बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आज एकातिर शेरबहादुरजी, अर्कोतिर केपीजी राखेर बस्दैछौँ : प्रधानमन्त्री

शनिबार, १७ चैत २०८०, १७ : ३६
शनिबार, १७ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताएका छन् । शनिबार रिपोर्टस क्लबको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याइ सहमतिकै आधारमा काम गरिरहेको जिकिर गरे । 

उनले नेपाललाई अहिले सुशासन र समृद्धि आवश्यक रहेको भन्दै मुलुकमा अहिले राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताए । उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा छलफल गर्न लागेको पनि बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन एकातिर केपी ओली, अर्कोतिर शेरबहादुर देउवा राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै आज अहिले एकातिर शेरबहादुर जी र अर्कोतिर केपी ओलीजी बस्दैछौँ । हामी अहिलेको शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल गर्दैछौँ । मेरो कोसिस सकेसम्म सबै राजनीतिक दल सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो । हुन त नेपाली काँग्रेससँग नजिक हुँदा र कहिले नेकपा एमालेसँग नजिक हुँदा नेता साथीहरूलाई नमिठो लागेकै छ । हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ । हामीलाई यति बेला चाहिएको भनेको सुशासन र समृद्धि हो । हामीले त्यसको निम्ति राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्छ, नेपाल र नेपालीले ।’

उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्ने गरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए । “सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।” 

सूचना–प्रविधिभन्दा बाहिर रहेर मानव अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा विश्व आइपुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको उल्लेख गरे ।  “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सूचना–प्रविधिका कारण हाम्रो राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्त्वलाई हामी सबैले आत्मसात् गर्नैपर्छ ।”

उनले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको बताए ।  प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको राष्ट्रिय अभियान नै थाल्नुपर्ने बेलामा मुलुकलाई पछाडि फर्काउने या यथास्थितिमै राख्ने या कुनै पनि कोणको अतिवादलाई प्रश्रय दिने गतिविधिलाई अब कसैले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप