बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारको नेतृत्वमा एमाले र एकीकृत समाजवादीको दाबी

नयाँ गठबन्धनलाई बहुमत जुटाउन कठिन, मुख्यमन्त्री जम्कट्टेललाई पिरलो
मङ्गलबार, २९ फागुन २०८०, ११ : १४
मङ्गलबार, २९ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशमा सरकार निर्माण तथा निरन्तरताका लागि सत्ता गठबन्धनलाई सहज देखिएको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू मिल्दासमेत बहुमत पुग्ने अवस्था नभएपछि साना दल खोजेर सत्ता समीकरण मिलाउनुपर्ने बाध्यता छ ।

बागमतीमा सरकार गठनका लागि सत्ता गठबन्धनलाई अंकगणितीय रूपमा प्रस्ट बहुमत देखिएको छैन । सत्ता गठबन्धन दलको बहुमत नपुग्ने अवस्था बनेसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल पिरलोमा परेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितको दलको समर्थनमा सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका मुख्यमन्त्री जम्कट्टेल सरकारको निरन्तरताको विषयलाई लिएर समस्यामा परेका छन् ।

केन्द्रीय तहमा गठबन्धन परिवर्तन भएसँगै कांग्रेसले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाइसकेको छ । बागमती प्रदेश सरकारको नेतृत्व टिकाउन मुख्यमन्त्री जम्कट्टेल दौडधुपमा छन् ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा नपर्न पनि सक्ने सम्भावना उच्च छ । केही दिन अघिसम्म प्रदेश सरकार टिकाउन काठमाडौँ धाइरहेका मुख्यमन्त्री जम्कट्टेल आइतबार दिउँसो हेटौँडा झरेका छन् । सरकारको नेतृत्वको विषय सकारात्मक नभइरहेको अवस्थामा उनी निरन्तर प्रयत्नमा छन् ।

  • सत्ता हत्याउने दाउमा एमाले र समाजवादी

बागमती प्रदेश सरकारको नेतृत्व हत्याउने दाउमा सत्ता गठबन्धनका २ दल सक्रिय बनिरहेका छन् । सत्ता गठबन्धनका एमाले र एकीकृत समाजवादी पार्टीले पनि सरकारको नेतृत्व दाबी गर्दै केन्द्रमा लबिङ गरिरहेका छन् ।

माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारको निरन्तरता खोजिरहेका बखत एमाले र एकीकृत समाजवादी भने सरकारको नेतृत्व फेरेर अघि बढ्ने तयारीमा छन् ।

यता प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने सर्तसहित एकीकृत समाजवादी पनि केन्द्रमा लबिङ गरिरहेको छ । सो दलका नेताहरू काठमाडौँमै रहेर भागबण्डा टुङ्ग्याउन र नतिजा आफ्नो पक्षमा पार्न दबाब दिइरहेका छन् ।

अन्य प्रदेशमा न्यून उपस्थितिका कारण एकीकृत समाजवादीले बागमती प्रदेश सरकारको नेतृत्वमा बलियो दाबी कसेको हो ।

नेकपा एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालका अनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनसक्ने सम्भावना उच्च छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना बलियो रहेको उनले बताए ।

केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारको नेतृत्व टुङ्गिने उनले बताए । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा एकीकृत समाजवादीको अवस्था राम्रो र निर्णायक भएकाले सरकारको नेतृत्व पाउने उनको भनाइ छ ।

यता एमाले पनि सरकारको नेतृत्वको सशक्त दाबेदार रहेको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले बताए । केन्द्रमा बनेको समीकरण अनुसार प्रदेश सरकार गठन हुने भएकाले एमालेले सरकार बनाउने गरी छलफल अघि बढाएको उनले बताए । एमालेले सरकारको भागबण्डा र नेतृत्वको विषयमा पार्टी र गठबन्धनमा आफ्ना माग सशक्त रूपमा अघि बढाएको उनको भनाइ छ ।

सत्ता गठबन्धन दलहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्बाट विश्वासको मत लिएपछि मात्र प्रदेश सरकारको नेतृत्वको भागबण्डाबारे छलफल गर्ने योजनामा छन् ।

बागमती प्रदेश सरकार गठन वा निरन्तरताका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ । साना दलहरू मिलाएर सरकार गठनको तयारीमा सत्ता गठबन्धन जुटिरहेको छ । ११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको ५५ सांसद छन् । जसमा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीको ७ जना छन् । सरकार गठनका लागि २ सांसद रहेको हाम्रो नेपाली पार्टीलाई भित्र्याउन गठबन्धन दलहरू प्रयत्नरत छन् । प्रदेशसभामा कांग्रेसको ३७, राप्रपाको १३, नेमकिपाको ३ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप