बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बागमती सरकार टिम

बागमतीमा १२ मन्त्रालय, १३ मन्त्री

यस्तो बन्यो मुख्यमन्त्री जम्कट्टेलको ‘तेस्रो टिम’
मङ्गलबार, २० चैत २०८०, १९ : ०५
मङ्गलबार, २० चैत २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रदेशमा १२ मन्त्रालय रहे १३ मन्त्री नियुक्त भएका छन् ।

मङ्गलबार मन्त्रिपरिषदमा थप ५ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार संसदबाट विश्वासको मत लिए लगत्तै नेकपा एकीकृत समाजवादी पार्टीबाट रमा आले मगरलाई मन्त्री नियुक्त गरेका थिए भने उनले सोमबार शपथ लिएकी थिइन् ।

त्यसको केही समयपछि मुख्यमन्त्री जम्कट्टेलले एमालेका ४ जनालाई मन्त्रिपरिषदमा नियुक्त गरेर प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ गराएका थिए ।

मङ्गलबार थपिएका मन्त्रीमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ छन् ।

एकीकृत समाजवादी पार्टीकी आले मगरको जिम्मेवारी तोकिएको छैन ।

यस्तो बन्यो मुख्यमन्त्री जम्कट्टेलको ‘तेस्रो टिम’

२०७९ पुस २५ गते जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । त्यस यता सत्ता साझेदार दलमा फेरबदल भएसँगै उनले तीन पटक विश्वासको मत लिएका छन् ।

पहिलो पटक एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए ।

सो समयमा उनले कुल ११० सांसदमध्ये १०५ सांसदबाट विश्वासको मत पाएका थिए । विश्वासको मत पाए लगत्तै प्रदेशमा रहेको १४ मन्त्रालय घटाएर ११ कायम गरेका उनले माघ १० मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । त्यस समयमा मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक एमालेबाट ४, माओवादी केन्द्रबाट ४ र राप्रपाबाट ३ मन्त्रीसहित ११ जनाको टिम बनाएका थिए ।

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्यो । कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनको सहयोगमा चैत १० मा मुख्यमन्त्री जम्कट्टेलले फेरि विश्वासको मत लिए । ६७ सांसदको विश्वासको मत पाएका उनले चैत २५ मा कांग्रेसलाई सरकारमा भित्र्याए भने जेठ ७ मा मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

प्रदेशको ११ मन्त्रालयमा १२ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री जम्कट्टेलको दोस्रो पटकको टिममा कांग्रेसका ६, एकीकृत समाजवादीका २, माओवादी केन्द्रका ४ जना मन्त्री थिए । एक वर्षसम्म कायम रहेको सो गठबन्धन गत फागुन २० मा भत्कियो ।

फागुन २१ मा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन बनेसँगै मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा संसदबाट तेस्रो पटक विश्वासको मत लिए । सो अवधिसम्म आइपुग्दा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारको धरातल निकै कमजोर बनेको छ । प्रदेशसभाको सामान्य बहुमतमात्र प्राप्त गरेका मुख्यमन्त्री जम्कट्टेलले सरकारमा १३ मन्त्री नियुक्त गरेका छन् ।

जसमा माओवादी केन्द्रका ४, एमालेका ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका १ मन्त्री नियुक्त भएका छन् । तेस्रो पटक विश्वासको मत लिएर सरकार सुरक्षित गरेका मुख्यमन्त्री जम्कट्टेलको टिममा २ जना नयाँ अनुहार मन्त्री बनेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलको टिममा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान छन् भने एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, केशव प्रसाद पोखरेल वन तथा वातावरण मन्त्री र प्रकाश श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री छन् ।

एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र विना विभागीय मन्त्री रमा आले मगर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप