बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेशसभा

बागमती प्रदेश : बजेटको विवाद समाधान गर्न विशेष समिति गठन

बिहीबार, १७ फागुन २०८०, १४ : ५०
बिहीबार, १७ फागुन २०८०

हेटौँडा । बागमती प्रदेशसभाको बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन गरेको छ । बिहीबार बसेको संसद्को बैठकले प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनको नियम १५२ बमोजिम २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको हो ।

सरकार र प्रतिपक्षी दलबीच बजेटसम्बन्धी विवाद कायम छ ।  चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट समानुपातिक नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । विपक्षी दलहरूको विरोध पछि गत असार १८ गते सरकारले बजेट पारित गर्न प्रतिपक्ष दलहरूसँग ३ बुँदे सहमति गरेको थियो । विपक्षी दलका सांसदहरूले दिएका योजना समावेश गर्ने भनिएको उक्त सहमति कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले सरकार माथि दबाब बढाउँदै आएका छन् । 

विपक्षीले सरकारमाथि दबाब बढाउँदा विगत ४ महिना देखि संसद् बैठक बस्न सकेको थिएन । ४ महिना पछि गत फागुन १५ मा आह्वान गरिएको संसद्को बैठक सञ्चालनका लागि पटक पटक सर्वदलीय बैठक बसेको थियो । तर, सो बैठकले ठोस निष्कर्ष भने दिन सकेको थिएन । बिहीबार बसेको सर्वदलीय बैठकले संसदीय समिति गठन गर्ने सहमति गरेसँगै संसद् बैठक सञ्चालनमा आएको छ । 

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालको पेस गरेको उक्त विशेष समिति गठन सम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस संसदीय समितिका सचेतक गोविन्द लम्साल, नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल दर राप्रपाका सांसद राजेन्द्र प्रजापतिले समर्थन गरे । उनीहरूको समर्थन सहित संसदमा पेस गरिएको सो समिति गठन सम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । 

११ सदस्यीय सो समितिको काम कारबाहीका विषयमा निर्धारण गर्न कार्यविधि आफैले तोके बमोजिम हुने व्यवस्था गरिएको छ । समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २–२ जना र हाम्रो नेपाली पार्टीबाट एक जना सांसद सदस्य रहनेछन् । संसदमा प्रतिनिधित्व गर्ने नेमकिपाले भने सो समितिमा सहभागिता जनाएको छैन ।

समितिको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साललाई तोकिएको छ भने समितिको सदस्यमा कांग्रेसका सांसद प्रभात तामाङ, नेकपा एकीकृत समाजवादीका सांसद रमा आले मगर, वसन्त मानन्धर, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक, रत्न प्रसाद ढकाल, सांसद इन्द्रप्रसाद गोतामे र हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।

समितिको सदस्यमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल, सांसद डा. दिनेशचन्द्र देवकोटा रहेका छन् भने प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापा, सांसद गिर बहादुर तामाङ रहेका छन् । सो समितिले अध्ययन तथा परामर्श गरी आगामी फागुन २९ गते दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप