शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

शिक्षा समितिका सभापति नै मन्त्री बनेपछि ‘विद्यालय शिक्षा विधेयक २०८०’ अलपत्र

मङ्गलबार, २९ फागुन २०८०, १५ : ४८
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको काम कारबाही प्रभावित बनेको छ । समितिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेसँगै समितिको काम कारबाही प्रभावित भएको हो ।

जोशी मन्त्री बनेसँगै सभापति पद खाली भएको छ भने नयाँ सभापति नआउँदासम्म समितिको बैठक बस्ने छैन । समितिको बैठक बस्न नसक्दा ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथिको छलफल प्रभावित बनेको छ । गत भदौ २७ गते शिक्षा मन्त्रालयले विधेयक छलफलका लागि संसद्मा दर्ता गराएको थियो ।

समितिले संसद्को हिउँदे अधिवेशनमा पेस गर्ने गरी छलफल सक्ने तयारी गरेको थियो । समितिका तत्कालीन सभापति जोशीले हिउँदे अधिवेशनबाट प्रतिनिधिसभाबाट पारित गराउने र बर्खे अधिवेशनसम्म राष्ट्रियसभाबाट पारित गराउने योजना रहेको बताएका थिए । नयाँ सभापति नआउँदासम्म समितिको बैठक बस्न नसक्ने शिक्षा समितिकी सचिव निर्मला देवी लामिछाने (वस्ती) ले बताइन् ।

नयाँ सभापति आएर समितिको बैठक बसेपछि मात्रै विधेयकमाथिको छलफल अगाडि बढ्ने उनको भनाइ छ । ‘सभापति नभई बैठक बस्न सक्दैन । दलहरू बिच सहमति भएर वा निर्वाचनको माध्यमबाट सभापति आउनुहुन्छ । त्यसपछि बैठक बस्छ । बैठक नै बस्न नसकेपछि विधेयकमाथि छलफल हुने कुरा पनि भएन,’ सचिव लामिछानेले भनिन् ।

सभापति जोशीले सातै प्रदेशमा गएर प्रदेश तथा स्थानीय तहका धारणासमेत सङ्कलन गर्ने योजना बनाएका थिए । कांग्रेस महासचिव बैठकपछि समिति सदस्यहरूलाई प्रदेश तहमा खटाउने उनको योजना थियो । तर, कांग्रेस महासमिति बैठकपछि सत्ता परिवर्तन भयो र जोशी मन्त्री बनेपछि उक्त योजना स्थगित भएको हो ।

समितिले विधेयकमाथि सरोकारवालासँग लगातार छलफल गरेको थियो । सरोकारवालासँगको छलफल सकेपछि प्रदेश तहबाट सुझाव सङ्कलन गर्ने योजना थियो । तर, बजेट अभावका कारण तत्काल जान सकिने अवस्था थिएन । किनकि सरकारले शिक्षा समितिलाई वार्षिक १० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको थियो । प्रदेश तहसम्म पुगेर सुझाव सङ्कलन गर्न बजेटको अभाव देखिएपछि समितिले सरकारसँग थप बजेट माग गर्ने योजना बनाएको थियो ।

त्यो बेला समिति सभापति जोशीले भनेका थिए, ‘प्रदेश तहसम्म पुगेर सुझाव लिनुपर्छ । तर, सरकारले १० लाखमात्रै बजेट उपलब्ध गराएको छ । प्रदेशमा जान बजेटको अभाव देखिएला जस्तो छ । सरकारसँग थप बजेट माग गर्नुपर्ने देखिन्छ । त्यसपछि माननीयज्यूहरूको सूची तयार पारेर प्रदेशतिर खटाउनुपर्ला ।’

शिक्षा समितिमा गत पुस ८ बाट छलफल सुरु भएको थियो । छलफल सुरु भएको झन्डै तीन महिना र संसद्मा दर्ता भएको ६ महिना पूरा भएको छ । तर, विधेयक माथिको छलफल नै सकिएको छैन । सरोकारवालासँगको छलफल सकिएपछि मात्रै दफावार छलफलमा जानेछ ।

  • विधेयकमा के–के छ बाँकी काम ?

समितिले नेपाल शिक्षक महासंघसँगै विभिन्न शिक्षक संघ संगठन, विद्यालय कर्मचारीहरू, विभिन्न संवैधानिक आयोग, विद्यार्थी संगठनहरू लगायत शिक्षासँग सरोकार राख्ने सरोकारवाला निकायसँग छलफल गरेको थियो । छलफलको क्रममा उनीहरूको तर्फबाट लिखित तथा मौखिक रूपमा सुझाव पेस गरिएको थियो ।

समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालाको धारणा लिने कार्य अन्तिम चरणमा छ । प्रदेश तहबाट धारणा लिइसकेपछि त्यो काम सकिनेछ ।

त्यसपछि दफावार छलफलमा जानेछ । संशोधन प्रस्ताव दर्ता गराएका प्रतिनिधिसभा सदस्यहरू दफावार छलफलमा सहभागी हुनेछन् । त्यसका लागि १५२ जना सांसदले १ हजार ७५७ विवरणमा संशोधन दर्ता गराएका छन् । केही विवरणमा एक भन्दा बढी सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरू सबैलाई दफावार छलफलका लागि बोलाइने समिति सचिव लामिछानेले बताइन् ।

दफावार छलफलको काम सकिएपछि समितिले विधेयकमाथि प्रतिवेदन तयार पाने र उक्त प्रतिवेदन संसद्मा पेस हुनेछ । दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेस गरिनेछ । राष्ट्रपति प्रमाणीकरण भएपछि उक्त विधेयक ऐनको रूपमा परिणत हुनेछ र राजपत्रमा प्रकाशित भएसँगै ऐन कार्यान्वयनमा आउनेछ ।

  • शिक्षामन्त्रीको अपेक्षा

नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले जति सक्दो चाँडो विधेयक अगाडि बढोस् भन्ने अपेक्षा गरेकी छन् । पदबहाली गर्दै मन्त्री श्रेष्ठले नयाँ आउने सभापतिले जति सक्दो चाँडो विधेयकलाई अगाडि बढाउने अपेक्षा गरिन् ।

प्रदेशस्तरबाट सुझाव सङ्कलन गर्ने कार्य बाँकी रहेको र नयाँ आउने सभापतिले थप प्रभावकारी ढङ्गबाट सुझाव सङ्कलन गर्नेमा उनी विश्वस्त थिइन् । विधेयकमा सरकारको तर्फबाट गर्नुपर्ने सबै कार्य गर्ने बताउँदै उनले त्यसका लागि सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप