सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम २ मा सम्पूर्ण ध्यान लगाउने एमाले कोशीको निर्णय

प्रदेश सरकार परिवर्तन गर्न लाग्ने
मङ्गलबार, ०६ चैत २०८०, १८ : ५९
मङ्गलबार, ०६ चैत २०८०

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको बैठकले इलाम–२ को उपनिर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । विराटनगरमा मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै बैठकले केन्द्रीय सरकारको गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्ने प्रदेश पार्टीका पदाधिकारी र संसदीय दलबिच छलफल गरेर केन्द्रमा लबिङ गर्ने निर्णय पनि गरेको छ । 

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार  बैठकले ११ जिल्लाको अधिवेशनको मिति पनि तय गरेको छ । यस्तै सदस्यता नवीकरण र वितरणलाई तीव्रता दिइने निर्णय भएको उनले जानकारी दिए । एमालेले चैत मसान्तभित्र सदस्यता नवीकरण र वितरण गरिसक्नु पर्ने समय तोकेको छ । 

एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले पार्टीको जिल्ला अधिवेशन, पालिका र वडा अधिवेशन सम्पन्न गर्ने नीति बनाएको र पार्टीको आर्थिक विनियम बनाउने निर्णय भएको बताए । यस्तै प्रदेश समितिका केही विभागहरू बनाउने निर्णय पनि गरेको उनले जानकारी दिए । 

‘इलाम निर्वाचनलाई केन्द्रमा राखेर कार्ययोजना निर्माण गरेको छ । स्थानीयस्तरमा सबै हिसाबले निर्वाचनमा लाग्ने र पार्टीको सम्पूर्ण ध्यान इलाम उपनिर्वाचनमा लागेर पार्टीको पक्षमा परिणाम निकाल्ने निर्णय भएको छ,’ उनले भने, ‘उम्मेदवारको विषयमा हामीले केन्द्रलाई दिने सुझावसहित सिफारिस गरेका छौँ ।’ एमालेले जिल्लाले पठाएका ६ जनाकै नाम केन्द्रलाई सिफारिस गरेको छ । 

एमालेको जिल्ला समिति इलामले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने ६ जना आकाङ्क्षीको नाम प्रदेशलाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई जस्ताको तस्तै केन्द्रमा पठाउने निर्णय भएको अध्यक्ष खतिवडाले जानकारी दिए । 

यस्तै कोशी प्रदेश सरकार केन्द्रको गठबन्धन अनुसार नै बन्ने भएकोले सोही अनुसार समन्वय गर्न प्रदेशको संसदीय दलका पदाधिकारीसँग छलफल गरेर केन्द्रमा सुझाव दिने निर्णय भएको खतिवडाले बताए । ‘सरकार निर्माणको बारेमा छलफल गर्ने, प्रदेशका पदाधिकारीले संसदीय दलका पदाधिकारीसँग छलफल गरेर टुङ्ग्याउने र केन्द्रमा आवश्यक समन्वय गर्ने निर्णय भएको छ,’ खतिवडाले भने । 

यस्तै एमालेले सङ्खुवासभामा भने अधिवेशन सम्पन्न गरिसकेको छ । अन्य ९ जिल्लाको अधिवेशनको मिति पनि प्रदेशको बैठकले तय गरेको एमालेले जनाएको छ । जसअनुसार चैतको १३ र १४ गते उदयपुर, चैत १५ र १६ गते झापा, चैत १७ र १८ गते पाँचथर, चैत २३ र २४ गते सोलुखुम्बु, चैत २६ र २७ गते ओखलढुङ्गा, चैत २८ र २९ गते खोटाङको अधिवेशन हुने मिति तय भएको हो । यस्तै वैशाखको ३ र ४ गते भोजपुर, वैशाखको २३ र २४ गते ताप्लेजुङ, वैशाखकै २५ र २६ गते तेह्रथुम र वैशाख २८ र २९ गते धनकुटाको अधिवेशन गर्ने मिति एमालेले तय गरेको हो । एमाले प्रदेश समितिले सबै जिल्ला अधिवेशन जेठ मसान्तसम्ममा सक्ने कार्ययोजना बनाएको छ । 

मोरङ र सुनसरीको भने अधिवेशनको मिति नतोकिएको खतिवडाले बताए । एमालेले जिल्ला अधिवेशनबाट सर्वसम्मतिले नेतृत्व छान्न प्रयास गर्ने र सहमति नभए प्रक्रियाबाट टुङ्गोमा पुग्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप