शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकसम्बन्धी चार संस्थाको साझा आवाज– पहिला थुन अनि सुन गलत भो

बुधबार, १६ फागुन २०८०, २१ : ०१
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेपालका  बैंकसम्बन्धी चार संस्थाले पहिला थुनेर त्यसपछि सुन्नु गलत भएको बताएका छन् । मंगलबार १० बैंकरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै “पहिला सुन अनि थुन” हुनु पर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रिया भएको उल्लेख गरेका हुन् ।

चार संघले प्रहरीको धरपकडप्रति आपत्ति जनाउँदै बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनु पर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्‍याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौँ ।’ 

उनीहरुले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आएको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ,‘नेपाल राष्ट्र बैंकबाट बैङ्किङ कारोबार गर्नका लागि इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्र भित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा सञ्चालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा हामीमा द्विविधा रहेको छैन । यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको अवगत गराउन चाहन्छौँ ।’

बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप