मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्रै उपेन्द्र यादव घेराबन्दीमा

बुधबार, २३ फागुन २०८०, १४ : १०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीभित्रै घेराबन्दीमा परेका छन् ।

मधेसको मुद्दा, मधेस सरकारको बारेमा कुनै छिनोफानो नै नगरी नयाँ गठबन्धनमा सामेल भएर आठ बुँदे सहमति गरेको भनी पार्टीभित्रै अध्यक्ष यादवको विरोध भएको हो । कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवमाथि नेताहरुले प्रश्न उठाएका छन् ।

‘नयाँ गठबन्धनमा जाने निर्णय भएको थियो, तर आफ्नो माग र धारणा नै समावेश नगरी गठबन्धन बनाउन भनिएको थिएन,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘गठबन्धनसँग पार्टीका अध्यक्ष उपेन्द्र यादवले उधारो सम्झौता गरेका कारण पार्टीमा असन्तुष्टि बढेको छ । यसपटक अध्यक्षज्यूलाई निर्णय गर्न त्यति सजिलो छैन ।’

२०७९ मा चुनाव सम्पन्न भएपछि पार्टीको सम्पर्कमा समेत नरहेका कार्यकारिणी सदस्य इस्तियाक राइ पनि बैठकमा आउन थालेका छन् । उनी पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति असन्तुष्ट थिए । उनी अहिले पार्टीमा एकाएक सक्रिय भएका छन् । अर्का कार्यकारिणी सदस्य रेणु यादवले पार्टी लगभग छाडिसकेकी थिइन् । उनी पनि अहिले पार्टीमा सक्रिय भएकी छन् ।

उपेन्द्र यादवको विरुद्धमा अहिले कार्यकारिणी सदस्य इस्तियाक राइ, रेणु यादवलगायतले मोर्चाबन्दी गरिरहेका छन् । उपेन्द्र यादवसँग असन्तुष्ट पक्षसँग उनीहरुले निरन्तर छलफल गरिरहेका छन् ।

जसपामा अध्यक्ष यादवले मनपरी गरेको भन्दै सुरुदेखि उनीहरुले विरोध गर्दै आएका थिए । अहिलेको गठबन्धनबाट ‘ब्याक’ हुन बाध्य पार्ने गरी असन्तुष्ट पक्षले सक्रियता बढाएको स्रोतले जनाएको छ ।

मन्त्री बन्न पाउने आशमा केही नेता उपेन्द्र यादवको बचाउमा लागेका छन् भने मन्त्री बन्न नपाइनेहरु उनको विरोधमा लागेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं सरकारमा जाने चर्चा चलेकोमा समेत बैठकमा छलफल भएको थियो । असन्तुष्ट नेताहरुले सरकारमा अध्यक्ष नै सहभागी हुने विषयको विरोध गरेका छन् ।

त्यसपछि आफैँ सरकारमा जाने योजनाबाट यादव पछाडि हटेको बताइएको छ । असन्तुष्ट पक्षले यो सरकारमा सामेल हुन नहुनेगरी लबिङ गरिरहेको स्रोत बताउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप