बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

सेल्फिस हुन सकेको भए अझै प्रगतिले आकाश चुम्थ्यो

शनिबार, १९ फागुन २०८०, २० : २७
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । २०४२ तिरको एक दिन, अहिलेका चर्चित लोकगायक तथा संगीतकार नारायण रायमाझीको भेट कलाकार लोकबहादुर क्षेत्रीसँग भयो । क्षेत्री रेडियो नेपालका कलाकार थिए । रायमाझी रेडियोमा स्वर परीक्षाको उद्देश्यले पहिलोपटक काठमाडौँ छिरेका थिए । दुवैको भेट गराउने काम तत्कालीन सांसद हरिबहादुर थापाले गरे । थापा रायमाझीकै क्षेत्रका सांसद थिए । जसलाई उनले गाउँबाटै रेडियोमा गाउने रहर राखेका थिए । जसको बोलावटपछि उनी नवलपरासीबाट काठमाडौँ छिरेका थिए ।

एक्लै काठमाडौँ आएका उनको सांसद थापाबाहेक कोही चिनजानका आफन्त थिएन् । त्यसैले काठमाडौँ छिर्नेबित्तिकै उनी सोझै रविभवनस्थित थापाको घर पुगे । थापासँग रेडियो नेपालका कलाकार क्षेत्रीको चिनजान रहेछ, थापाले नै उनलाई क्षेत्रीसँग भेट गराएका थिए ।

स्वर परीक्षाको अलावा काठमाडौँ आउनुको उनको अर्काे उद्देश्य स्वरसम्राट नारायणगोपाल भेट्नु पनि थियो । त्यो समय नारायणगोपाल राष्ट्रिय नाचघरमा जीएम थिए । उनले घरमै गएर नाराणगोपाललाई भेटे । करिब १० दिनको काठमाडौं बसाइपछि उनी बिना स्वर परीक्षा गाउँ फर्किए ।

केही समयपछि उनी फेरि काठमाडाँै आए र पटकपटक रेडियो नेपाल धाए । धेरैपटक धाए पनि स्वर परीक्षा भयो । फेल भएपछि उनी गाउँ फर्किए । रेडियोमा गाउने उनको संकल्प थियो । त्यसैले काठमाडौँ आउने, रेडियो धाउने, स्वर परीक्षा दिने र गाउँ फर्किने क्रम केही समय चल्यो । अन्ततः चौथोपटकमा उनी रेडियोको स्वर परीक्षा पास गरे ।

‘काठमाडौँ आउने रेडियोमा गीत गाउने रहर मेरो बाल्यकालदेखिकै थियो । सानैमा रेडियोमा गीत बज्दा सुन्थेँ र गाउँथेँ,’ रायमाझी बालपनमा फर्किए ‘गाई चराउन जाँदा आमाले सुरिलो स्वरमा गीत गाउनुहुन्थ्यो । मैले यति मिठो स्वर छ । रेडियोमा गएर गाए हुन्थ्यो नि आमा भन्थेँ ।’ त्यो समय गाउँमा खेतीपाती गर्ने आमालाई काठमाडौँ ल्याएर गीत रेकर्ड गर्न सम्भव हुन्छ भन्ने कुरो रायमाझीले बुझेकै थिएन् । जब बुझे, तब उनलाई आमाका लागि पनि आफूले रेडियोमा गाउने संकल्प गरे । सानोको त्यो संकल्पले उनलाई काठमाडौंसम्म डोर्याएको थियो ।

स्वर परीक्षा उत्तीर्ण गर्दा पनि रेडियोमा गीत रेकर्ड गर्न अझै संघर्ष गर्नुपर्‍यो । सानैदेखि विभिन्न बाध्य बाजाका ज्ञान भएका उनी पुतली सडकमा कोठा लिएर रेडियोमै भोलन्टिअर काम गर्न थाले । खर्चका लागि उनले घरबाट मगाउँथे, खर्चले नपुग्दा कैयौँ रात भोकै कटाए, कति दिन एक छाक खाएर हिँडे, कहिले साथीभाइ कहाँ गएर छाक टार्थे ।

narayan rayamajhi 2

बिस्तारै काठमाडौँमा गुजाराका लागि उनले दिउँसो स्कुलहरूमा संगीत सिकाउन थाले र साँझमा सोल्टी होटलमा सांस्कृतिक कार्यक्रममा गाउन, बजाउन थाले । जति नै संघर्ष गर्नुपरे पनि उनको रेडियोमा गाउने रहर मेटिएन । अन्ततः २०४३ को दशैँअघि उनले पहिलो गीत ‘रेलिमाई’ रेकर्ड गर्न सफल भए । तर सुन्न पाएका थिएनन् । त्यो समय गीत कस्तो भयो भनेर तत्कालै सुन्न दिइँदैनथ्यो । रेडियोमै बजेको समय सुन्नुपथ्र्याे । उनी त्यहीँको भोलन्टिअर भएकाले रेडियोमा गीत बज्ने समय जानकारी सहित गाउँ पुगँे ।

‘रेडियोमा गीत रेकर्ड भयो भनेर मेरो फूर्ति ठुलै थियो । गाउँका सबै साथीभाइलाई एकै ठाउँमा भेला गरेर रेडियो सुनाएँ,’ उनी त्यो दिन सम्झन्छन्, ‘गीत बज्यो । आफ्नो स्वर आफैँलाई राम्रो लागेन ।’ आफू खत्रा गायक भन्ने घमण्ड थियो । गीत सुनेपछि उनको घमण्ड सबै उत्रियो।

त्यसपछि उनले पटकपटक स्वर परीक्षा दिँदा किन फेल भएको रहेछु भन्ने थाहा पाए । गाउँबाट आफ्नै क्लबको हार्मोनियम लिएर फेरि काठमाडौँ छिरे । त्यसपछि इन्दिरा कलानिधि महाविद्यालयका गुरु कृष्णनारायणसँग संगीत सिक्न थाले ।

संगीत सिक्दै र साधना गर्दै जाँदा भोकलमा आइडिया भयो । त्यही क्रममा रेडियोमा बाध्यवादन संयोजक र एरेन्जर भए । ‘त्यो समय पटक–पटक असफल नभएको भए अहिले म यो अवस्थामा हुने थिइनँ,’ रायमाझी भन्छन्, ‘असफलताले मलाई झन् बलियो बनाउने काम गर्‍यो ।’

  • गायनमा स्कुल टप

दुःख नगरी सुख मिल्दैन, त्यसको एउटा उदाहरण हुन्, नारायण रायमाझी । लोकगीत संगीतको क्षेत्रमा उनको जति चम्किलो नाम छ, त्योभन्दा बढी यो नाम कमाउन उनले संघर्ष गरेका छन् ।

त्यही संघर्षले त उनलाई अहिले सबैको हाइहाई र लोभलाग्दो जीवनशैली दिएको छ । नम्र र सरल व्यक्तित्वका धनी उनी सबैका प्रिय गायक भएका छन् । कमैलाई थाहा होला, यो अवस्थामा आउन उनले थुप्रै सगरमाथारूपी संघर्षका पहाड पार गरेका छन् । त्यतिबेलाको दुःख र संघर्षको कुरा गर्दा अहिले पनि उनका आँखा रसाउँछ ।

पाल्पाको माथागढीमा जन्मिएका उनले जीवनको केही समय तानसेनमा पनि बिताए । सानैदेखि सांगीतिक महोलमा हुर्किएका उनले गाउँ नजिकको मगरबस्तीका कलासंस्कृति र नाचगान नियाल्न पाउँथे । घरकै माहोल पनि सांगीतिक थियो । उनका हजुरबुबा, बुबा पनि गीत गाउँथे । त्यसले उनलाई संगीततिर रुचि बढेको हो । पढाइ बिग्रन्छ भनेर घरपरिवारले उनलाई यसमा लाग्न दिएका थिएनन् । कतै मादल बजेको सुन्यो कि उनलाई त्यसले खिच्थ्यो । 

सानैदेखि उनी स्कुलका विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिन्थे । ५ कक्षा पढ्दा उनले आफ्नै बुबाले सिकाएको लोकगीत गाएर स्कुल टप गरे । 

‘स्कुलमा टप भएपछि म गायक रहेछु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘सबैले गायनमा लाग्न सुझाउँदा मैले गाउँका पूजादेखि दशैँ, तिहार, तीजलगायत कुनै कार्यक्रम छाडिनँ ।’ घरमा रोकतोक भए पनि भागेर र ढाँटेर पुग्थे ।

गीत–संगीतमा स्थानीय क्षेत्रमा चिनिएपछि उनले आफ्नो नेतृत्वमा गाउँमै ‘शारदा युवा क्लब’ बनाए । साथीभाइ भेला गरेर नजिकका गाउँमा समेत सांगीतिक कार्यक्रम, देउसी, भैलो खेल्दै आवश्यक बाजादेखि साउन्ड सिस्टमसम्म जोडे । त्यो समय क्लबमा सांगीतिक कार्यक्रमदेखि ड्रामासम्म गर्ने गरेको उनले बताए ।

  • फेरि अर्काे क्लब

२०३७ मा किसान माविबाट एसएलसी सकाएपछि उनी नवलपरासी झर्नुपर्ने भयो । अहिलेको होङ्सी सिमेन्टनजिक उनको पुख्र्यौली जग्गा थियो । त्यो ठाउँमा गाउँका भन्दा व्यवस्थित बस्ती थिए । कृषकका छोरा उनले गोरु जोत्नेदेखि खेतीपाती गर्नुपथ्र्याे ।

त्यहाँका उनको उमेरमा व्यक्ति उनीभन्दा स्ट्यान्डर्ड थिए । उनीहरूको दैनिकी घुम्ने, खेल्ने थियो । उनी तिनीहरूसँग नारिन सक्दैनथेँ । बाटोमै घर थियो । घरको पिँडीमा बसेर उनले सारङ्गी बजाउँथे । बाटो हिँड्ने बटुवाले पाल्पाबाट झरेका गन्धर्वहरूको घर हो भन्दै हिँड्थे, कोही बाटोमै उभिएर गीत चाख दिएर सुन्थँे । आफ्नो गीत–संगीत सुनेको देख्दा उनलाई आनन्द लाग्थ्यो । बिस्तारै संगीतको तरङ्गले सबैलाई उनको नजिक ल्यायो ।

‘पाल्पाको क्लब र साथीहरू मिस गरिरहेको थिएँ । त्यहाँका साथीहरूसँग मिलेर अर्काे ‘बेनी युवा क्लब’ र वाचनालय स्थापना गरेँ,’ रायमाझी भन्छन्, ‘त्यो क्लबाट राम्रोसँग क्रियाकलाप गर्न नपाउँदै रेडियोमा स्वर परीक्षा दिन उनी काठमाडौँ छिरे ।

  • मिलेन सन्तुष्टि

काठमाडौँ संघर्षका दिनहरूमा उनी बिहानै आरआर क्याम्पस जान्थे, दिनमा रेडियो धाउँथे, ४ बजे भोकल क्लास लिन कृष्णनारायण गुरुको घर पाटन सुन्धारा पुग्थे । बेलुकी ६ बजे कल्चर प्रोग्राम सोल्टी होटलमा थियो नै, बिचमा पनि अन्य धेरै कामहरू भ्याउँथे ।

भोकलमा बी म्युजिक छैटांैँ वर्ष पनि पूरा गरे र रेडियोमा स्वर परीक्षा पास भएपछि लोकगीत संगीतमै अगाडि बढे ।

पहिलो गीत आफ्नै दाइको शब्दमा ‘मलाई सम्झी नरोऊ है आमा, तिम्रो छोरो जिउँदै छ रनमा’ गाए । त्यतिबेलाको श्रीलंकामा इन्डियाको फौजका तर्फबाट शान्तिसेनाको रुपमा नेपाली सिपाहीहरू गएका थिए, गीतमा त्यही विषय थियो ।

२०४३ मा रेडियोमा रेकर्ड भएको यो गीत रेडियोको सर्वाधिक फर्मायसमा पर्‍यो । गीतले चौतर्फी तारिफ पाउँदा पनि उनलाई भने सन्टुष्ट मिलेन । उनलाई अझै परिपक्व गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । ‘गीत हिट भयो, नाम सबैले चिन्न थालेपछि मैले पनि पचाएँ,’ उनले थपे ।

narayan rayamajhi

त्यसपछि फेरि दाइकै शब्दमा अर्काे ‘पसिनाले पैसा साटेर ल्याएँ’ बोलको गीत झन् धेरै चल्यो । त्यसपछि उनका लगातार हिट गीत आए ‘कार्गिलको युद्ध’, ‘छोरीको जुनी’, ‘लाइछौ बेसन’, ‘नमुछे आमा दहीमा टीका’ लगायत थुप्रै । त्यसपछि उनले पछि फर्केर हेर्नुपरेन ।

‘दर्शकले रुचाएका मेरा थुप्रै गीत छन् तर म आफैँलाई मनपर्ने १२–१३ दर्जन होला,’ उनी भन्छन्, ‘कसैले कति गीत गाउनुभयो भनेर सोध्दा म त्यही संख्या दोहोर्‍याउँछु । गीत–संगीत चल्यो, पब्लिकले पनि रुचाए । 

लोकगीतमा मात्र होइन, आधुनिक गीतमा पनि उनको योगदान उत्तिकै छ । आधुनिक गीतमा संगीत दिन भने उनले २०४६ सालबाट थालेका थिए । राम गुरुङको स्वर, हेमराज पाण्डेको शब्द र उनको संगीतमा ‘कसले पोत्यो निधारमा रगतको टीका’ बोलको गीत त्यही साल रेकर्ड भयो । पहिलो गीतले नै उनलाई आधुनिक संगीतमा स्थापित र व्यस्त बनायो । उनी भन्छन्, ‘एक–एक गरेर मैले थुप्रै हिट आधुनिक गीतमा संगीत गरेँ ।’ आधुनिक गीतमा भने उनले अहिलेसम्म स्वर दिएका छैनन् । लोकगीतमा जस्तो आधुनिक गीत गाउने आँट उनीमा कहिल्यै आएन ।

आधुनिक संगीतमा ‘प्रिय’ र ‘प्रीति’ दुईवटा एल्बम निकाले । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द र उनको संगीत रहेको ‘उनको प्रीति पहिले हो कि’ बोलको गीत लोकप्रिय छ । लोक, आधुनिक हुँदै उनले पछिल्लो समय चलचित्रमा पनि संगीत दिएका छन् । सबैतिर सफलता मिल्दा पनि खुसी छैनन् उनी । ‘एउटा लेभलमा गीत बनायो । बाहिर आएपछि चित्तै बुझ्दैन,’ उनी भन्छन्, ‘संगीतमा लागेर जीवन यहाँसम्म आयो । तर सन्तुष्टि कहिल्यै मिलेन ।’ 

स्वार्थी हुन सकिनँ

उनी गीतसंगीतमा केही पाउँछु भनेर होमिएका थिएनन् । ठुलो सपना पनि थिएन । त्यसैले यसबाट पाएको उपलब्धि उनलाई संसार पाएको महसुस भएको छ । संगीतबाटै उनले कमाएका छन्— काठमाडौंमा घर, गाडी, आफ्नै रेकडिङ स्टुडियोदेखि फिल्म प्रोडक्सन हाउससम्म । आफूलाई संसारकै भाग्यामानी ठान्छन् उनी ।

420611155_392862293467455_8086392538816519643_n

२०४७ मा कार्यक्रमको सिलसिलामा उनले जापान जाने अवसर पाए । तीन महिना जापान बस्दा राम्रो पैसा मिल्यो । त्यो पैसाले काठमार्डांैमा घर–घडेरी किनेको भए राम्रो हुन्थ्यो । तर उनले रिमा रेकडिङ स्टुडियो सुरु गरे ।

‘मेरो जहिले पनि इच्छा आफ्ना सबै सिर्जना रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने थियो । रेडियोमा एउटा गीत रेकर्ड गर्न वर्षाैं कुर्नुपथ्र्याे,’ उनी भन्छन्, ‘म हप्तामै दुई–चारवटा गीत तयार गर्थें । रेकर्ड गर्न पाउँदैनिथेँ । त्यसैले आफ्नै स्टुडियो खोलेँ । रेकर्डिङ स्टुडियो सुरु गरेपछि साथीभाइ र अन्यको काममा अल्झिएँ । त्यो समय अरुको इच्छा पुरा गर्नतिर नलागेर सेल्फिस हुन सकेको भए मेरो अझै प्रगति बुलन्द हुन्थ्यो ।’ 

केही अगाडि उनले राजधानीमा ऐतिहासिक एकल साँझ समेत गरे । अब एउटा विशेष गीति नाटक बनाउने सपना छ उनको । उनका पाइपलाइनमा भएका धेरै काममध्ये भिडियोग्राफीमा एउटा आफ्नै बायोग्राफी पनि हो । उनका धेरै तयार गीतहरू रेर्कडिङ हुन बाँकी छन् ।

  • फिल्म निर्देशक 

गीतसंगीतका अग्रज र सम्मानित स्रष्टा रायमाझी परिचय फिल्मले झनै फराकिलो बनाएको छ । उनी नेपाली फिल्मका सफल निर्माता निर्देशक पनि हुन् । ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ गरेर उनले अहिलेसम्म तीन सफल फिल्म दिएका छन् । ‘परदेशी २’ गत दशँैमा प्रदर्शनमा आएको थियो । उनी अहिले नयाँ फिल्मको तयारी छन् । 

सानैदेखि उनलाई फिल्म निर्देशन गर्ने इच्छा थियो । जुन समय गाउँमा उनी क्लबमा नाटक बनाउँथे । त्यो समय फिल्म निर्देशक बन्न सकियो भने आफ्नो कथा राम्रोसँग भन्न सकिने उनको बुझाइ थियो । उक्त समय उमेर, बजेट, फिल्मको बुझाइ नभएका कारण गीतसंगीतलाई नै अगाडि बढाएका थिए ।

‘सानैदेखि एक दिन फिल्म निर्देशन गर्छु भन्ने थियो,’ रायमाझीले भने, ‘गीतहरूमा पनि कथा पोख्ने कोसिस गर्दै आए ।’ गीतबाट कथामा खेल्न थालेका उनले ‘गोर्खा पल्टन’बाट फिल्म निर्देशन गर्न थाले । ‘गोर्खा पल्टन’ करिब १८ वर्षअगाडि निर्माण भएको थियो । उनको गीतमा जस्तै यो फिल्ममा पनि लाहुरेको कथा छ । किन लाहुरेको कथामा फिल्म ? सानैदेखि लाहुरेको जीवनशैली नियाल्दै आएकाले यसकै कथामा फिलम बनाउँदै आएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप