सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

गण्डकीमा कर्णाली प्रकरण निम्तिने जोखिम, बाबुरामका सांसदले फ्लोर क्रस गर्ने गठबन्धनमा त्रास

मङ्गलबार, १३ चैत २०८०, १७ : ५०
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने समय नजिकिँदै गर्दा कर्णाली प्रकरण निम्तने जोखिम बढेको छ । गण्डकी प्रदेशमा १ सिट रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले पाण्डेको पक्षमा फ्लोर क्रम गर्ने चर्चापछि माओवादी केन्द्र र सत्ता गठबन्धनमा  तरङ्ग उत्पन्न भएको छ । 

नेसपाका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए । जसका कारण नेसपाका उनलाई माओवादीको ह्वीप लाग्ने भएपनि देवकोटाले फ्लोर क्रस गरेर प्रदेशसभामा कांग्रेसलाई सघाउनेबारे छलफल अघि बढेको नेताहरुले बताएका छन् । 

संघमा एमाले–माओवादीको नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री पाण्डेले फागुन २३ गते माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । मन्त्रीहरू बर्खास्तीमा परेपछि सोही दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री पाण्डेले चैत ५ गते स्वतन्त्र सदस्य राजीव गुरुङलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे । गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले हालै एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका थिए । गुरुङलाई मन्त्री बनाए पनि पाण्डे नेतृत्वको सरकार जोगिने स्थिति छैन । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ ।

राप्रपा र स्वतन्त्र सदस्य गुरुङले विश्वासको मत दिँदासमेत बहुमत नपुग्ने स्थिति देखिएपछि मुख्यमन्त्री पाण्डेको नजर देवकोटामा परेको छ । गत वर्ष मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्र र नेसपाबीच भएको चुनावी तालमेलअनुसार देवकोटा माओवादीको चुनाव चिह्न लिएर गोरखा २(१)बाट निर्वाचित भएका हुन् । तर नेसपा अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि पार्टी विभाजित अवस्थामा छ ।  त्यसकै असर गण्डकीमा पनि पर्ने भएको बताइएको छ । 

चैत ५ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले महिन्द्र पक्षका नेताहरूलाई पदमुक्त गरिसकेका छन् । प्रतिनिधिसभामा दुई, प्रदेश सभामा दुई गरी चार सिट जितेकामध्ये देवकोटा मात्र बाबुराम पक्षसँग खुलेका छन् । विश्वासको मत पाउनका लागि पाण्डेले देवकोटाका साथै भट्टराईसँग निरन्तर छलफल गरिरहेका छन् । 

संयोग नै मान्नुपर्छ प्रधानमन्त्री निवास बालुवाटारमा चैत ३ गते महिन्द्र पक्षधर र माओवादी केन्द्रबिच सहमति पत्रमा हस्ताक्षर हुँदा बाबुराम गृहजिल्ला गोरखामा थिए । त्यतिबेला उनी आफै पढेको स्कुल अमर ज्योति जनता माध्यमिक विद्यालयको पूर्वविद्यार्थीहरूको भेलामा थिए । मुख्यमन्त्री पाण्डे प्रमुख अतिथि थिए । स्रोतका अनुसार आफूलाई बाइपास गरेर बालुवाटारमा ४ बुँदे सहमति भएको जानकारी पाएपछि रिसाएका बाबुरामले गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई सहयोग गर्ने वचन दिएका थिए । 

‘त्यतिबेला गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र बाबुराम भट्टराई आफू अध्ययन गरेको स्कुलको कार्यक्रममा हुनुहुन्थ्यो । बालुवाटारमा वक्तव्य जारी भएपछि उहाँले सुरेन्द्रजी तपाईँ अगाडि बढ्नोस् मेरो साथ तपाईँलाई हुन्छ भनेर भन्नुभएको हो’, स्रोतको दाबी छ । यस्तै देवकोटाले पनि सो भेटमा दुई नेताबिच कुराकानी भएको पुष्टि गरे । यद्यपि कुराकानीको थप विषय उनले खुलाउन चाहेनन् ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले समेत पाण्डे सरकार जोगाउनका लागि बाबुरामसँग कुराकानी विभिन्न चरणमा भइसकेको स्वीकारेको छ । केही समयअघि मात्रै भट्टराईले नेसपालाई छुट्टै  दलको मान्यता दिन संसद सचिवालयमा निवेदन दिएका थिए । 

तर माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टीको ह्वीप मान्न देवकोटा बाध्य हुने बताए । उनले पार्टीको निर्णय दायाँबायाँ गर्ने छुट कसैलाई नभएको बताउँदै पार्टीको हित विपरीत जाने विषय कल्पना भन्दा बाहिरको भएको बताए ।

गण्डकीको अंकगणित हेर्दा एमाले–माओवादी गठबन्धन र कांग्रेस दुवै पक्षमा स्पष्ट बहुमत पुग्दैन । प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र १ सांसद छन् । कांग्रेसको २७ र स्वतन्त्र गरी सत्तापक्षसँग कुल २८ मत रहेको छ । मुख्यमन्त्री पाण्डेलाई राप्रपा र स्वतन्त्र सदस्यले मत दिए पनि जम्मा ३० मत मात्र हुनेछ । त्यस कारण उसले देवकोटालाई तान्ने नीति बनाएको हो । 

विपक्षी गठबन्धनमा एमालेको २२, माओवादी केन्द्रको सभामुखबाहेक ७ गरी कुल २९ मत रहेको छ । देवकोटाले नै मत दिए पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन राप्रपाको मत आवश्यक पर्छ । 

फ्लोर क्रसबारे के भन्छन् देवकोटा ?

यसैबिच देवकोटाले प्रदेश सभा विघटन हुने स्थिति आएमा पार्टीको निर्णय आफूले मान्ने रातोपाटीलाई बताए ।

‘हाम्रो अहिलेसम्म औचपारिक निर्णय भएको छैन । त्यो प्रक्रियामा हामी पुगेको छैन । गण्डकी प्रदेशको प्रक्रिया त्यो स्थितिमा जाँदैन । यद्यपि मेरो कारणले प्रदेशसभा मध्यावधिमा जानबाट जोगाउनुपर्ने भयो भने त्यतिबेला सोचौंला’, देवकोटाले भने ।

उनले पार्टीमाथि जुन आक्रमण भयो, त्यसले आफूहरूलाई पीडा भएको भने स्वीकार गरे । राजनीनितक दलसम्बन्धी ऐनले दुई वा दुईभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिन्ह लिएर उठ्न पाउने लेखिएको भएपनि एउटै पार्टी भएको भन्न नमिल्ने उनको तर्क छ ।

 कुनै निर्णय गर्दा आफू स्वतन्त्र हुने जिकिर गर्दै उनले आफूलाई माओवादीले कारबाही गर्न नसक्ने बताए। कानुनको दुरुपयोग गरेर माओवादीले पार्टीलाई हाई ज्याक गरेको उनको आरोप छ । अघिल्लो प्रदेशसभामा कर्णालीमा एमालेका केही सांसदले फ्लोर क्रस गर्दा तत्कालीन महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप