आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
छाडा चौपाया व्यवस्थापन

छाडा चौपायाका कारण सवारी दुर्घटना बढ्दै

कसरी व्यवस्थापन गर्दैछन् स्थानीय तहले ?
शुक्रबार, ०९ चैत २०८०, ११ : २१
शुक्रबार, ०९ चैत २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने गुनाराम घिमिरे केही दिन अगाडि बुटवलको मिलन चोकमा स्कुटर दुर्घटनामा परी घाइते भए । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनमा प्रेस सल्लाहकार समेत रहेका घिमिरे कार्यालय आउने क्रममा दुर्घटनामा परेका थिए ।

खुट्टा र हातमा चोट लागेर उपचाररत उनले बुटवल नगरपालिकाका मेयर खेलराज पाण्डेय र उपमेयर सावित्रीदेवी अर्याललाई सामाजिक सञ्जालमा फेसबुकमा सम्बोधन गर्दै छाडा चौपाया व्यवस्थापन नगर्दा आफू सवारी दुर्घटना परेको जनाए ।

केही समय अगाडि बुटवलमा भएको एक औपचारिक कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले पनि छाडा चौपायाका कारण भइरहेको समस्याबारे उजागर गरेका थिए । छाडा चौपायाले पसलमा राखेका तरकारी खाइदिने, पसलनजिकै फोहोर गर्ने, ग्राहक आउने बाटो छेक्ने गरेको भन्दै उनले छाडा चौपाया नियन्त्रणबारे उद्योग वाणिज्य सङ्घले पनि बोल्नुपर्ने बताए ।

pashu (6)

बुटवलमा लामो समयदेखि छाडा चौपायाले यात्री तथा व्यवसायीलाई सताउँदै आएका छन् । राजमार्गमा समेत गाईगोरु बस्ने, सुत्ने गरेका छन् । यस्तो समस्या लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका मात्रै होइन, नेपालगन्ज, घोराही, तुलसीपुर उपमहानगरमा पनि उस्तै छ । त्यहाँ पनि छाडा चौपायाले किसानको बाली खाइदिने, विभिन्न ठाउँमा बसेर सहरको सौन्दर्य बिगार्ने काम गरेका छन् । सडकमै सुतेर छाडा चौपायाले सवारी साधनमा अवरोधसमेत सिर्जना गर्दै आएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, बाँकेको नेपालगन्ज उपमहानगरपालिका, दाङ जिल्लामा रहेका तुलसीपुर र घोराही उपमहानगरपालिकाका लागि छाडा चौपाया व्यवस्थापन सकसपूर्ण बनेको हो ।

pashu (1)

आफूहरूले सक्दो प्रयास गरे पनि प्रदेश र सङ्घबाट पहल नहुँदा छाडा चौपाया व्यवस्थापनमा पूर्ण रुपमा सफल हुन नसकेको ती पालिकाको गुनासो छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले छाडा चौपायाले दुःख दिएपछि नगरपालिकाले कान्जी हाउसमा लैजाने र राप्ती गाउँपालिकासँग सम्झौता गरेर व्यवस्थापन गरिरहेको बताए । नगरपालिका एक्लैको प्रयासले मात्र यो काम सम्भव नहुने भएकाले अन्य निकायसँग पनि सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

केही समय अगाडि प्रदेशभित्रका विभिन्न स्थानीय तहमा रहेका छाडा चौपायालाई एकीकृत गरेर व्यवस्थापन गर्ने योजना लुम्बिनी प्रदेश सरकारले अगाडि बढाए पनि ठोस प्रगति हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले २ सय चौपाया राख्ने मिल्ने कान्जी हाउस सञ्चालन गरेको छ । नेपालगन्जमा गाईगोरुका अतिरिक्त सडकमा छाडा छोडिएका घोडा व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ ।

pashu (2)

यहाँ समान बोक्न र यात्राको लागि पहाडी जिल्लाबाट घोडा ल्याउने गरिन्छ । तिनको उचित व्यवस्थापन नहुँदा बेलाबेला सडक र बजार नै अस्तव्यस्त हुने गरेको छ । उपमहानगरले कान्जी हाउसबाहेक राप्ती गाउँपालिकामा रहेको जङ्गलमा लगेर चौपायालाई राख्ने काम गरेको नेपालगन्ज महानगरका प्रवक्ता प्रमोद रिजालले बताए । सो गाउँपालिकाले जङ्गलमा राखिएका चौपायालाई हेर्नका लागि हेरालुको व्यवस्थासमेत गरेको उनको भनाइ छ ।

दाङको घोराही उपमहानगरपालिले पनि एउटा कान्जी हाउस निर्माण गरेर छाडा चौपाया व्यवस्थापनको काम गरेको छ । त्यहाँ करिव २ सय गाईबस्तु राख्ने क्षमता छ । घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले बजारमा गाईबस्तुले हैरान पारेका समाचार आउन थालेपछि गोठ निर्माण गरेर घाँस, पराल र हेरालुको समेत व्यवस्था गरेको बताए ।

pashu (3)

तुलसीपुर नगरपालिकाले पनि छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले तुलसी गौशाला, गौ माता रक्षा गौशालाको व्यवस्था गरी छाडा चौपायालाई राख्ने गरिएको जानकारी दिए ।

बुटवलमा भने शुक्रबार (आज)देखि छाडा गाईगोरु नियन्त्रणमा लिएर बुटवल–७ मा रहेको गौशालामा व्यवस्थापन गर्ने तयारी भइरहेको बुटवलमा मेयर खेलराज पाण्डेयले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप