बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

पर्वत घटना : २५० जनासँग सोधपुछ, सीआईबीको टिम घटनास्थलमा

बिहीबार, २९ चैत २०८०, १२ : १४
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । पर्वतको जलजला गाउँपालिकामा भएको दम्पतीको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टिम परिचालन गरिएको छ । इन्स्पेक्टरको नेतृत्वमा पर्वतमा टिम पठाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

जलजला–२ स्थित मल्लाज दहमा चैत १९ मा ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए । उनीहरूको घाँटी र टाउकोमा चोट लागेको छ । धारिलो हतियार प्रहार गरेर उनीहरूको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् ।

अनुसन्धान अधिकृतहरूले गाउँले र सशंकितहरुसँग सोधपुछ गरिरहेका छन् । अहिलेसम्म २५० जनासँग सोधपुछ गरिएको पर्वतका डीएसपी खुमलाल भुसालले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीसम्म पुग्नेगरी हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौँ ।’

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले प्राविधिक विश्लेषण गरिरहेको छ । लुटपाट गर्ने उद्देश्यले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा गमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । ‘लुटपाट गर्ने उद्देश्यले हत्या भएको देखिन्छ’ डीएसपी भुसाल भन्छन्–‘हामी अनुसन्धान गर्दैछौं ।’

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गरेका थिए । दुई छोरा दक्षिण कोरियामा छन् । एउटा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गरेका छन् । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप