मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुनको मूल्य

सुनको मूल्यले किन दिनहुँ बनाउँदैछ नयाँ कीर्तिमान ?

कस्तो समयको सङ्केत हो यो ?
बुधबार, २८ चैत २०८०, १४ : १२
बुधबार, २८ चैत २०८०

काठमाडौँ । पछिल्ला केही दिनयता सुनको भाउ लगातार उकालो लागिरहेको छ । मूल्यले दिनहुँ नयाँ उचाइ छोइरहेको छ ।

विश्व बजारमा सुनको भाउ मंगलबार प्रतिऔंस २ हजार ३६४ डलरमा पुगेको थियो । योसँगै लगातार सात दिनदेखि सुनको भाउले कीर्तिमानी उचाइ चुमेको थियो । बुधबार यो समाचार तयार पार्दाखेरि न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजे ‘स्पट गोल्ड’ प्रतिऔंस २ हजार ३५३ डलर ९३ सेन्टमा कारोबार भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा केही कम भए पनि गएको वर्षको यही बेलातिरको तुलनामा सुन साढे १६ प्रतिशतले महँगो हो ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने आशामा सुनको भाउ बढाइरहेको छ । सुन र ब्याजदर अनि अमेरिकी डलरबिच विपरीत सम्बन्ध रहेको मानिन्छ । ब्याजदर र अमेरिकी डलर घट्दा गैरडलरबाहकका लागि सुन सस्तो पर्न जान्छ । त्यस्ता वर्गबाट सुनको माग बढेर पनि भाउ बढ्न थाल्छ । लगानीकर्ताहरूले सुनलाई महँगीविरुद्ध हेजिङको रूपमा पनि हेर्ने गरेका छन् । महँगी बढ्दा सुनको मूल्य पनि बढ्ने ऐतिहासिक तथ्याङ्कहरूले पनि देखाएका छन् ।   

यतिबेला सुनको भाउ बढाउन ब्याजदर कटौतीको अपेक्षाबाहेकका अन्य कारक पनि छन् । चीन लगायत देशका केन्द्रीय बैंकहरूले अमेरिकी डलरमाथिको आफ्नो निर्भरता कम गर्न धमाधम सुन किनेर थुपारिरहेका छन् । मार्चसम्मको १७ महिनामा चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)लगातार सुन किनिरहेको छ । मार्चमा १ लाख ६० हजार औंस सुन किनेपछि बैंकको कूल सुन सञ्चिति ७ करोड २७ लाख ४० हजार ट्रोय औंसमा पुगेको छ ।

केन्द्रीय बैंकहरुले यतिबेला अमेरिकी डलरमा थुप्रिएर बसेको लगानीलाई विविधिकृत गरेर सुनतिर लैजान चाहेको देखिएको छ । चीनले आफ्नो सुन सञ्चिति बढाइरहँदा सुनको मूल्य पनि बढिरहेको छ । विगतको केही वर्षयता चीनको घरजग्गा बजारमा आएको सङ्कट अनि शेयर बजार ओरालो लाग्ने क्रमबिच चिनियाँ लगानीकर्ताहरूले सुनमा पैसा खन्याउन थालेका छन् । 

भारत, टर्की लगायत देशको केन्द्रीय बैंकहरूले  पनि सुन खरिदारी बढाइरहेका छन् । भारतको आर्थिक वृद्धिदरमा उछाल आउने क्रम जारी रहँदा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले सुनको खरिद बढाइरहेको विश्लेषणहरू आइरहेका छन् ।

  • कति पुग्यो नेपाली बजारमा सुन ?

नेपाली बजारमा बुधबार सुनको भाउ प्रति तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको पहेँलो धातु बुधबार १ लाख ३६ हजार ८ सय रुपैयाँमा पुगेको छ । सुनको भाउले बनाएको यो मूल्य अहिलेसम्मकै उच्च हो । विश्व बजारमा सुनको भाउले नयाँ नयाँ उचाइ छोइरहँदा नेपाली बजारमा पनि दिनहुँ जसो मूल्यले रेकर्ड बनाइरहेको छ ।

  • कस्तो समयको सङ्केत हो यो ?

केन्द्रीय बैंकहरूको सुनको माग बढ्नु भनेको डलरमाथि निर्भरता घट्दै गइरहेको सङ्केत भएको करेन्सी रिसर्च एसोसियट्समा सीईओ उल्फ लिन्दाह्ल बताउँछन् । अमेरिकामाथिको आर्थिक निर्भरता कम गर्न चाहने अर्थतन्त्रका केन्द्रीय बैंकमाझ लगानीका लागि डलरको आकर्षण घटेको छ । 

अमेरिकासँग मित्रवत् सम्बन्ध नरहेका देशहरूले प्रतिबन्धको प्रभाव कम गर्न पनि सुन थुपारिरहेका छन् । सन् २०२२ यता नै विश्वभर केन्द्रीय बैंकहरूको सुन खरिदारी बढेको छ । एक दशकअघिको तुलनामा उक्त वर्ष केन्द्रीय बैंकहरूले दोब्बरभन्दा धेरै सुन किनेका थिए । यसलाई केही विश्लेषकहरूले चाहिँ सुन बलियो युगमा छिरेको रूपमा अर्थ्याइरहेका छन् ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले अमेरिका र चीनबिचको वित्तीय सम्बन्धको स्थायित्वबारे छलफल गर्न चीन गएयता सुनको भाउ बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा  पछिल्ला दिनहरूमा कच्चा तेलको भाउ पनि बढिरहेको छ । यसलाई मूडिजका अर्थशास्त्रीहरूले हालै मात्र अमेरिकी अर्थतन्त्रका लागि पहिलो नम्बरको खतरा बताएका थिए । कच्चा तेलको भाउ पेट्रोलियम पदार्थ महँगो हुन थाल्छ र यसको प्रभाव पोखिएर यातायात, परिवहनदेखि दैनिक उपभोग्य वस्तुसम्म सबैको भाउ बढ्छ ।

  • ब्याजदर कटौतीप्रतिको धारणा

सुनको भाउमा भइरहेको वृद्धिले फेडले यो वर्षको अन्त्यदेखि ब्याजदर घटाउन थाल्ने लगानीकर्ताहरूले अनुमान उजागर गरेको छ । सुनको भाउ यतिबेला बुलिश हुनुको पछाडि फेडले ब्याजदर घटाउने अपेक्षा भएको अमेरिकी बैंक यूबीएसले मंगलबार एउटा रिसर्च नोटमा भनेको थियो ।

५१ प्रतिशत लगानीकर्ताहरूले जुनमै २५ आधार बिन्दुले ब्याजदर घटाइने आशा गरेको सीएमई ग्रुपको डेटाले देखाएको छ । मार्चमा अमेरिकामा अपेक्षाभन्दा धेरै रोजगारी सृजना भएको थियो । अर्थतन्त्र बलियो स्थितिमा रहेकोले ब्याजदर कटौतीको आवश्यकताबारे प्रश्न पनि उब्जिएको छ ।

  • त्यसो भए यतिबेला किन बढिरहेको छ सुनको भाउ ?

मूल्य बढिरहँदा भाउ अझै बढ्छ भन्ने अपेक्षामा केही लगानीकर्ताहरूले सुन किनिरहेका छन् । यसले पनि भाउ बढाइरहेको छ । गएको वर्षको अगस्टदेखि अमेरिकी खुद्रा कम्पनी कोष्टकोले अनलाइनबाट गोल्ड बार बेच्न शुरु गरेको थियो । यही जनवरीदेखि सुन पनि बेच्न थालिएको छ ।

कम्पनीले मासिक २० करोड डलरको सुन र चाँदी बेचिरहेको वेल्स फार्गोको एउटा अनुमानले देखाएको छ । अघिल्लो त्रैमासमा कम्पनीले १० करोडभन्दा बढीको गोल्ड बार बेचेको कोस्टकोका प्रमुख वित्तीय अधिकारीले बताएका थिए ।

राजनीतिक अनिश्चयका समयमा सुन लगानीको परम्परागत साधन हो । यो वर्ष अमेरिकामा राष्ट्रपति निर्वाचन समेत गरेर ६० भन्दा धेरै देशमा चुनाव हुँदैछ । आर्थिक तथा राजनीतिक भद्रगोलको बेलामा सुनलाई लगानीको सुरक्षित साधन अर्थात् सेफ हेभन एसेटको रूपमा हेरिन्छ । भूराजनीतिक र आर्थिक अस्थिरताले पनि यतिबेला बहुमूल्य धातु सुनको माग र भाउ दुवै बढाइरहेको छ । वृद्धिको क्रम यत्तिमै रोकिने छैन ।

  • सुनको भाउ २५०० डलरमा पुग्ने अनुमान

मार्चमा सुनको भाउले पहिलो पटक २ हजार १५९ डलरको स्तर तोडेको थियो । उक्त महिना २१ दिनमा सुनको भाउले पाँच पटक ‘ब्याक टू ब्याक’ नयाँ कीर्तिमान बनायो । सुनको भाउमा देखिएको यो बुलिश गति अप्रिलमा पनि जारी छ । यो महिना शुरु भए यताको अधिकांश कारोबार दिनमा भाउले नयाँ कीर्तिमानी उचाइ छोइसकेको छ । यसैबिच केही विश्लेषकहरूले सुनको भाउ अब २ हजार ५०० डलरमा गएर मात्रै रोकिने हो कि भन्ने थालेका छन् ।  

एजेन्सीहरूको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी
लेखकबाट थप