आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ई–७ भिसालाई ईपीएस प्रणालीबाटै लैजाने श्रम मन्त्रीको कोरियासँग आग्रह

मङ्गलबार, १३ चैत २०८०, २० : ०१
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) लाई व्यवस्थित गरेर थप कामदार लैजाने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई–योङसँगको भेटमा ईपीएसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको हो ।

मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटको क्रममा नेपाल र दक्षिण कोरियाबिच विद्यमान श्रमिक आदानप्रदानलाई अझ बढी व्यवस्थित, छरितो र पारदर्शी बनाई थप सुधार गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

इपिएस प्रणालीलाई थप व्यवस्थित गराई बढीभन्दा बढी नेपाली कामदार दक्षिण कोरिया लैजानेबारे छलफल भएको हो । कोरियाबाट फर्किएर पुनः परीक्षामा सहभागी भई रोस्टरमा रहेकालाई प्राथमिकतामा राखी रोजगारीमा लैजाने व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका थिए ।

कोरियामा नेपाली कामदार लैजाने प्रणाली सबै मुलुकको हकमा समान रहेको, मागको तुलनामा आपूर्ति पक्ष धेरै हुँदा व्यवस्थापनमा केही कठिनाइ परेको र दुवै पक्षबाट विद्यमान प्रणालीको समीक्षा गर्दै थप सुधारका क्षेत्र पहिचान गरेर अगाडि बढ्न कोरिया सरकार तयार रहेको राजदूत योङले बताएका थिए ।

इपिएस अन्तर्गत नेपालमा कार्यरत मानव संशोधन कोरियामा संलग्न कोरियाली कर्मचारीलाई उचित र सहज कार्य वातावरण सिर्जना गर्न राजदूत योङले आग्रह गरेका थिए । उनीहरूलाई उच्च मनोबलका साथ काम गर्ने अवस्था बनाइराख्न नेपाल सरकारको सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

जवाफमा मन्त्री अर्यालले उचित कार्य वातावरण बनाउने र सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने विश्वास दिलाएका थिए ।

हालै ई–७ भिसा प्रणालीबाट नेपाली कामदार दक्षिण कोरिया पठाउने सम्बन्धमा मन्त्रालयबाट भएका निर्णय एवम् सञ्चारका माध्यममा आएका विषयहरूप्रति राजदूतले चासो समेत राखेका थिए ।

मन्त्री अर्याले उक्त विषयमा अध्ययन तथा छलफल गरिरहेको भन्दै आफ्नो प्राथमिकता नेपाली कामदारको अधिक हित र सुरक्षा रहेको बताएका थिए । मन्त्री अर्यालले ईपीएस  प्रणालीबाटै ई–७ भिसा प्रणालीलाई पनि आबद्ध गराउने विषयमा मन्त्री अर्यालले जिज्ञासा राखेका थिए । जवाफमा राजदूतले ई–७ लाई ईपीएस प्रणालीलाई आबद्ध गराउन समय लाग्ने बताउँदै जुनसुकै प्रणालीबाट आफ्नो देशमा कामदार पठाउँदा पनि नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेमा आफूहरू सचेत रहेको बताएका थिए ।

मन्त्री अर्यालले दक्षिण कोरिया भ्रमणमा जाने नेपालीहरूको भिसा प्रक्रिया सरलीकरण गरिदिन समेत अनुरोध गरेका थिए ।

भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विभिन्न पक्षका बारेमा समेत छलफल भएको थियो । दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतका सहकार्यहरूको पुनः स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सम्बन्धमा विचार आदानप्रदान समेत भएको प्रवक्ता रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप