सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सडकको बिजोग

बेहाल कर्णाली राजमार्ग, टालटुलका लागि पनि छैन बजेट

शनिबार, १७ चैत २०८०, ०६ : १४
शनिबार, १७ चैत २०८०

सुर्खेत । कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ उपनामले पनि चिनिन्छ । साँघुरो र ठाउँ–ठाउँमा उप्किएको कालोपत्रले यो राजमार्गमा दुर्घटनाको जोखिम बढाइरहेको छ । तर पनि राज्यले यो सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन सकेको छैन ।

टालटुलका लागि फाट्टफुट्ट बजेट आउने गरे पनि स्तरोन्नतिका लागि बजेट आउन सकेको छैन । जसले गर्दा सवारी दुर्घटनाको जोखिम कायम छ । यो राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड बेहाल अवस्थामा छ । पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ ।

‘म जहिलेदेखि यो सडकमा गाडी चलाउन थालेँ, सडकको अवस्था जस्ताको तस्तै छ,’ सुर्खेतदेखि दैलेखको मटेला जाँदै गरेको हाइसका चालक महेन्द्र शाही भन्छन्, ‘जीर्ण सडक हुँदा एकातिर गाडी निकै हल्लिन्छ भने अर्कोतिर यात्रुहरू डराउने गर्दछन् । तर के गर्ने ? गाडी चलाउनै पर्ने, यात्रुलाई बोक्नैपर्ने बाध्यता छ ।’

चालक शाहीका अनुसार यात्रा गर्दा असहज त छँदैछ, अर्कातिर गाडीका पुर्जासमेत छिटो बिग्रिने हुन्छ । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने यो राजमार्गको नियतिजस्तै छ ।

यात्रुहरू यो सडकमा यात्रा गर्दा आफ्ना देवतालाई भाकल गरेर निस्कने गरेको दैलेख, राकम कर्णालीका रमेशजंग थापा बताउँछन् । ‘गाडी चढ्नुपूर्व आफ्ना कुल देवतालाई सम्झेर कैयौँ पटक यात्रा गरेको छु,’ उनले रातोपाटीसँग भने, ‘कर्णाली राजमार्गको थप विकासका लागि राज्यले किन ध्यान नदिरहेको होला ?’

सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षका कुनै बजेट छैन । सडक स्तरोन्नति चाँडो नभए सडकको अवस्था झन् बिग्रिँदै जाने देखिन्छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बाङ्गेसिमलदेखि दैलेखको दहीखोलासम्मको १३२ किलोमिटर खण्डलाई हेर्छ भने त्यहाँभन्दा माथि जुम्ला सम्मको १०४ किलोमिटर खण्ड सडक डिभिजन जुम्लाले हेर्दै आएको छ । अहिले सबैभन्दा बिग्रिएको भाग भनेको बाङ्गेसिमलदेखि दहीखोलाको बिचभाग डुङ्गेश्वर–पालेतडासम्मको ३० किलोमिटरभन्दा बढी हो । थापा भन्छन्, ‘उक्त क्षेत्रमा गाडी यसरी हल्लिन्छ कि गाडी खस्नै लागेजस्तो । यात्रुहरू चिच्याइ–चिच्याइ यात्रा गर्दछन् ।’

सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षका कुनै बजेट छैन । सडक स्तरोन्नति चाँडो नभए सडकको अवस्था झन् बिग्रिँदै जाने देखिन्छ ।

सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर टोप नारायण पौडेलले रातोपाटीसँग भने, ‘हामीले गर्ने भनेको मेन्टेनेन्सको काममात्र हो । एक पटक कालोपत्रे भइसकेको सडक भएकाले स्तरोन्नति भन्ने हुँदैन । तर, यो पटक उक्त खण्डका लागि बजेट छैन ।’

बजेट आएपछि कालोपत्रेका लागि ठेक्का आह्वान गर्ने उनले बताए । तर, यो सडकखण्डको पुरानो कालोपत्रे पूर्ण रूपमा भत्किसकेकाले नयाँ कालोपत्रे गर्नुपर्ने देखिन्छ । तथापि सरकारले कर्णाली राजमार्ग कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्ने गरेको छैन ।

कर्णाली राजमार्ग ०६३ सालदेखि सञ्चालनमा आएको हो । वर्षौँदेखि यातायातबाट विमुख कर्णालीका जनताले सडक सञ्चालनमा आएपछि गौरव महसुस गरे पनि बर्सेनि हुने सडक दुर्घटनाले गर्दा त्रास र निराशा बढाएको छ ।

त्यसभन्दा माथि दहिखोलासम्मको भाग पनि बिचबिचमा जीर्ण छ । पौडेलका अनुसार चालु आर्थिक वर्षमा उक्त राजमार्गका लागि जम्मा ६ करोड बजेटमात्रै थियो ।

एक पटक पूर्ण रूपमा कालोपत्रे भइसकेको उक्त सडक बिग्रे–भत्केको ठाउँमा सडक डिभिजिनले टालटुल गर्ने काम गर्दै आएको छ । पछिल्लो समय त टालटुलका लागि समेत आवश्यक बजेट आउँदैन । चालु आर्थिक वर्षमा केन्द्र सरकारले अन्य सडकलाई बजेट विनियोजन गरे पनि कर्णाली राजमार्गका लागि भनेर बजेट वक्तव्यमा कुनै सम्बोधन गरिएको छैन ।

पौडेलका अनुसार बड्डीचौर–तल्लो डुङ्गेश्वरसम्म ७ किलोमिटरमा रिसिभिङको काम भइरहेको छ । तीनपाते निर्माण सेवाले करिब १० करोड ४५ लाखको (त्यो पनि आधा रकम रत्न राजमार्गको भाग र आधा उक्त खण्ड) काम गरिरहेको छ । पुरानो ठेक्काकै दायित्व बाँकी रहेकाले नयाँ ठेक्का लगाउन नसकिएको सडक डिभिजनले जनाएको छ । जुम्ला खण्डमा भने डबल कटिङ, कालोपत्रेको काम धमाधम भइरहेको छ ।

कर्णाली राजमार्ग ०६३ सालदेखि सञ्चालनमा आएको हो । वर्षौँदेखि यातायातबाट विमुख कर्णालीका जनताले सडक सञ्चालनमा आएपछि गौरव महसुस गरे पनि बर्सेनि हुने सडक दुर्घटनाले गर्दा त्रास र निराशा बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप