सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो ओलम्पियन पुनर्मिलन इटहरीमा, पहिलो पटक विदेशी ओलम्पियनहरु पनि सहभागी हुने

बुधबार, १४ चैत २०८०, २० : ३८
बुधबार, १४ चैत २०८०

काठमाडौँ । तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलिबे्रटी मिट-२०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा आयोजना हुने भएको छ । त्यसका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्यसचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार, प्रदेश खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्नेछ । कार्यक्रम २०८१ साल वैशाख २० गते आयोजना हुनेछ ।

कार्यक्रमको पहिलो संस्करण काठमाडौँ र दोस्रो संस्करण गत वर्ष पोखरामा आयोजना भएको थियो । ओलम्पियन्स संघको नेतृत्वमा दीपक विष्ट आएपछि यो कार्यक्रमको सुरुआत गरिएको हो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको जानकारी अध्यक्ष विष्टले दिए । 

विष्टका अनुसार, यस पटकको कार्यक्रमको नयाँ पक्ष भनेको विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहने छ । कार्यक्रमका दिन बिहान वाकाथन हुनेछ । 

वाकाथनमा कोशी प्रदेशमा रहेका खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहने बताइएको छ । वाकाथनपछि त्यसै दिन भब्य समारोहबिच सन् १९८८ को सोल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिने छ । 

सन् १९८८ को सोल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए । लामा पनि अमेरिकाबाट नेपाल आउने अध्यक्ष विष्टले जानकारी दिए ।

ओलम्पियन्स संघले विगतका दुई संस्करणमा सन् १९६४ देखि सन् १९८४ सम्म भएका विभिन्न पाँच संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशमा ओलम्यिनहरुको पुनर्मिलन कार्यक्रम हुनु खुसीको कुरा भएको बताउँदै आफूहरू ओलम्पियनहरुलाई स्वागत गर्न आतुर रहेको बताए ।

सदस्यसचिव वाग्लेले ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रमले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिने बताउँदै प्रदेशको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप