बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

आइतबार, ११ चैत २०८०, १५ : ४२
आइतबार, ११ चैत २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।  

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । 

सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने सङ्कल्प पनि पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । त्यसैगरी एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको विरोध पनि गरेको छ ।

उपमहासचिव ज्ञवालीले भने, ‘यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरेका छौँ । नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भइसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ । हाम्रो पार्टी यो सरकारलाई र सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र संवर्द्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ । सरकारले पनि त्यही हिसाबले आफ्ना कामहरूलाई अझ बढी चुस्त, अझ बढी समस्या केन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस् भनेर हामीले शुभकामना पनि दिएका छौँ । यस बाहेक बैठकले अस्ति मात्रै मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमला, जसमा १३० जनाभन्दा बढी निर्दोष नागरिकहरूको ज्यान गएको छ । त्यसको निन्दा र भर्त्सना गरेको छ । हाम्रो पार्टी सबै खालका आतंकवादी क्रियाकलापहरू, जुनसुकै आवरण, जुनसुकै नाम वा जुनसुकै रूपमा भएका आतंकवादी हमलाको विरोधमा सदैव उभिँदै आएको छ । र, हामीले त्यसको निन्दा र भर्त्सना गरेका छौँ ।’

एमालेले होली पर्वको अवसर पारेर सबै नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप