सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशमले रञ्जितामाथि प्रश्न उठाएपछि नाउपाको बैठकमा लफडा

सोमबार, १९ चैत २०८०, १४ : ०८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । सरकारको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सोमबार राजधानीमा बोलाएको बैठकमा तनावको अवस्था निम्तिएको छ । विवाद र हात हालाहालका बिच पनि बैठक जारी नै रहेको छ । 

बैठकमा सहभागी एक नेताका अनुसार नाउपाका संरक्षक रेशम चौधरीले कसैको उक्साहटमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । चौधरीको उक्त भनाइलाई उनका बुवा लालवीर चौधरीले पनि साथ दिएका थिए ।

टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको ती नेताको भनाइ छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका एक नेताले भने, ‘रेशमजी र उहाँका बुवाले अध्यक्ष रञ्जितामाथि आरोप लगाउन थालेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो, त्यसपछि दीप तामाङ र राजन गुरुङले झम्टिएर रमेश विक र रामलाल डगौरामाथि हातपात गर्नुभयो ।’

दीप तामाङ नाउपा बागमती प्रदेशका प्रमुख हुन् भने राजन गुरुङ केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेशका नेता हुन् । उनीहरू रेशम चौधरी पक्षका नेता हुन् । रञ्जिता पक्षका रामलाल डगौरा टिकापुर नगरपालिकाका मेयर हुन् भने रमेश विक रञ्जिता श्रेष्ठका स्वकीय सचिव हुन् ।

रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको पक्षमा छिन् भने रेशम चौधरी विपक्षमा । सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्री फिर्ता बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट पत्र पठाएकी छन् । 

‘तिमी केन्द्रीय सत्ता गठबन्धनमा छौ भने यहीको राजनीति गर प्रदेशको राजनीतिमा हात नहाल, केन्द्रको गठबन्धनले प्रदेशको सरकार चल्दैन । त्यहाँ प्रदेशको आफ्नै गठबन्धन छ, रेशम चौधरीले रञ्जितालाई चेतावनी दिँदै भनेको कुरालाई उद्धृत गर्दै एक नेताले भने, ‘केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न मिल्दैन भन्ने भनाइ रेशम चौधरीको थियो । रञ्जिताले भने पार्टी जहाँको भए पनि एउटै विधान र पद्धतिबाट चल्ने बताएपछि भनभन भएको थियो ।’

 संगठन विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले यस्तै लफडा हुन्छ भन्ने थाहा पाएर आफू बैठकमा नगएको बताए । उनले आफू अहिले कैलालीमा रहेको बताउँदै अध्यक्ष श्रेष्ठको हस्तक्षेपकारी भूमिकाका कारण यो विवाद उत्पन्न भएको आरोप लगाए । पार्टी नीति र सिद्धान्तमा चल्नुपर्ने भन्दै उनले घरायसी झगडामा पार्टी गयो भने जनताको भरोसा टुट्ने बताए ।

प्रवक्ता दामोदर पण्डितले पार्टीको बैठक जारी रहेको भन्दै कुनै प्रतिक्रिया दिन मानेनन् । सांसद लालवीर चौधरीले पनि बैठक जारी रहेको बैठक सकिएपछि मात्र थप कुरा गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप