शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
हिउँदे वर्षा

बेमौसमी वर्षाले किसानलाई आहत कि राहत ?

शुक्रबार, ०९ चैत २०८०, १९ : २९
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । नेपालमा पछिल्लो तीन महिनामा ३३ मिलीलिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा पर्ने पानीलाई सामान्यतया ‘बेमौसमी वर्षा’ भनिन्छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले हालै देशका विभिन्न भागमा हिउँदे वर्षा भएको बताए । उनले भने, ‘डिसेम्बर, जनवरी, फेब्रुअरी गरी तीन महिनामा ३३ मिलीलिटर पानी परेको हो । गत फेब्रुअरी १÷२ तिर हल्का वर्षा भएको थियो । सो समयमा ८ मिलीलिटर पानी परेको थियो । त्यसपछि पानी पर्न सकेको थिएन ।’

मौसमविद् झाका अनुसार लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा भएको थियो । हालै पानी परेपछि किसानलाई केही राहत हुने उनको भनाइ छ ।

नेपालमा अहिले गहुँ बालीको सिजन छ । गहुँ बालीको उत्पादन लिने समय १ देखि २ हप्ता बाँकी रहेकाले सो बालीमा हालको वर्षाले खासै असर नपुर्‍याउने विशेषज्ञ दिपक पाण्डेले बताए ।

‘पहाडी क्षेत्रमा परेको पानीले खासै असर गर्दैन । गहुँ बालीमा, भारी वर्षा र हावा पानी परेको छैन । यसले खासै असर पार्दैन,’ उनले भने, ‘केही मात्रामा वर्षा भएको छ, अझै गहुँ काट्न १ देखि २ हप्ता बाँकी छ । त्यसकारण अहिलेको वर्षाले खासै असर पारेको छैन ।’ तर अगौटे जातको गहुँको उत्पादन लिने समय भएकाले त्यसमा भने केही असर पुग्ने उनले बताए ।

नेपालमा हाल मध्यपहाडी क्षेत्रमा मकै बाली लगाउने समय भएकाले हिउँदे वर्षाले किसानलाई राहत हुने कृषि वैज्ञानिक राम बहादुर केसीले सुनाए ।

‘नेपालको मध्य पहाडी क्षेत्रमा मकै रोप्ने समय छ,’ केसीले भने, ‘मकै बालीका लागि हाल परेको पानी एकदमै राम्रो हो, तर तराई भेगमा मुसुरोको उत्पादन लिने समय भएकाले केही असर पर्ने देखिन्छ ।’

मौसमसँग सम्बन्धित जानकारी राखेर खेती गर्न विज्ञ केसीको सुझाव छ । बाली रोपाइँ गर्दा र उत्पादन लिने समयमा मौसम हेरेर किसानले खेतबारीको काम गर्नुपर्ने केसीले सुझाए ।

‘किसान चलाख हुनुपर्‍यो,’ उनले भने, ‘मौसम पूर्वानुमान हेरेर मात्रै खेतको काम गर्नुपर्‍यो ।’

नेपालमा कति हुन्छ मकै, गहुँ र मसुरो खेती ?

नेपालमा हिउँदे सिजनमा विशेषतः मकै, गहुँ र मसुरो खेती गरिँदै आएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा वार्षिक रूपमा ९ लाख हेक्टर क्षेत्रफलमा २९ लाख मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ ।

नेपालको पश्चिम तराई र पहाडका जिल्लाहरूमा गहुँ खेती धेरै गरिन्छ । देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती गरिन्छ । सोबाट बर्सेनि करिब २१ लाख मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन हुन्छ ।

यस्तै, नेपालमा हिउँद सिजनमा मसुरो खेती पनि गरिन्छ । नेपालमा वार्षिक रूपमा करिब २ लाख हेक्टर क्षेत्रफलमा मसुरो खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा मसुरो खेती भएको थियो । सो क्षेत्रफलबाट करिब २ लाख ५२ हजार मेट्रिक टन मसुरो उत्पादन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप