शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनधिकृत रुपमा उद्योग परिसर बाहिर लेबल लगाउँदै युनिलिभर

कसरी खुल्यो युनिलिभरको अनधिकृत लेबल सेन्टरको रहस्य ?
मङ्गलबार, ०६ चैत २०८०, १५ : ११
मङ्गलबार, ०६ चैत २०८०

मकवानपुर । हेटौंडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरले अनधिकृत रुपमा उद्योग परिसर बाहिर लगेर आफ्ना उत्पादनमा लेबल लगाउँदै गरेको फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–३ स्थित उद्योग खडा गरेर उत्पादन गरिरहेको युनिलिभरले उत्पादित बस्तुमा लेबल लगाउने काम भने बाहिरबाट गर्दै आएको भेटिएको हो ।

युनिलिभरको उद्योग परिसर बाहिर टुथपेस्ट (दन्त मञ्जन)का २ वटा ब्राण्ड (पेप्सोडेन्ट र क्लोजअप)का उत्पादन स्थानीय एक व्यवसायीको गोदाममा लगेर नयाँ प्याकेटमा प्याक गर्ने र सिल गर्ने काम भइरहेको पाइएको हो ।

त्यसो त युनिलिभरले आफ्नो उद्योग परिसरभित्र हत्तपत्त कसैलाई प्रवेश दिँदैन । प्रवेश अनुमति पाइहाले पनि बायो सेक्युरिटीका साथ चेकजाँचपछि मात्र पाइन्छ । उद्योगको उत्पादन क्षेत्र, भण्डारण क्षेत्र र प्याकिङ र लेबलिङ पनि मेसिनबाटै हुन्छ भने उत्पादनको सुरक्षाका लागि उचित तापक्रम पनि निर्धारण गरी व्यवस्थापन गर्ने गर्दछ ।

तर, जुन स्थानमा युनिलिभरका उत्पादन पुनः प्याकिङ र लेबल लगाइएको थियो, त्यहाँ ट्रस्टको भवन थियो भने न बायो सेक्युरिटी, न तापक्रम व्यवस्थापन नै थियो । उत्पादित बस्तु म्यानुअल रुपमा ग्लु–गनको सहायताले प्याकिङ भइरहेको थियो ।

यहाँसम्मकि सो क्षेत्रमा उत्पादित बस्तु र वेस्टेज (फोहोर) एकै स्थानमा थिए । केही कार्टुनमा उत्पादित बस्तु बजार पठाउन तयारी अवस्थामा प्याक गरी राखिएको थियो । क्लोज अप र पेप्सोडेन्टका पुराना खोल पनि धेरै मात्रामा जम्मा गरी राखिएको थियो भने प्लास्टिकका क्रेट र कार्टुनमा उत्पादित क्लोजअप र पेप्सोडेन्ट राखिएको थियो ।

झट्ट हेर्दा उद्योगले बजारबाट कुनै कारणले फिर्ता ल्याएको सामान पुनः प्याक र लेबल लगाएर फेरि बजारमा पठाउन खोजिएजस्तो देखिन्छ ।

कसरी खुल्यो युनिलिभरको अनधिकृत लेबल सेन्टरको रहस्य ?

उक्त स्थानमा सीमित समयका लागि मानिसहरू काम गर्ने र कार्टुन, मञ्जनका खोलहरू बाहिर राखेर आगो लगाउने गरेको सूचना प्राप्त भएपछि युसनलिभरको अनधिकृत लेबल सेन्टरको रहस्य खुलेको हो ।

विशेष सूचनाका आधरमा सोमबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईं सहितको टोलीले उक्त उद्योगको अनधिकृत कार्यका बारेमा बुझ्न जाँदा उक्त तथ्य फेला परेको हो ।

चापागाईं सहितको टोली लेबल लगाउने गरेको स्थानमा पुग्दा सो भवनमा ताला बन्द गरिएको थियो । केही समयपछि मोहन राना नाम गरेका स्थानीयवासी आइपुगे । उक्त भवन आफूले भाडामा लिएर काम गर्दै आएको उनले बताए । उनलाई सहायक प्रजिअ चापागाईंले गेट खोल्न भनेपछि गेट खोलिदिएका थिए ।

20240318_160528

भवनभित्र पेप्सोडेन्ट र क्लोजअपका पुराना कभर थिए, जसमा लेबल काटिएको थियो । त्रिपाल बिछ्याएर खुला रुपमा युनिलिभरका ती उत्पादन राखिएका थिए भने ग्लु–गन, लेबल लगाउने मेसिन र मिति उल्लेख गरिएको स्टाम्प समेत फेला परेको थियो ।

आफू युनिलिभरको कर्मचारी बताउने उनले मूल्य स्पष्ट नभएपछि उद्योगले सो स्थानमा पुनः प्याकिङ र लेबल लगाउन आफूलाई खटाएको जानकारी दिए । उनका अनुुसार युनिलिभरसँग यस प्रकारको लेबल लगाउने मेसिन नभएकाले म्यानुअल रुपमा गर्नुपरेकाले सो क्षेत्रमा ल्याएर काम गरिएको हो ।

स्थानीयको ट्रस्टको भवन भाडामा लिएर केही कर्मचारी राखेर आफूले सो काम गरेको रानाले बताए । युनिलिभरसँगको करार सम्झौता अनुसार आफूले काम गरिरहेको उनको भनाइ थियो । तर, सहायक प्रजिअ चापागाईं सहितको टोलीलाई उनले सम्झौता देखाउन सकेनन् । कम्पनीसँगको सम्झौता युनिलिभरले नै राखेको उनले बताए ।

चापागाईंको टोलीले रानासँग कम्पनीको कागज पत्र माग गरेपछि रानाले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको टिडी इन्जिनियरिङ वर्क्सको दर्ता प्रमाण पत्र उपलब्ध गराएका थिए । जसको उद्देश्यमा ग्रील, सटर, ट्रस्ट निर्माण लगायतका थिए ।

सहायक प्रजिअ चापागाईंले उनलाई सो स्थानमा तत्काल कुनै पनि काम नगर्न र उद्योगको उत्पादनसँग सम्बन्धित कागजपत्र, पुनः प्याकिङ र लेबल लगाउन दिएको करार सम्झौतासहित मङ्गलबार कार्यालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप