शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नाबालिग समलिङ्गी जोडीमाथि कुटपिट, प्रहरी र मानव अधिकार आयोगमा उजुरी

सोमबार, १२ चैत २०८०, १७ : २१
सोमबार, १२ चैत २०८०

काठमाडौँ । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिगमाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिगलाई सुरक्षा प्रदान गर्न माग गरेका हुन्। 

सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिगको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए। नाबालिगमाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पन्तले माग गरेका छन्। 

‘१७ र १६ वर्षका नाबालिगलाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो,’पन्तले भने,‘सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा हुँदा समेत छानबिन गरी दोषीलाई कानुनी कारबाही नगर्नु लज्जास्पद छ।’

हिंसामा परेका नाबालिगको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भइरहेको छ। ‘एकातिर उमेर नपुगेका नाबालिग अर्कोतिर परिवारले कुटपिट गरेको घटना व्यक्तिको अनुमति बिना अतिरञ्जित गरेर सार्वजनिक हुँदा थप चिन्ता थपिएको छ,’मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले भने,‘हामी नेपाल सरकार, गृह प्रशासन, मानव अधिकार आयोग, स्थानीय जनप्रतिनिधि सबैलाई नाबालिगलाई सुरक्षा प्रदान गर्न हार्दिक अपिल गर्दछौ।’

मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु)ले समलिङ्गी नाबालिगहरुमाथि भएको लैङ्गिक हिंसा तत्काल अन्त्य हुनु पर्ने माग गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप