शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्कीको अधिवेशनमा चुनावी प्रक्रिया सुरु

९२९ प्रतिनिधि, ६८० जना उम्मेदवारको आकाङ्क्षी
सोमबार, १२ चैत २०८०, २१ : ३७
सोमबार, १२ चैत २०८०

पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन पोखरामा जारी छ । उद्घाटन सत्र र बन्दसत्रपछि चुनावी प्रक्रिया सोमबार साँझदेखि सुरु भएको छ । 

बन्दसत्रमा राजनीतिक, सांगठनीक र आर्थिक प्रतिवेदन छलफलपछि पारित भएको छ । सोमबार साँझदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत ६८० जनाले मनोनयन फाराम लिएका संयोजक भगवती पहारीले जानकारी दिइन् ।

उनका अनुसार मनोनयन पत्र वितरण सकिएको छ । मंगलबार बिहान साढे ७ देखि साढे ८ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एमाले कास्कीको अधिवेशनका लागि विभिन्न क्लष्टरबाट ९२९ जना प्रतिनिधि छानिएका छन् । उनीहरूकै मतदानबाट नयाँ कमिटी निर्वाचित हुनेछन् ।  

 ‘निःशुल्क गरेको भए सबैले फाराम लैजाने रहेछन् जस्तो भयो । यसरी मनोनयन पत्र जाला भन्ने सोचेका थिएनौँ,’ पहारीले भनिन्, ‘अब फाराम लगेकामध्ये कतिले मनोनयन दर्ता गर्छन् थाहा छैन । सबैले दर्ता गर्ने अधिकार पनि छ ।’

मनोनयन दर्ता गर्न ५ सय रुपैयाँ लाग्ने उनको भनाई छ । ‘सबै पदमा समान शुल्क हो । पदाधिकारी र सदस्यको छुट्टाछुट्टै शुल्क छैन,’ उनी भन्छिन्, ‘तर मनोनयन दर्ता अघि सङ्गठन विभागको स्वीकृति लिनुपर्छ । उताबाट एप्रुभ भएको फारामलाई मात्रै हामी लिन्छौँ ।’ साढे १ बजेदेखि मतदानको कार्यतालिका तोकिएको छ । कास्कीको नेतृत्व लिन विभिन्न प्यानल उम्मेद्वार पर्ने देखिएको छ । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी निकटको छुट्टाछुट्टै प्यानल हुनेछ ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि अत्यधिक हुने अनुमान गरिएको छ । कास्कीमा पनि गुटगत राजनीति झाँगिएको छ । प्रतिनिधि छनोटको समयमा नै दुई गुटले आफ्नो बलमिच्याईं गरेका छन् । दुवै टिम उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक छलफल गरिरहेको छ । २ वर्षे कार्यकालका लागि निर्वाचन हुन लागेको हो । यद्यपि नेताहरूले सर्वसम्मत नेतृत्व छान्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । जिल्ला इन्चार्ज थममाया थापाको संयोजकत्वमा १४ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।

समितिमा जगत विश्वकर्मा, कृष्ण थापा, मन्जुदेवी गुरुङ, भीम कार्की, राजीव पहारी, विद्या भट्टराई, बालसिंह काउचा मगर, सीता गिरी वली, चुडामणी जंगली, देवी सुवेदी, नवराज शर्मा, मनबहादुर गुरुङ र मीनाकुमारी गुरुङ सदस्य छन् । उनीहरुले सर्वसम्मत गर्न प्रयास गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप