बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले

सोमबार, ०५ चैत २०८०, १७ : १४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत आएका थिए । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गर्ने क्यानले जनाएको छ ।

barkle (2)

यसका अतिरिक्त आईसीसी अध्यक्षले नेपाल भ्रमणका क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीसँग पनि नेपालमा क्रिकेट विकासको विषयमा केन्द्रित रहेर छलफल गर्ने कार्यतालिका रहेको छ ।

आईसीसी अध्यक्ष ग्रेगले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानको निरीक्षण पनि गर्नेछन् । नेपाल भ्रमणका क्रममा उनलाई माउण्टेन फ्लाइट गराउने तयारी पनि क्यानले गरेको छ ।
अध्यक्ष ग्रेग आफ्नो चार दिने नेपाल भ्रमण पुरा गरी बिहीबार बिहान काठमाडौँबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भारतमा शुक्रबारदेखि सुरु हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन समारोहमा सहभागी भएर उनी आफ्नो देश फिर्ता हुनेछन् ।

नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको सफलतापछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेको छ । यस्तो अवस्थामा भएको आईसीसी अध्यक्ष ग्रेगको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘नेपाली क्रिकेटको विषयमा यसअघि पनि धेरै सुनेको थिएँ । आज आफ्नै आँखाले हेर्ने अवसर पनि जुरेको छ,’ उनले भनेका छन् । उनले नेपाली क्रिकेट समर्थकको प्रशंसा पनि गरेका छन् । उनले समर्थकहरु नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति भएको पनि बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता राख्न सुझाव दिए ।

barkle (3)

६३ वर्षीय ग्रेग बार्कलेले आईसीसी अध्यक्षको जिम्मेबारी समाल्नुअघि क्यानडा र न्युजिल्यान्ड क्रिकेटमा कुशल प्रशासकको भूमिका निर्वाह गरेका थिए । उनले क्यानडा र न्युजिल्यान्ड दुबै देशको नागरिकता लिएका छन् ।

ग्रेग बार्कले सन् २०२० मा आईसीसीको अध्यक्ष बनेका हुन् । त्यसअघि सन् २०१६ देखि सन् २०२० सम्म उनी न्युजिल्यान्ड क्रिकेटका अध्यक्ष थिए । उनको जन्म पनि न्युजिल्यान्डको ह्यामिल्टनमा भएको थियो ।

ग्रेग बार्कले सन् २०१४ मा पहिलो पटक प्रशासकका रुपमा आईसीसीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी मार्टिन स्नेडेनको उत्तराधिकारी बन्दै न्युजिल्यान्डको प्रतिनिधिका रुपमा आईसीसीको निर्देशक समितिमा प्रवेश गरेका थिए ।  

उनले सन् २०१५ मा आयोजित आईसीसी विश्वकपमा पनि बोर्ड सदस्यका रुपमा काम गरेका थिए । सन् २०२० को नोभेम्बरमा आईसीसी अध्यक्षका लागि भएको दोस्रो चरणको निर्वाचनमा उनले कुल १६ मध्ये ११ मत पाएका थिए । आईसीसी अध्यक्षमा निर्वाचित भएपछि उनले न्युजिल्यान्ड क्रिकेटको प्रमुख पदबाट राजिनामा दिएका थिए । हाल विश्वको एक सय आठ राष्ट्र आईसीसीको सदस्य रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप