मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नाउपा नेताको आरोप, ‘सुदूर सरकार ढल्यो भने रेशम चौधरीले चार जनाको हत्या हुन्छ भनेका छन्’

‘कार्यालयको सबै ढोकाहरू थुनेर कुटपिट गरियो’
सोमबार, १९ चैत २०८०, २० : २५
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्ने धम्की आएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको आरोप लगाएका हुन् । 

‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन,’ उनले भने । 

उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरू थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरू नयाँ रहेको उनले बताए । उनीहरू कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ । 

रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको उनको दाबी छ । रेशमले धम्की दिएको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रूपमा नलिएको उनले बताए । 

आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने,‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज बिहान ८ बजे मिटिङ बोलाउनुभएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यौँ । संस्थापक केन्द्रीय सदस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो । महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय सदस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रूपको ढोकाको मात्रै चुक्कुल लगाइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’ 

कसैले कुटपिट गरेको खण्डमा, केही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेशम चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण पनि गराए । 

आफूहरूले रेशमलाल चौधरीलाई संरक्षक माने पनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाई छ । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौँ भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए । 

आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरूलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ । पार्टी जन्माउनका लागि रेशमको ठुलो भूमिका रहेको स्मरण गराउँदै उनले रेशमले जे भन्यो त्यो मान्न भने आफूहरू बाध्य नरहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप