सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाअन्तर्गतका दुई समिति सभापतिको निर्वाचन आज

सोमबार, ०५ चैत २०८०, ०९ : १४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन् । दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक–एक जनाको मात्रै मनोनयन दर्ता भएको छ । 

दुवै समितिले सभापति चुन्न बैठक बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने दिगो विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सभापति चुन्नेछ । त्यस्तै, सोही समयमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि सभापति चुन्ने गरी बैठक बोलाएको छ । 

बैठकबाट सभापतिहरू चुनिए लगत्तै शपथग्रहणको कार्यक्रम रहेको छ । 

दिगो विकास तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसकी कमला पन्तले उम्मेदवारी दर्ता गरेकी छन् भने राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पनि नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । दुवै समितिमा एक–एक जनाको मात्रै मनोनयन परेपछि निर्वाचन नगरी सोमबार बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ । 

राष्ट्रिय सभामा रहेको प्रमुख चार दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार वटा समितिहरूमध्ये भागबण्डा गरेर एक–एक वटाको सभापति लिएका छन् । राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन् । उनीहरूको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति थिए । उनको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो । पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट र समर्थकमा एमाले सांसद शारदादेवी भट्ट छन् । 

यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा यसअघि नेकपा एमालेकी दिलकुमारी रावल (थापा) सभापति थिइन् । उनको पनि कार्यकाल पनि २० फागुनमै सकिएकाले सो समितिको सभापतिमा एमालेकै सोनाम ग्याल्जेन शेर्पाको एकल उम्मेदवारी दर्ता भयो । शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी तथा समर्थकमा नेपाली कांग्रेसका दुर्गा गुरुङ र एमालेका इन्दिरादेवी गौतम छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप