सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

कांग्रेस महासमितिबाट पारित प्रतिवेदन प्रभावित, महामन्त्री थापालाई राहत !

सोमबार, ०५ चैत २०८०, ०६ : ३७
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित दस्ताबेज प्रभावित हुने देखिएको छ । चैतको पहिला—दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको कांग्रेसले महासमिति बैठकबाट पारित प्रतिवेदन नयाँ राजनीतिक परिस्थितिलाई जोडेर अनुमोदन गर्ने भएको हो ।

सत्तामा हुँदा फागुन (७—१०)मा ललितपुरको गोदावरीमा सम्पन्न कांग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन कांग्रेसले प्रतिपक्षमा पुगेपछि गठबन्धन र माओवादीलाई हेर्ने नयाँ दृष्टिकोणसहित परिमार्जन गर्ने भएको छ ।

कांग्रेसको महासमिति बैठकको दस्ताबेजले गठबन्धन फेर्न माओवादीलाई उद्वेलित बनाएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउनु पछाडिका पाँच कारणमध्ये एउटा कारण महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई बनाइराखेका छन् । फागुन २१ मा आफूसँग गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘राजनीतिक बेइमान’को संज्ञा दिएको छ ।

कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’का कारण गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ । आगामी केन्द्रीय समिति बैठकबाट सोही अनुसार प्रतिवेदनहरूमा नयाँ राजनीतिक घटनाक्रम उल्लेख हुने महामन्त्री गगन थापा बताउँछन् ।

  • महासमितिपछि उल्टियो परिस्थिति, थापालाई राहत

कांग्रेसले यसअघि गठबन्धन जोगाउन महासमितिबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारी गरेको थियो ।

सभापति शेरबहादुर देउवाले फागुन ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर महासमितिबाट पारित प्रतिवेदनमा गठबन्धन र माओवादीको जनयुद्ध सम्बन्धी विषय परिमार्जन गर्ने विश्वास दिलाएका थिए ।

आगामी केन्द्रीय समिति बैठकमा माओवादी र गठबन्धन विरोधी विषय विना परिमार्जन पेस हुँदैछन् । यसले महामन्त्री थापालाई राहत मिलेको छ ।

प्रतिवेदन परिमार्जनका लागि फागुन १७ मा देउवा निवास बुढानीलकण्ठमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखकबिच छलफल भएको थियो । 

उपसभापति खड्काको नीति प्रतिवेदनबाट माओवादीको सशस्त्र द्वन्द्व उल्लेखित विषय हटाउने तयारी थियो । कांग्रेसको नीति प्रतिवेदनमा माओवादीको हिंसात्मक गतिविधिका कारण देश पछाडि धकेलिएको भन्दै त्यो आवश्यक थिएन भन्ने विषय राखिएको थियो ।

यस्तै महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनबाट गठबन्धन र १५ औँ महाधिवेशनको कार्यतालिका लगायतका विषय संस्थापन पक्षले हटाउने रणनीति बनाएको थियो ।

फागुन १७ मा देउवा निवासमा भएको छलफलमा महामन्त्री थापा पुगिनसक्दै उपसभापति खड्का, महामन्त्री शर्मा र नेता लेखकले केन्द्रीय समितिमा भोटिङ गराएर भए पनि सच्याउने आन्तरिक योजना बनाएका थिए ।

‘महासमितिमा अधिकांशले गठबन्धनलाई रणनीतिको विषय बनाउनुपर्छ भने भनेर केन्द्रीय समिति बैठकबाट यही विषय अनुमोदन गराउने गरी प्रतिवेदनमा परिमार्जन गर्ने, उक्त कुरा महामन्त्री थापाले नमाने बैठकमा अल्पमत, बहुमत गराउने भन्ने थियो,’ एक नेताले रातोपाटीलाई भने, ‘गठबन्धन नभत्किएको भए प्रतिवेदनबाट गठबन्धन विरोधी सबै कुरा झिकिन्थ्यो ।’

संस्थापन पक्ष महासमिति बैठकमै चुनावी गठबन्धन रणनीतिक विषय भएको भन्दै अहिले नीति बनाउन आवश्यक नभएको भाष्य निर्माणमा खटेको थियो । महासमितिको समूहगत छलफलमा अनौपचारिक रुलिङ गरेर ‘गठबन्धन गर्नु हुँदैन भन्ने कुरा बेठिक छ’ भनेर संस्थापन पक्षले बोल्न लगाएको थियो ।

त्यसको काउन्टरमा महामन्त्री थापाको समूह उत्रिँदा समूहगत रिपोर्टिङका क्रममा नाराबाजी भएको थियो । गठबन्धन नभत्किएको भए गठबन्धनबारे गोदावरीदेखि सानेपासम्म कांग्रेस विभाजित हुने अवस्था थियो ।

‘नयाँ राजनीतिक घटनाक्रमले परिमार्जन हुने भनिएको डकुमेन्ट पनि यथास्थितिमै रहने भयो । नहुने भनेको डकुमेन्ट सबैभन्दा बढी परिमार्जन हुने भयो,’ उनी भन्छन् ।

आगामी केन्द्रीय समिति बैठकमा माओवादी र गठबन्धन विरोधी विषय विना परिमार्जन पेस हुँदैछन् । यसले महामन्त्री थापालाई राहत मिलेको छ । संस्थापन पक्षको बहुमतमा पेलिएको महामन्त्री थापाको गठबन्धन विरोधी मत अहिले कांग्रेसको साझा मत भन्ने परिस्थिति बनेको छ ।

कांग्रेसमा पछिल्लो राजनीतिक परिस्थितिलाई हेर्ने दृष्टिकोणमा एकमत देखिन्छ । सिङ्गो कांग्रेसले गठबन्धन भत्किनुमा प्रधानमन्त्री प्रचण्डको अस्थिर प्रवृत्तिलाई कारक मानेको छ ।

‘अब बस्ने केन्द्रीय समिति बैठकमा नीति प्रतिवेदनबाट माओवादीको सशस्त्र द्वन्द्वको विषयमा लेखिएको कुरा झिकिन्न,’ कांग्रेसका एक नेताले भने, ‘बरु अझ थपिन्छ । सांगठनिक प्रतिवेदनबाट भविष्यमा कांग्रेस एक्लै चुनाव लड्ने छ भन्ने कुरा पनि झिकिन्न ।’

गठबन्धन भत्किएपछि महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘कोशी प्रकरणको च्याप्टर’ हटाउनुपर्ने भएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले फागुन २१ मा कांग्रेससँग गठबन्धन भत्काएपछि महासमिति बैठकको निर्णय पनि उल्टिने भएको छ । कांग्रेस नेताहरूका अनुसार तत्कालीन गठबन्धनलाई निरन्तरता दिने निर्णयको ठाउँमा प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’को कुरा उल्लेख हुनेछ ।

‘नयाँ राजनीतिक घटनाक्रमले परिमार्जन हुने भनिएको डकुमेन्ट पनि यथास्थितिमै रहने भयो । नहुने भनेको डकुमेन्ट सबैभन्दा बढी परिमार्जन हुने भयो,’ उनी भन्छन् ।

  • के हुन्छ महाधिवेशनको कार्यतालिका ?

महामन्त्री थापाले महासमिति बैठकमा प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिका पनि केन्द्रीय समितिबाट अनुमोदन हुने छैन । पार्टी विधानले महाधिवेशनको कार्यतालिका बनाउने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

महामन्त्री थापाले केन्द्रीय समितिले गर्ने कुरा महासमितिबाट गर्नु हुँदैन भन्ने कुरा छैन भनेर महासमितिमै महाधिवेशन कार्यतालिकाको प्रस्ताव लगेका थिए । महासमिति बैठकमै सांगठनिक प्रतिवेदनको अनुसूचीबाट महाधिवेशनको कार्यतालिका हटाइएको थियो ।

विधान अनुसार महाधिवेशनको कार्यतालिका बनाउने काम केन्द्रीय समितिले गर्नेछ ।  महासमिति बैठकबाट कार्यतालिका पास गर्दा भोलि संशोधन गर्नु परेमा फेरि महासमिति बैठकमै जानुपर्ने भएपछि महामन्त्री थापा ‘ब्याक’ भएका थिए । १५ औँ महाधिवेशन २०८२ मा गर्ने कुरा महासमितिबाट पास भइसकेको छ । उक्त कुरा सांगठनिक प्रतिवेदनबाट नहट्ने महामन्त्री थापा बताउँछन् ।

  • बैठकपछि अभियान पुनः सुरु

केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित प्रतिवेदन अनुमोदन गरेपछि ‘समुदायसँग कांग्रेस अभियान’ पुनः सुरु हुनेछ । बैठकपछि महामन्त्री थापाको ‘संवाद यात्रा’ पनि पुनः अगाडि बढ्ने छ । माघ २३ मा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि पार्टीको ‘समुदायसँग कांग्रेस अभियान’सँगै महामन्त्री थापाको संवाद यात्रा पनि स्थगित भएको थियो ।

झापाबाट गत माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो ।

१३ दिने संवाद यात्रामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने महामन्त्री थापाको योजना थियो ।

‘पार्टीको समुदायसँग कांग्रेस कार्यक्रम र मेरो संवाद यात्रा केन्द्रीय समिति बैठकपछि पुनः सुरु हुन्छ । अब नयाँ ढङ्गले कार्यक्रमलाई अगाडि बढाउँछौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप