बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
विचार

कसरी आउला वाम आन्दोलनमा पुनर्जागरण ?

मङ्गलबार, २९ फागुन २०८०, ११ : ३६
मङ्गलबार, २९ फागुन २०८०

नेपालमा सामान्यतः कम्युनिस्ट र वाम आन्दोलनलाई समानार्थी ढङ्गबाट बुझ्ने गरिन्छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए (वि.सं. २००६)देखि आजसम्म अग्रगमनको मार्गमा वाम आन्दोलनले थुप्रै उतारचढाव र आरोह–अवरोह झेलेको छ । नेपालका वामपन्थीसँग सशस्त्र सङ्घर्ष र शान्तिपूर्ण सङ्घर्षका आ–आफ्नै अनुभव छन् । युद्धको नेतृत्व गरेका र शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेका पुराना तथा पाका नेताको पंक्तिदेखि भर्खरका भर्भराउँदा युवाको जमात पनि वाम आन्दोलनकै एउटा लयमा देखिन्छ । पटक–पटकको सफल तथा असफल सङ्घर्षका शृङ्खलाको योगले केही महत्त्वपूर्ण उपलब्धि हासिल भएकै छन् । एकात्मक निरङ्कुश राजतन्त्रको अन्त्य र समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई सबैभन्दा महŒवपूर्ण उपलब्धि मान्न सकिन्छ । 

महŒवपूर्ण सुधार र उपलब्धिका बाबजुद पनि वाम आन्दोलन समस्यारहित छैन । एकीकृत आन्दोलन निर्माण गर्न नसक्नु नै वाम आन्दोलनको कमजोरी हो । यसका साथै वैचारिक, साङ्गठनिक, राजनीतिकलगायत अन्य कारण पनि हुन सक्छन् । वाम पार्टीहरूबिच यति ठुलो विभाजन र मतभिन्नता देखिँदा पनि वाम जनमत धेरै धर्मराएको देखिँदैन, बरु नयाँ नयाँ विकल्पको पर्खाइमा देखिन्छ । कुनै पनि विचारधारामा आधारित प्रणाली वा राजनीतिमा सधैँ एउटै प्रकारको जनमतको अवस्था रहिरहन्छ भन्ने हुँदैन । 

सात दशक पार गरिसकेको वाम आन्दोलनमाथि विभिन्न कोणबाट प्रश्न उठाइने गरिएको छ । विगतका आन्दोलनको समीक्षा र नयाँ पहलकदमीका बारेमा सापेक्षित बहस निरन्तर चलिरहेकै छन्, तर त्यसले मूर्त आकार वा परिणाम दिन सकेको देखिँदैन । 

१८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म संयुक्त अधिराज्य बेलायतमा चलेको औद्योगिक क्रान्ति (१७६०—१८४०) र १८औँ शताब्दीको ८० को दशकमा भएको फ्रान्सेली राज्य क्रान्ति (१७८९) को जगमा कम्युनिस्ट घोषणापत्र आएको थियो । सन् १८४८ मा माक्र्स र एंगेल्सले लेखेको यस घोषणापत्रले समाजवादी आन्दोलनलाई विश्वव्यापी रूपमा मार्ग निर्देशन गर्‍यो । औद्योगिक क्रान्तिका समयमा युरोपका मजदुरले भोगेका दर्दनाक पीडा र फ्रान्सेली क्रान्तिका समयमा लागेका समानता, स्वतन्त्रता र भ्रातृत्वको नाराबाट प्रभावित माक्र्सको विचार नै कालान्तरमा माक्र्सवाद बन्न पुग्यो । 

हरेक पुस्ताको आफ्नो एजेन्डा हुन्छ; सामन्तवादविरुद्ध वा पुँजीवादविरुद्ध कामयाबी भएको नेतृत्व र त्यसको चातुर्यता समाजवादमा कामयाबी नहुन सक्छ । आजसम्मको इतिहास हेर्दा उत्तराधिकारीको निर्माण कि नेतृत्वको सहयोगी बनेर कि त नेतृत्वसँग आलोचनात्मक प्रतिस्पर्धा गरेरै भएको देखिन्छ ।

सर्वहारा वर्गले गर्ने संघर्षको विधि, उभिने दार्शनिक आधार र निर्माण गर्ने राजनीतिक सत्ताको कुल योग नै माक्र्सवाद हो । निजी स्वामित्व र पँुजीवादविरुद्धको सङ्घर्षको दर्शन हो माक्र्सवाद; विश्वभरिका कम्युनिस्टहरूको राजनीतिक आन्दोलनको सैद्धान्तिक आधार हो माक्र्सवाद । प्रश्न उठ्छ, के १७६ वर्षअघि प्रकाशित कम्युनिस्ट घोषणापत्रको त्यही शास्त्रीय वैचारिकीले मात्र वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न सक्ला ? पक्कै सक्दैन । माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण पनि हो र यो गतिशील हुनुपर्छ । उसो भए नेपालमा सोभियत संघ, चीन, क्युबालगायत मुलुकले लागु गरेको जस्तै सङ्घर्षको विधि र राजनीतिक कार्यक्रम सम्भव होला ? यो प्रश्न विचारणीय छ । आज नेपाललाई के चाहिएको हो, ती चाहिएका कुरा २००६ सालवरिपरि चक्कर मारेर मात्र प्राप्त गर्न सकिन्छ कि सकिँदैन ?  यही सवालमाथि आज बहस हुन आवश्यक छ ।

तसर्थ इतिहासतिर बढी फर्केको वाम आन्दोलनलाई वर्तमानमा उभ्याएर भविष्य उन्मुख बनाउन नेपाली माटोमा विकसित नयाँ वैचारिकीले मात्र सक्छ । यसका लागि कम्युनिस्टहरूको संयुक्त राष्ट्रिय सम्मेलन आवश्यक देखिन्छ, जसले एउटा खुला र महान् बहससहित साझा नयाँ निष्कर्ष दिन सकोस् । 

  • राजनीतिक सत्ता र वर्ग सङ्घर्ष

विश्वका कम्युनिस्टसँग वर्ग संघर्षको दुईवटा सफल मोडल छन्— सशस्त्र सङ्घर्षको रसियन मोडल र दीर्घकालीन जनयुद्धको चिनियाँ मोडल । अरु देशमा भएका मोडल यसकै वरिपरि केन्द्रित छन् । नेपालका कम्युनिस्टसँग यी दुवै मोडलका आंशिक सफलतासहितका अनुभव छन् । झापा विद्रोह एउटा ऐतिहासिक घटनाका रूपमा मात्र दर्ज हुन पुग्यो । माओवादीको दीर्घकालीन जनयुद्ध पूर्ण रूपमा सफल हुन नसकेन । २०४६ को जनआन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्तिको सहकार्यको आन्दोलन तथा आंशिक सफलतासहितको आन्दोलन बन्न पुग्यो । माओवादी र संसदीय राजनीतिक शक्तिबिच भएको बाह्रबुँदे राजनीतिक सहमतिको जगमा २०६२÷६३ को संयुक्त जनआन्दोलन भयो, जसले २४० वर्षसम्मको राजतन्त्रको अन्त्य गर्‍यो । 

कम्युनिस्टसँग यस्तो प्रकारको एकल र संयुक्त, शान्तिपूर्ण र सशस्त्र संघर्षको शृङ्खलाको अनुभव भए पनि वर्ग सङ्घर्षलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा नेपाली वाममन्थीबिच चर्काे मतभेद देखिँदै आएको छ, यसले आन्दोलनलाई विभाजित र कमजोर बनाइराखेको छ । हतियारप्रतिको निरपेक्ष मोह र चुनावप्रतिको पनि निरपेक्ष मोह नेपाली वाम आन्दोलनभित्रको अतिवाद हो । यही अतिवादले यति ठुलो र बलियो वाम जनमतलाई विखण्डित गरिदिएको छ । शान्तिपूर्ण प्रतिस्पर्धाका नाममा चुनावदेखि चुनावसम्मको चक्र र सशस्त्र वर्ग सङ्घर्षको नाममा जनभावना र वस्तुस्थितिको आकलन नगरी जीवनभरि बन्दुकको सिरानी राख्ने तरिका— यी दुवै अतिवाद वाम आन्दोलनमा हानिकारक छ । नेपाली वामपन्थीले शान्तिपूर्ण सङ्घर्ष र प्रतिस्पर्धालाई वर्ग सङ्घर्षको मोडलका रूपमा लिँदै सङ्घर्षको विधि एउटा साधन हो र समाजवाद साध्य हो भनी बुझ्न जरुरी छ । 

  • साङ्गठनिक प्रश्न

सङ्गठन र नेतृत्वको विषयलाई लिएर गम्भीर आरोपहरूको सामना वाम पार्टीहरूले गरिरहेका छन् । बुर्जुवाहरूले लगाउने आरोपमध्ये मुख्य छन्— कम्युनिस्ट पार्टीभित्र आन्तरिक लोकतन्त्रको स्थान रहँदैन; उनीहरू सर्वसत्तावादी चिन्तनका हुन्छन् आदि । के यो साँचो हो ? कम्युनिस्टहरूले यसको जवाफ व्यवहार र अभ्यासमार्फत दिनुपर्नेछ । 

सामान्यतः कम्युनिस्ट पार्टीहरू लेनिनवादी संगठनात्मक विधि अनुसार सञ्चालन हुने गर्छन् । व्यक्ति संगठनमातहत, तल्लो कमिटी माथिल्लो कमिटीमातहत, अल्पमत बहुमतमातहत, सबै कमिटी केन्द्रीय कमिटीमातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलन वा महाधिवेशनमातहत रहने विधिको निर्माण आजभन्दा ११० वर्षअगाडि लेनिनले गरेका थिए । भीषण वर्ग सङ्घर्षका समयमा विशेष परिस्थितिमा लेनिनले संगठन परिचालनका निम्ति निर्माण गरेको यो विधि आज पूर्ण सान्दर्भिक नहुन सक्छ ।

अवश्य पनि एउटा समयमा, एउटा स्थानमा पूर्णता हासिल गरेको वा लागु भएको विचार सबै ठाउँ र परिवेशमा उही तरिकाले लागु हुन्छ भन्ने हुँदैन । त्यसको सार्वभौम पक्षलाई आत्मसात् गर्दै त्यसमा समयसापेक्ष परिवर्तन गर्नुपर्ने हुन्छ । नेपालका वामपन्थीले लेनिनवादी संगठनात्मक विधिमा आवधिक नेतृत्व, आगमन र निगमनको विधि र पुस्ता समायोजनको विषय अनिवार्य थप गर्नुपर्ने देखिन्छ ।

बुर्जुवाहरूको आन्तरिक लोकतन्त्रभन्दा वामपन्थीहरूको आन्तरिक जनवाद उच्चस्तरको हुनुपर्छ । विचार, नीति कार्यक्रम र नेतृत्व निर्माणका लागि आन्तरिक जनवाद महत्त्वपूर्ण हुन्छ, जहाँ उच्चस्तरको छलफलबाट निर्णय हुन सकोस्; जसले जनवादी केन्द्रीयताको प्रयोगसही अर्थमा भएको पुष्टि गर्न सकोस् । पार्टी वा सङ्गठन प्रमुख बिरामी परे पार्टी नै बिरामी पर्ने अति केन्द्रित सांगठनिक मानसिकताबाट वामपन्थीहरू माथि उठ्न सक्नुपर्छ ।

  • उत्तराधिकारी निर्माणको प्रश्न

लेनिनवादी सङ्गठनात्मक विधिले उत्तराधिकारी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा बोल्दैन । त्यसैले स्टालिन, माओ, फिडेल क्यास्त्रोदेखि नेपालका मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे रोहित, सीपी मैनाली, मोहन वैद्य किरण हुँदै प्रचण्डसम्म आउँदा आ–आफ्नै प्रकारका अभ्यास देखिएका छन् । आजको वामपन्थी आन्दोलनको मूल नेतृत्वहरूमा ३० को दशकको सङ्घर्षकै क्रममा जन्मेको नेतृत्व देखिन्छ । यसको मतलब के हो भने उत्तराधिकारी निर्माण र नेतृत्व हस्तान्तरणको प्रश्नमा नेपाली वाम आन्दोलन गम्भीर देखिएको छैन, अनुदार देखिएको छ । हरेक पुस्ताको आफ्नो एजेन्डा हुन्छ; सामन्तवादविरुद्ध वा पुँजीवादविरुद्ध कामयाबी भएको नेतृत्व र त्यसको चातुर्यता समाजवादमा कामयाबी नहुन सक्छ । आजसम्मको इतिहास हेर्दा उत्तराधिकारीको निर्माण कि नेतृत्वको सहयोगी बनेर कि त नेतृत्वसँग आलोचनात्मक प्रतिस्पर्धा गरेरै भएको देखिन्छ । जेहोस् नेपाली वामपन्थीहरूले उत्तराधिकारीको निर्माण र नेतृत्व हस्तान्तरणको प्रश्नमा अमूर्त भाष्य होइन कि समयानुकूल विधि निर्माण गरेर हल गर्नुपर्छ । सामन्तवादी र एकात्मक संस्कृतिको झल्को दिने नेतृत्व प्रणालीलाई प्रगतिशील आन्दोलनका अनुयायीले समयानुकूल बनाउने हिम्मत राख्नुपर्छ । इतिहास र योगदानको सम्मान, क्षमताको स्वीकारोक्ति अथवा ‘कन्टिन्युटी’ र ‘कन्टेन्ट’को उचित संयोजनका आधारमा नेतृत्व निर्माणको विधि अपनाउनुपर्ने देखिन्छ ।

  • नीति र नेतृत्व

कम्युनिस्ट कार्यकर्ताहरूको सामान्य र सोझो बुझाइ छ— जसको नीति उसको नेतृत्व । अभ्यासलाई हेर्दा भने यस्तो देखिँदैन । 

२०१४ सालको दोस्रो महाधिवेशनमा आफ्नो प्रस्ताव अस्वीकृत भएका डा. केशरजङ्ग रायमाझी नै महासचिवमा निर्वाचित हुनु; एमालेमा जनताको बहुदलीय जनवादको सिद्धान्त र राजनीतिक कार्यक्रमभन्दा विपरीत धारणा राख्नेहरू नेतृत्वमा पुग्नु; संविधानसभाअन्तर्गत शान्ति र संविधानको मुख्य पक्षधरता देखिने बाबुराम भट्टराईले माओवादी पार्टीको नेतृत्व गर्र्ने वातावरण नबन्नुजस्ता सङ्गति नमिलेका केही ऐतिहासिक पक्ष हाम्रा सामु छन् । व्यवहारतः नेपाली वाम आन्दोलनमा नीतिभन्दा नेतृत्व नै प्रधान देखिने गरेको छ । 

नीति र नेतृत्व एक अर्काका परिपूरक नै हुन् तर नीति अनुसारको नेतृत्व र सङ्गठनको अभ्यासभन्दा व्यक्ति नेतृत्वमा पुगेर आफू अनुकूलको नीति तथा कार्यक्रम लागु गर्ने प्रवृत्ति नै वाम आन्दोलनमा हाबी भएको छ । वर्तमान सन्दर्भमा नेतृत्व अघिअघि र नीति पछिपछि देखिएको छ । त्यसो भएकाले सैद्धान्तिक धरातलका आधारमा नेतृत्व र नेतृत्वका आधारमै नीति तथा कार्यक्रमको मान्यता स्थापित गर्दा व्यावहारिक हुन सक्छ, तर नेतृत्व अघिअघि र नीति पछिपछि हो कि नीति अघिअघि र नेतृत्व पछिपछि हो ? अथवा नीति र नेतृत्व सँगै हो ? यसमा थप प्रस्ट हुन जरुरी छ ।

  • एकीकृत वाम आन्दोलन 

विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको सन्दर्भमा नेपालमा कम्युनिस्ट जनमत अझै बलियो हुनु नेपाली वामपन्थीका लागि खुसीको कुरा हो, यो अवस्था सधैँ कायम रहिरहन्छ भन्ने छैन । एकीकृत र केन्द्रीकृत कम्युनिस्ट आन्दोलनविना समाजवाद असम्भव छ; साथै यो बलियो जनमतको रक्षा र सदुपयोग हुने कुरा पनि असम्भव छ । साझा मुद्दाका रूपमा नेपाली विशेषताको समाजवाद, सहअस्तित्वसहितको सर्वस्वीकार्य नेतृत्व, सङ्गठनका रूपमा जनआधारित र जनसेवामूलक सङ्गठन, आजको समाज मनोविज्ञान र आवश्यकताका आधारमा सहकार्य र एकता नै वर्तमान वाम आन्दोलनको आवश्यकता हो । लोकतान्त्रिक शक्तिसँग सहकार्य र प्रतिस्पर्धा; दक्षिणपन्थी शक्तिसँग प्रतिस्पर्धा र सङ्घर्ष; वामपन्थीबिच बृहत् एकता नै आजको माग हो । नेपालका सन्दर्भमा एउटा वाम घटकले समाजवाद ल्याउने कुरा सुन्दर परिकल्पना मात्र हुने देखिन्छ ।

नेपाली वाम आन्दोलनले अथवा नेपाली राजनीतिले दैनिक जीवनमा सामना गर्दै आएको प्रश्न भनेको कथनी र करनीमा भिन्नता भयो भन्ने हो । ठुला र आदर्शको अमूर्त वैचारिकीले जनता आजको जीवन बाँच्न नसक्ने भइसके । त्यसले गर्दा सामान्य दैनिकीलाई नै व्यावहारिक रूपबाट सिद्धान्तमा जोड्दै अगाडि बढाउनुपर्नेछ । बौद्धिक विलासिता गर्ने गफाडी क्लब बन्नबाट र भिडको थुप्रो बन्नबाट वाम आन्दोलनलाई बचाउनुपर्छ । विचार, नेतृत्व, संगठन, प्रतिस्पर्धा र कार्यक्रमका सन्दर्भमा जुन प्रकारको सैद्धान्तिक प्रश्न उठ्ने गरेका छन्, त्यसमा नेपाली वाम आन्दोलनले सरल र व्याहारिक जवाफ दिन आवश्यक छ । 

  • निष्कर्ष

गौरवशाली इतिहास भएको नेपाली वाम आन्दोलन वाम संकीर्णताकै कारण विभाजित बनेको तितो यथार्थ हो । शान्तिपूर्ण संघर्ष, प्रतिस्पर्धा र सहकार्यको कार्यनीति बोक्नेहरूको पार्टी र आन्दोलन बेग्लाबेग्लै हुनुलाई एकले अर्काको सहअस्तित्वलाई अस्वीकार गरेको भनी बुझ्नुपर्छ । नेपाली समाजको वर्ग चरित्रको व्याख्या गर्दा— अब नेपाल सामन्तवादी रहेन, मूलतः यो केही सामन्तवादी अवशेषसहित पुँजीवाद (दलाल पँजीवाद)मा प्रवेश गरिसकेको छ र अब समाजवाद प्राप्तिको आन्दोलनमा अगाडि जाने हो भन्ने विषयमा सबै कम्युनिस्ट एकमत देखिन्छन् । यो सैद्धान्तिक साझा सहमति हो भने बेग्लाबेग्लै टुकुडीको नेतृत्व गर्नुको के अर्थ छ र ? तसर्थ पुग्ने गन्तव्य किटान भएकाहरू र साझा बाटा तय गरेकाहरूको एकता हुनुपर्छ । अनि गन्तव्य तय भएका तर बाटा फरक भएकाहरूसँग मित्रवत सहकार्य गर्नुपर्ने देखिन्छ ।

वाम आन्दोलनमा नयाँ नयाँ चुनौती थपिँदै गइरहेका छन् । वाम समर्थक र जनमत धेरै भड्की नसकेको अवस्थामा नेतृत्वहरूले उदात्त भावनासहित सम्हालेर नयाँ दिशा दिन सके आन्दोलनको भविष्य उज्ज्वल नै छ, अन्यथा समाज यथास्थितिमा बस्न सक्दैन र तत्कालीन आकाङ्क्षालाई सम्बोधन गर्ने नाममा पछाडि नफर्केला भन्न सकिँदैन । त्यसलाई रोक्नका लागि उदाउँदै गरेको नयाँ पुस्तालाई समाजवादको उज्यालो प्रकाशतिर हिँडाउन सक्नुपर्छ ।

नेपाली वाम आन्दोलनमा पुनर्जागरणको प्रश्न भनेको समयानुकूल विचार, नीति, कार्यक्रम र नेतृत्वको पारदर्शिता नै हो र इमानदारिता र क्षमताको संयोजनले मात्र आजको युगको नेतृत्व गर्न सक्छ भन्ने मान्यतको स्थापित गर्नु हो । 

(लेखक नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला इन्चार्ज हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काजी गुरुङ
काजी गुरुङ
लेखकबाट थप