बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै

बिहीबार, २९ चैत २०८०, ११ : ००
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । नयाँ शैक्षिक सत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर नै अभियान सुरु हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न सरोकारवाला निकायलाई केन्द्रले आग्रह गरेको हो । केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थाल्ने कार्य योजना बनेको छ । त्यस्तै वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन आह्वान गर्नेलगायत कार्यक्रम छन् ।

त्यस्तै सामुदायिक सिकाइ केन्द्रहरूले भर्ना अभियानमा सहजीकरण गर्ने समेत कार्य योजना बनेको छ । त्यस्तै भर्ना अभियानको संयोजक मार्फत विवरण तयार गर्ने र भर्ना हुन बाँकी बालबालिकाको अनुमानित विवरण स्थानीय तह र विद्यालयहरूले गर्ने कार्य योजना बनेको छ ।

अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने कार्य योजना बनेको छ ।

‘केन्द्रको फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्ना दर ९४.९ प्रतिशत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप