मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई फेरि स्वास्थ्य मन्त्रालयको जिम्मा

बिहीबार, २४ फागुन २०८०, १५ : ४३
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।

जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।

यसअघि माओवादी–एमाले एकीकृत भएर बनेको तत्कालीन नेकपाको सरकार हुँदा २०७५ जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । करिब डेढ वर्षपछि उनलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्री बनाइएको थियो ।

२०७६ कात्तिकमा उनी स्वास्थ्य मन्त्रालयको कार्यक्रममा भारत गएका थिए । त्यही बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्दै नसोधी उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सारेका थिए । त्यतिबेला जसपाबाटै स्वास्थ्य राज्यमन्त्री भएका डा.सुरेन्द्र यादवलाई ओलीले बर्खास्त गरेका थिए । त्यतिबेला डा.सुरेन्द्र यादव उपचाररत थिए ।

कानुन मन्त्रालयमा सरुवा गरे पनि धेरै समयसम्म उपेन्द्र यादवले कार्यभार सम्हालेका थिएनन् । २०७६ मंसिर ९ गते उनी कानुन मन्त्रालयमा पदबहालीका लागि पुगेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘स्वास्थ्यभन्दा कानुनमा संघीयता र संविधानका लागि राम्रो काम गर्न सक्ने बुझेर नै प्रधानमन्त्रीले मलाई कानुन मन्त्रालय दिनु भएको हो ।’

तर ठिक एक महिनापछि अर्थात् पुस ९ गते यादवले कानुन मन्त्रीबाट राजीनामा दिँदै सरकारबाट समर्थन समेत फिर्ता लिएका थिए ।

२०७६ पुस ७ गते बसेको मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न लगेको प्रस्ताव तत्कालीन प्रधानमन्त्री ओलीले अस्वीकार गरेका कारण आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले त्यतिबेला बताएका थिए ।

त्यसपछि पनि जसपा नेपाल पटकपटक सरकारमा गएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेका सरकारहरुमा एक जनाभन्दा बढी उपप्रधानमन्त्री नराख्ने भएपछि यादव ती सरकारमा सामेल भएका थिएनन् । यस पटक उपप्रधानमन्त्री दिने भएपछि उनी आफैँ सरकारमा सामेल हुने भएका छन् । 

पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवको नाममा सर्वसम्मत निर्णय भएको थियो । उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएपछि अध्यक्ष यादव नै सरकारमा जानुपर्छ भन्ने पक्षमा मत बनेको थियो ।

जसपाबाट अरु कसैको नेतृत्वमा सरकारमा पठाउँदा उपप्रधानमन्त्री पद नपाइने तर अध्यक्ष यादव आफैँ सहभागी हुँदा उपप्रधानमन्त्री पदसमेत पाइने हुनाले उनलाई नै सरकारमा पठाउने निर्णय बैठकले गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष यादवले आफू सरकारमा नजाने, पार्टी सञ्चालनमै केन्द्रित हुने भनेका थिए । ‘अध्यक्ष नगएपछि उपप्रधानमन्त्री नपाउने भएपछि पार्टीका अन्य नेताहरुले उपेन्द्र यादव नै जानुपर्छ भनेर जोड दिएका थिए,’ ती नेताले भने ।

यद्यपि, पार्टीले सरकारमा जानेबारे निर्णय गरे पनि त्यसको माइन्युट गरिसकेको छैन । जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सर्वसम्मत निर्णय भएको हो, अरु एक जना मन्त्री र एक जना राज्यमन्त्रीको बारेमा कुरा टुङ्ग्याउने अधिकार पार्टीको बैठकले उहाँलाई नै दिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप