मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पे बिना खेल्ने अभ्यास गर्दै पीएसजी, रेम्ससँग बराबरीमा रोकियो

सोमबार, २८ फागुन २०८०, ०९ : ५४
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । फ्रेन्च लिग फुटबलको आइतबार राति खेलिएको खेलमा ‘लिग लिडर’ पेरिस सेन्ट जर्मन (पीएसजी) तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी रेम्ससँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

खेलको प्रारम्भमा पीएसजीका प्रभावशाली खेलाडी किलियान एमबाप्पे भने सुरुवातमा मैदानमा ओर्लिएका थिएनन् । उक्त खेल पीएसजीको घरेलु मैदानमा खेलिएको थियो । खेलमा सुरुआती अग्रता पनि रेम्सले लिएको थियो । खेल सुरु भएको सातौँ मिनेटमा मार्सल मुनेत्सीले रेम्सका लागि गोल गरेका थिए ।

निर्धारित समयको १७औँ मिनेटमा रेम्सका युनिस अब्देलहमिदबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसको दुई मिनेटपछि नै पीएसजीका लागि गोनकालो रामोसले अर्को गोल थपेका थिए ।

खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा पहिलो हाफ सकिनुभन्दा ठिकअघि रेम्सका लागि ओमर डिकिटले दोस्रो गोल थपेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । सबै टोलीले २५–२५ खेल खेलिसक्दा ५६ अङ्कसहित पीएसजी तालिकाको पहिलो स्थानमा छ ।

तालिकाको दोस्रो स्थानमा आसीन ब्रेष्टले ४६ अङ्क बटुलेको छ । रेम्स भने ३५ अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ । पीएसजीका प्रशिक्षक लुइस एनरिकले सुरुमा प्रभावशाली खेलाडी एमबाप्पेलाई मैदानमा ओरालेका थिएनन् ।

तर, निर्धारित समयको ७३औँ मिनेटमा उनलाई प्रशिक्षकले मैदानमा प्रवेश गराएका थिए । तर, एमबाप्पेले खेलमा कुनै चमत्कार गर्न सकेनन् । एमबाप्पे स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडमा आबद्ध हुने निश्चित भइसकेको छ ।

यसअघि प्रशिक्षक एनरिकले आफूहरूले आगामी दिनमा एमबाप्पे बिना नै खेल्ने बानी बसाउनु पर्ने सुझाव दिएका थिए । ‘अब उनी हामीसँग रहने छैनन् । त्यसैले हामीले एमबाप्पे बिना नै मैदानमा सँघर्ष गर्ने बानी बसाउनु पर्छ,’ केही समयअघि उनले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप