आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले बोलाए पदाधिकारी बैठक

सोमबार, १९ चैत २०८०, १४ : ५२
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गर्न आफ्नो निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

आगामी वैशाख १५ मा हुने इलाम— २ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । उम्मेदवारको टुङ्गो लगाउन कांग्रेसले मंगलबार कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । कार्यसम्पादन समितिको बैठकअघि पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल हुन लागेको हो ।

छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम—२ को उम्मेदवारका सन्दर्भमा रिपोर्ट राख्ने छन् । कांग्रेसले महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेलाई इलाम—२ को अध्ययन गर्न जिम्मेवारी दिएको थियो । निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।

टिकटका लागि मुख्य प्रतिस्पर्धा खड्का र आचार्यबिच देखिन्छ । सभापति देउवा खड्कालाई टिकट दिने मुडमा छन् भने नेता शेखर कोइरालाले आचार्यका लागि लबिङ गरिरहेका छन् । कांग्रेसका मातहत कमिटीले बझाङ प्रदेशसभा (१)का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी,  विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ । बझाङ प्रदेशसभा १ मा जगत जोशी र अभिषेक सिंहबिच टिकटका लागि हानथाप छ । जोशी कांग्रेसका पुराना नेता हुन् भने सिंह  यसअघि निर्वाचित स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप