बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा वंशको राजनीति : कांग्रेस र एमालेमा ‘छोरो उम्मेदवार’

बिहीबार, २२ चैत २०८०, १८ : ०६
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा वंशको राजनीतिलाई  प्रश्रय दिने गरी उम्मेदवार खडा गरेका छन् । इलाम— २ र बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनमा एमाले र कांग्रेसले ‘छोरा उम्मेदवार’ उठाएका हुन् । 

इलाम— २ बाट निर्वाचित एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ मा हृदयघातबाट निधन भएको थियो भने बझाङ प्रदेशसभा १ बाट निर्वाचन सुदूरपश्चिम प्रदेशका तत्कालीन कानुनमन्त्री समेत रहेका कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको  सवारी दुर्घटनामा परी असार ५ मा निधन भएको थियो । उक्त दुर्घटनामा अभिषेकले आमाबुबा नै गुमाएका थिए । 

दुर्घटनामा मन्त्रीसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको समेत निधन भयो । एमालेले इलाम— २ मा नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 

एमालेले सुहाङलाई चैत ११ मा  उम्मेदवार बनाएको थियो भने कांग्रेसले बिहीबार बझाङ प्रदेशसभा १ मा सिंहका छोरा अभिषेकलाई अगाडि सारेको छ । यसअघि सुहाङ कानुनी पेसामा थिए । यही चैत १ मा एमालेले सुहाङलाई पार्टीको कानुन विभागमा मनोनीत गरेको थियो । अभिषेक भने राजनीतिमा विगतमा पनि सक्रिय देखिन्छन् । 

नेपाली कांग्रेस बझाङको कार्य समिति सदस्य रहेका सिंहले २०५५ सालदेखि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को राजनीति थालेका थिए ।

नेविसंघपछि उनले तरुण दलमा राजनीति थाले । २०७२ मा नेपाल तरूणदल बझाङ— १ को क्षेत्रीय सभापति भएका सिंह कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका— ५ को वडाध्यक्षमा अभिषेक पराजित भएका थिए । उक्त वडामा स्वतन्त्र उम्मेदवार प्रेम थापा २७१ मत ल्याएर विजयी हुँदा अभिषेकले २०१ मत मात्र पाएका थिए । बुबाको निधनपछि अभिषेकलाई कांग्रेसले उपनिर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप