलियो बनाउनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु विभाजित हुने हो भने व्यवस्था नै धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

जसले यो व्यवस्था लडेर ल्याए, उनीहरु नै आज एक अर्काबिच आरोप प्रत्यारोपमा लागेको उनको भनाइ थियो । ठुला दलका यस्तै प्रवृत्तिका कारण युवाहरु देशमा बस्न नचाहने परिस्थिति बनेको उनले बताए ।

जुन उद्देश्यले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो, सोही अनुसार काम गर्न उनले सुझाव दिए ।

भावुक हुँदै नेता बज्राचार्यले संघीय व्यवस्थामा सांसदहरुलाई नै हेप्ने, पेल्ने काम गर्दा त्यसको असर आम नागरिकमा पर्ने बताए । आम नागरिकको समस्यालाई बुझेर सरकार र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप