बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
केजरीवाल पक्राउ प्रकरण

के हो दिल्लीका मुख्यमन्त्री केजरीवाल मुछिएको मदिरा घोटाला प्रकरण ?

शुक्रबार, ०९ चैत २०८०, ११ : ११
शुक्रबार, ०९ चैत २०८०

नयाँ दिल्ली । दिल्लीको राजनीतिमा बिहीबार निकै उथलपुथल देखियो भने आम आदमी पार्टी (आप)लाई ठुलो झट्का लागेको छ । साँझ पर्ने बित्तिकै कानून कार्यान्वयन गराउने भारतको सरकारी निकाय प्रवर्तन निर्देशनालय (ईडी)को टोली मुख्यमन्त्री निवासमा पुग्यो, अनि मुख्यमन्त्री अरविन्द केजरीवालसँग मदिरा नीति मामिलामा सोधपुछ गर्न थाल्यो । रात पर्ने  बित्तिकै उनलाई पक्राउ समेत गरियो । 

यो मदिरा घोटाला प्रकरणमा आम आदमी पार्टीका अन्य दुई ठुला नेता मनिष सिसोदिया र सञ्जय सिंह यसअघि नै जेलमा छन् । 

नयाँ मदिरा नीतिमा के थियो ?

सन् २०२१ को नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्‍यो । यसअन्तर्गत राजधानीमा ३२ क्षेत्र बनाएर प्रत्येक क्षेत्रमा बढीमा २७ वटा मात्रै मदिरा पसल खोल्न दिइनु पर्ने थियो । यसरी दिल्लीभर जम्मा ८४९ वटा मात्रै पसल खोलिनु पर्ने थियो । दिल्लीमा ६० प्रतिशत मदिरा पसल सरकारी र ४० प्रतिशत निजीस्तरमा खुलेका थिए । नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसलहरूलाई निजी बनाई दियो । यसबाट ३५ अर्ब भारु फाइदा हुने सरकारको तर्क थियो ।

कसरी सुरु भयो जाँच ?

सो प्रकरणमा जुलाई २०२२ मा दिल्लीका तत्कालीन मुख्य सचिवले ‘अन्त:शुल्क नीति’मा अनियमितता भएकोबारे उपराज्यपाललाई एउटा प्रतिवेदन बुझाएका थिए । यस प्रतिवेदनले तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियामाथि नीतिमा अनियमितता गरेको र मदिरा व्यवसायीलाई अनुचित फाइदा दिएको आरोप लगाएको थियो ।

यही रिपोर्टको आधारमा उपराज्यपालले अन्त:शुल्क नीति (२०२१–२०२२) को कार्यान्वयनमा नियमहरुको उल्लंघन र प्रक्रियात्मक त्रुटिको हवाला दिँदै जुलाई २२ मा सीबीआई जाँचको सिफारिस गरियो । यस मामिलामा सीबीआईले सिसोदियासहित १५ जनाविरुद्ध एफआईआर दर्ता गरेको थियो । यसै आधारमा ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो ।

के–कस्तो आरोप लागेको छ ?

अन्त:शुल्क नीति परिमार्जन गर्दा अनियमितता गरिएको र इजाजतपत्र धारकहरूलाई अनुचित लाभ दिइएको आरोप सीबीआई र ईडीले लगाएको छ । यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा  १ अर्ब ४४ करोड ३६ लाख भारु घाटा भएको थियो । यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लियो अनि पुरानो प्रणालीलाई पुनः स्थापित गरिदियो । 

अन्त:शुल्क विभागका प्रमुख रहेका मनिष सिसोदियाले सन् २०२१ को मार्चमा नयाँ अन्त:शुल्क नीतिको घोषणा गरेका थिए । सोही वर्ष नोभेम्बर १७ मा यो नीति लागू गरिएको थियो ।

मदिरा घोटालामा को–को परे पक्राउ ?

यस घोटालामा अहिलेसम्म विजय नायर, अभिषेक बोइनपल्ली, समीर महेन्द्रू, पी सरथ चन्द्र, बिनय बाबु, अमित अरोरा, गौतम मल्होत्रा, राघव मंगुटा, राजेश जोशी, अमन ढाल, अरुण पिल्लई, मनिष सिसोदिया, दिनेश अरोरा, संजय सिंह, के. कविता पक्राउ परेका छन् ।

यो मामिलामा ईडीले केजरीवाललाई १४ पटक सोधपुछका लागि बोलाएको थियो । तर केजवरीवालले सुनेको नसुनै गरेर बसिरहे । अदालतले नै बाटो खोलिदिएपछि अन्ततः बिहिबार केजरीवाललाई पनि पक्राउ गरियो । मदिरा घोटालामा पक्राउ पर्ने केजरीवाल अहिलेसम्मकै हाई–प्रोफाइल व्यक्ति हुन् । आपको प्रशर्दनलाई हेरेर शुक्रवार आईटीओ मेट्रो स्टेसन बन्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप