सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य अवस्था नाजुक भएकाले महरालाई हाजिर जमानीमा छाडिएको हो : गृहमन्त्री लामिछाने

शनिबार, १० चैत २०८०, १९ : १७
शनिबार, १० चैत २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडेको बताएका छन् ।  सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिए ।

बिरामी भएर ८/१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिर जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे ।

‘कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरु छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन् । ८/१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि विरामी हुनुभएको कुरालाई इंगित गरेको छ’ गृहमन्त्री लामिछानेले भने, ‘कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनु भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी मान्छेलाई कसैको हाजिर जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ ।’ 

उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै आफूले राजीनामा दिने बताए । तर एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।

उनले नेपाली कांग्रेसले नैतिकताको कुरा आफूमाथि देखाए पनि तत्काल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पदमा नै बहाल रहेर अख्तियारमा बयान दिँदा पनि सरकारबाट फिर्ता नबोलाएको भन्दै आक्रोश व्यक्त गरे । उपप्रधानमन्त्री लामिछानेले नेपाली काँग्रेसले आफ्नो कुरा सुन्ने धैर्यता समेत नराखेको भन्दै आक्रोश व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप