सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्स हत्या प्रकरण : सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी

शनिबार, ०३ चैत २०८०, १४ : २९
शनिबार, ०३ चैत २०८०

विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । राटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् । 

उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने यकिन भइसकेको छैन । अनुसन्धानका क्रममा ती नर्सका प्रेमीको संलग्नता रहेको हुन सक्ने आशङ्का गरिएको छ ।

घटनापछि उनका प्रेमी भनिएका सिरहाका अमिन नामका युवक सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । उनका साथीहरूले ती युवक दासका प्रेमी भएको जानकारी गराएका थिए ।

विभिन्न प्रसङ्गहरूका कारण घटनामा युवतीका प्रेमी संलग्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको हो । प्रेमी भनिएका अमिनको मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज गरिएको पाइएको छ । 

म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै बीभत्स अवस्थाको नर्सको शवको फोटो पनि पठाइएको प्रहरीको भनाइ छ । दास बसेकै घरमा रहेका उनका साथीहरू पनि नर्स हुन् । ह्वाट्एपको माध्यमबाट आफूलाई त्यस्तो म्यासेज आएपछि उनीहरूले घरधनीलाई जानकारी गराएका थिए ।

त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेको थियो । प्रहरी टोली पुगेर घटनास्थलको अवस्था अध्ययन गरेको थियो । त्यस क्रममा घरका मानिसहरू र उनका साथीहरूसँग सोधपुछ समेत गरिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ । घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहे पनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे ।

पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्यतथ्य खुल्ने उनले बताए । घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाइने दाबी पनि उनले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप