आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा काठमाडौँसहित विभिन्न स्थानमा ११ जनाको मृत्यु

शनिबार, १९ फागुन २०८०, १६ : ३७
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

काठमाडौँ महानगरपालिका-१३ बाफलपुल नजिक सडकमा बा. प्र ०२-०२८ च ८८०३ नम्बरको कारले ग.१७ प ४५५५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भई काठमाडौँ थानकोट डेरा गरी बस्ने  ४९ वर्षीया निर माया तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका-५ देउरालीमा लु.१ ख ६३९० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय दिल बहादुर रखालको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

त्यस्तै सुनसरीको बर्जु गाउँपालिका-६ बागेश्वरी मन्दिरस्थित सडकमा को.१० प ८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार देवानगंज गाउँपालिका-७ हाकपारा बस्ने २२ वर्षीय निरज उरावको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुर गोडडाँडास्थित सडकमा कटारीदेखि थलियातर्फ जाँदै गरेको ना.१ ज ८३३३ नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सो बोलेरोमा सवार सोही नगरपालिका-८ थलिया बस्ने ७० वर्षीय वीर बहादुर तामाङ र ३३ वर्षीया कुमारी भन्ने लालकुमारी तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वीर बहादुरको कटारी अस्पतालमा र लालकुमारीको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १० जनामध्ये ३ जनाको नोबेल अस्पतालमा, ४ जनाको न्यूरो अस्पतालमा, १ जनाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारको लागि अन्य अस्पतालतर्फ लगिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता कास्कीको पोखरा महानगरपालिका-७ बुलौदीस्थित सडकमा बा.प्र.०२-०३४ प ५६२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कैलाली जानकी गाउँपालिका-३ घर भएका २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका-९ बस्ने ३२ शैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।  

त्यस्तै सप्तरीको खडक नगरपालिका-११ बनौलीस्थित सडकमा मधेस प्रदेश ०६-००१ प ०६०५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बोदेबर्साईन नगरपालिका-२ बैरिया बस्ने ३५ वर्षीय राम प्रकाश यादवको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रिन्सी अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ छातापिपरास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-७ पहाडी टोल बस्ने ३२ वर्षीय शेख अफलातुनको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

यस्तै मकवानपुरको मनहरि गाउँपालिका-९ ज्यामिरेस्थित सडकमा हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ च ७३२७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सिताराम अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता मोरङको सुन्दरहरैँचा नगरपालिका-७ ठडियास्थित सडकमा इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४०३४ नम्बरको बसको ठक्करबाट पैदलयात्री भारत लुवाघाट बस्ने ५२ वर्षीया मिरा कुमारी श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप