मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

किन बिदेसिन्छन् नेपाली ?

शुक्रबार, २३ चैत २०८०, १० : ५५
शुक्रबार, २३ चैत २०८०

‘पापा हजुर किन विदेश नगएको ? ठुलो भएपछि म त यहाँ बस्दिनँ है ।’ कक्षा २ मा पढ्ने मेरो छोराले एक्कासि यस्तो भन्दा म अवाक् भएँ । उमेरले ऊ आठ वर्ष पुग्दै छ । विदेश किन नगएको भन्ने बालसुलभ प्रश्न भन्दा पनि भविष्यमा विदेश जानैपर्छ भन्ने उसको बालमस्तिष्कमा उब्जेको सोचले मलाई नराम्रोसँग झस्कायो । 

जुन विचार मेरो सानो छोरामा आएको छ; यसले नेपालमै केही गरेर देखाउनुपर्छ, सन्तानको भविष्य नेपालमै खोज्नुपर्छ भनेर यौवन खर्चिरहेका मजस्ता हजारौँ बाबुलाई ठुलै झट्का दिन्छ । छोराको कुराले म निरुत्तर भएँ नै, आफ््नो स्कुले जीवन सम्झन समेत पुगेँ । कक्षा ८–१० मा पढ्दा कसैले के बन्ने भनेर सोध्दा हामी विद्यार्थीको उत्तर हुन्थ्यो— डाक्टर, पाइलट, इन्जिनियर आदि । 

तर कसैलाई थाहा थिएन— डाक्टर, पाइलट र इन्जिनियर कस्ता पेसा हुन्; पढ्न कहाँ जानुपर्छ र पढेपछिको भविष्य के हुने हो ? 

पढेर आफ््नो सन्तान ठुलो मान्छे भएको हेर्न हरेक अभिभावकले चाहन्थे उतिबेला, तर विदेश जाने कुरा गर्ने अभिभावक वा बालबालिका त्यति पाइँदैनथ्यो । आज विद्यार्थी तथा अभिभावकको चाहना, आवश्यकता, प्राथमिकता बदलिएको छ । समाजको पहिलो प्राथमिकता विदेश भएको छ । सायद मेरो छोरो पनि अहिलेको समाज बुझ्ने भइसकेछ कि ! म निकै घोत्लिएँ ।

‘मेरो देश प्राणभन्दा प्यारो छ’ भन्दै राष्ट्र, राष्ट्रियता, भाषा र स्वाभिमानको चर्काे वकालत गर्दै आफ्नो जीवनको ऊर्जावान् समय खर्चेकाहरू पनि डीभी भर्न पहिलो पङ्क्तिमा उभिएको मैले देखेको छु । 

नागरिकता र जन्मभूमि अनि देशप्रतिको दायित्वसँग सम्बन्धविच्छेद गर्न पाएकामा खुसी बाँड्न आयोजना गरिएका फेयरवेल पार्टीमा सहभागी हुँदै बधाई साटेकाहरूलाई पनि देखेको छु । 

देश छाड्दै गर्दा एयरपोर्टमा खादा र माला लगाएको तस्बिर राखेर सामाजिक सञ्जालमा खुसियाली मनाउनु त फेसनजस्तै भएको छ । अचेल स्वाभाविक आकस्मिकता जस्ता लाग्ने यी अवस्था पछाडिका कारण के होलान् ? म फेरि घोत्लिएँ । 

तिमीहरुका लागि राज्य छ, विधिको शासन छ भनी जनतालाई आश्वस्त पार्न राज्यका उच्च पदस्थ वा नेताहरुले सकिरहेका छैनन् । यहाँ पहुँच वा चिनजान भए जे पनि हुन्छ, अन्यथा केही गर्न सकिँदैन भन्ने सामूहिक मानसिकता संस्थागत भइसकेको छ । राज्य छ भन्ने विश्वास जनतामा नहुनु नै पलायनको मुख्य कारणमध्ये एक रहेको छ । 

विभिन्न सङ्गीन मुद्दामा सजाय पाएकाले आममाफी पाउनु, विश्वविद्यालयदेखि अदालतसम्म राजनीतिक नियुक्ति हुनु, पैसा र पहुँचको भरमा अपराधबाट उन्मुक्ति पाउनु, राम्रोभन्दा पनि हाम्रोले उच्च प्राथमिकता पाउनुजस्ता कुराले देशमा भएको कानुनी राज्यको धज्जी उडाइरहेको छ ।

नेपालमा केही अवसर छैन, अब विदेश गइन्छ, देश टाट पल्टिइसक्यो भनेको सुन्नु अहिले सामान्यजस्तै भएको छ । नेपालमा गर्न सके अवसरै अवसर छन् भनेर सरकारले युवालाई विश्वास दिलाउन सकेको छैन । नेपालमा रहेका पाँच हजारभन्दा बढी वैदेशिक परामर्श संस्थाहरूले वैदेशिक अध्ययनमा विदेश पठाउनका लागि भनेर वार्षिक अर्बौं खर्च गरिरहेका छन् तर नेपालमा अवसरै अवसर छन् भनी जानकारी दिने सरकारी सूचना केन्द्र खै ? के हरेक वडा कार्यालयदेखि पालिका स्तरसम्म यस्ता सूचना केन्द्र राख्नु राज्यको दायित्वमा पर्दैन र ? यहाँ बुझ्नुपर्ने कुरा के छ भने गलत सूचना र देखासिखीका कारण पनि धेरै जनशक्ति बिदेसिन बाध्य छ । 

अहिलेको समाजमा खासगरी नेपालजस्तो विकासोन्मुख देशमा दिन प्रतिदिन एउटा भाष्यले गहिरो स्थान लिइरहेको छ, त्यो भाष्य हो— पैसा कमाउनु नै सफल हुनु हो । 

तिमीहरूका लागि राज्य छ, विधिको शासन छ भनी जनतालाई आश्वस्त पार्न राज्यका उच्च पदस्थ वा नेताहरुले सकिरहेका छैनन् । यहाँ पहुँच वा चिनजान भए जे पनि हुन्छ, अन्यथा केही गर्न सकिँदैन भन्ने सामूहिक मानसिकता संस्थागत भइसकेको छ ।

सफलता के हो भन्ने कुरा व्यक्ति, परिस्थिति र समाजअनुरूप फरक–फरक हिसाबले बहसको विषय बन्न सक्छ तर हामीजस्तो रीतिरिवाज, संस्कार र परम्परा भएको देशमा पैसा मात्र सबैथोक होइन; नैतिकता, धर्म तथा राष्ट्रियता आदिको महत्त्वपूर्ण स्थान हुन्छ । सफल हुनका लागि आर्थिक प्रगतिका साथै यी सबै कुरा अपरिहार्य हुनुपर्छ । व्यक्ति र राष्ट्र दुवै सँगसँगै सफल हुन हरेक नागरिकले राज्यको नीति तथा सिद्धान्तलाई अङ्गीकार गर्नुपर्छ भनेर नेतृत्व वर्गले बुझाउन नसक्नु आजको दुखान्त हो । 

सरकारको अनावश्यक नियन्त्रण पनि आजको वैदेशिक पलायनको अर्काे कारण हो । नियम, कानुन र विधिको शासनको प्रत्याभूति दिलाउनु सबै देशका सरकारको काम हो तर पुँजी निर्माणमा निजी क्षेत्रको भूमिका ठुलो हुन्छ । 

पुँजी निर्माण गर्ने क्षेत्रलाई नियमन तथा सहयोग गर्ने काम सरकारले गर्ने हो; नेपालको हकमा करिब ८१ प्रतिशत अर्थतन्त्र निजी क्षेत्रले धानेको भए पनि सरकारबाट निजी क्षेत्रलाई आफ्नो अभिन्न अङ्गका रूपमा नहेरी सौतेनी व्यवहार गर्दै व्यवसाय दर्ता, नवीकरण तथा विभिन्न करको बहानामा अनावश्यक दुःख दिने काम भइरहेको पाइन्छ । जसका कारण विद्यार्थी, श्रमिक, लगानीकर्ता तथा बौद्धिक व्यक्तित्व पलायन भइरहेका छन् । व्यवसाय दर्ता गर्नै महिनौँ लाग्ने; विभिन्न विभाग तथा निकायमा सोर्सफोर्स लगाउनुपर्ने; व्यवसाय सञ्चालन गर्दा विभिन्न किसिमका राजनीतिक, आर्थिक तथा अनावश्यक कानुनी झमेलाजस्ता समस्यासँग जुध्नुपर्ने बाध्यात्मक अवस्था हामीकहाँ छ । यो अवस्थालाई हामीले समयमै निराकरण गरेर युवालाई स्वदेशमै बस्ने वातावरणको सुनिश्चितता गर्न सकेनौँ भने युवा तथा बौद्धिक व्यक्तिविहीन देश हुनेछ । 

१० खर्बभन्दा बढी रेमिटान्स भित्र्याउने देशका लागि वैदेशिक यात्रा सामान्य तथा अपरिहार्यजस्तो लाग्न सक्छ । यहाँ राज्यको हरेक निकायले सोच्नुपर्ने बेला भइसकेको छ कि हाम्रो यो रेमिटान्स दीर्घकालीन हो कि अल्पकालीन ? यसका लागि हामीले पहिला यो बुझ्न जरुरी छ, हाम्रो देशबाट उच्च तथा मध्यम वर्ग र निम्न वर्ग गरी दुई किसिमका व्यक्ति बिदेसिइरहेको अवस्था छ । 

निम्न वर्गका व्यक्ति भारत, खाडी, कोरिया तथा अन्य देश गइरहेका हुन्छन् । जसको वैदेशिक यात्राको उद्देश्य भनेकै श्रम गरी कमाएको पैसा नेपाल पठाएर जीविकोपार्जन गर्ने हो, रेमिटान्स भित्र्याउन अहं भूमिका यिनैको हुन्छ । साउदी अरेबिया, मलेसिया, कतार र भारतबाटै देशमा बढी मात्रामा रेमिटान्स भित्रिरहेको छ । यी चार देशबाट मात्र कुल रेमिटान्सको ५० प्रतिशतभन्दा बढी रेमिटान्स आउने गरेको छ । यस्ता देशबाट सीप सिकेर फर्केका व्यक्तिले इलम गर्न खोज्दा राज्यले पर्याप्त सहयोग गरेको पाइँदैन । 

उच्च तथा मध्यम वर्गका व्यक्तिहरू सम्पन्न तथा शक्तिशाली देश (जस्तै : अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपियन देश आदि)तर्फ गइरहेका छन् । यस्ता देशमा जाने व्यक्तिको उद्देश्य प्रायः समान रहन्छ— केही वर्षको अध्ययन तथा कामपछि त्यतै व्यवस्थित तरिकाले सेटल हुने । यस्ता देशमा गएका व्यक्तिहरू बिरलै मात्र देश फर्केको देख्न र सुन्न पाइन्छ । श्रमका लागि जाने देशमा भन्दा यस्ता देशमा जाने व्यक्तिको आय बढी भए पनि त्यता आर्जन गरेको आयलाई त्यतै जम्मा गरी त्यतै स्थापित भइरहेका हुन्छन् । कतिपयले नेपालको आफ्नो पुख्र्यौली सम्पत्ति समेत बेचेर पलायन भइरहेको पाइन्छ । पछिल्लो समय पुँजी पलायनको एक मुख्य कारणमध्ये यो पनि एक हो । यस्ता व्यक्तिलाई राज्यले समयमै पहिचान गरी समय सुहाउँदो नीति अङ्गीकार गरी मानवीय र आर्थिक पलायन रोक्न नसके देश ठुलो सङ्कटमा पर्ने देखिन्छ ।

देशले बौद्धिक पलायन रोकेन वा फिर्ता बोलाउन उपयुक्त नीति अङ्गीकार गरेन र नेपालमै गरिखाने किसिमको वातावरण बनाएन भने नेपालबाट युवा, बौद्धिक पलायन मात्र नभएर एक स्वाभिमान राष्ट्रको अस्तित्व समेत पलायन हुनेछ । 

स्टाचु अफ लिबर्टी, ओपेरा हाउस र लन्डन ब्रिजसँगै खिचिएको फोटोले मात्र विदेशमा रहेका व्यक्तिको सुख, समृद्धि तथा सफलताको कहानी बताउँदैन । त्यो फोटोमा केवल मुस्कान झल्किएको हुन्छ, नेपालमा बस्नेले त्यही अनुहार देखेको हुन्छ । यस्ता तस्बिर पछाडिको पीडा नदेखेर पनि थुप्रै व्यक्ति बिदेसिइरहेको पाइन्छ । रिल जीवन र रियल जीवनबिचको यथार्थ जानकारी गराउने प्रभावकारी सरकारी संयन्त्र पनि हामीकहाँ अपरिहार्य देखिन्छ ।

वास्तवमा विदेश गएर यस्ता तस्बिर पोस्ट गरिरहेकाहरू पनि उपयुक्त वातावरण पाए स्वदेश फर्किन खुट्टा उचालेर बसेका छन् । मेरो छोराजस्तै आजका बालबालिकाको मस्तिष्कमा देशमै केही गर्छु भन्ने सोच र सपना ल्याउन राज्यले प्रभावकारी कार्यक्रम ल्याउनैपर्छ । 

(धनगढी, कैलाली ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शैलेश सिंह
शैलेश सिंह
लेखकबाट थप