बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

लगानी र आम्दानीको जोड–घटाउ : के छ नेपालका बैंक तथा वित्तीय कम्पनीहरूको पोजिसन ?

बिहीबार, २९ चैत २०८०, १४ : १७
बिहीबार, २९ चैत २०८०

काठमाडौँ ।  बैंक तथा वित्तीय कम्पनीहरू (बीएफआईएस) ले फागुन मसान्तसम्म गरेको लगानी, प्रतिफल र खराब कर्जाको ‘नन् अडिट’ (लेखापरीक्षण भइनसकेको) तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार क, ख, ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाको कारोबार रिपोर्ट सार्वजनिक गरेको हो । बैंकको रिपोर्ट अनुसार समीक्षा अवधिमा सबै बैंक तथा वित्तीय संस्थाको लगानी (पुँजी) को तुलनामा आम्दानी निकै कम देखिएको छ । अझ पछिल्लो समय वित्त कम्पनीहरूको बढ्दै गरेको पुँजीमा नाफा भने ओरालो लाग्दैछ । जसले बैंकका लगानीकर्ताहरू बिस्तारै लगानी झिकेर अन्यत्र जाने क्रम बढेको देखाएको छ ।

लगानी र प्रतिफल

नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्त कम्पनीहरूले कुल ४४ अर्ब २६ करोड ८० लाख रुपैयाँ नाफा (आम्दानी) कमाएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७२ प्रतिशतले कम हो ।

२०७९ फागुन मसान्तसम्ममा बैंक तथा वित्त कम्पनीहरूले ५० अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएका थिए । तर, पछिल्लो असार मसान्तसम्मको कमाइ र लगानीलाई हेर्ने हो भने बैंकहरूले ४० प्रतिशतभन्दा बढीको नोक्सान बेहोरेका छन् ।

२०७९ असारसम्ममा बैंक तथा वित्त कम्पनीहरूले कुल पुँजी ६ खर्ब ८३ अर्ब १२ करोड रुपैयाँ लगानी गरेकामा ७५ अर्ब नाफा कमाएका थिए । तर हाल सो लगानी बढेर ७ खर्ब २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी पुगिसक्दा पनि आम्दानी घटेर ४४ अर्ब २६ करोडमा झरेको छ । यस्तो स्थितिले लगानीकर्ताहरू निराश भएको र बैंकबाट लगानी झिकिरहेको दर्शाएको गभर्नर महाप्रसाद अधिकारी बताउँछन् ।

‘बैंकहरू मिटरब्याजी भए, नाफा खोर भए भनेर आरोप लगाउने गरिएको छ । तर, म त त्यस्तो पाउँदिनँ । आज ७ खर्बभन्दा बढी लगानी गरेको बैंकिङ क्षेत्रले लगानी अनुसारको प्रतिफल दिन सकिरहेको छैन,’ गभर्नर अधिकारीले भने, ‘जति बेलामा मैले केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै थिएँ, त्यतिबेला बैंकहरूको लगानी ५ खर्ब हाराहारी थियो । तर प्रतिफल ७० अर्बभन्दा माथि थियो । तर, अहिले लगानी ७ खर्ब पुगिसक्दा पनि ७० अर्ब कमाउन मुस्किल छ । बैंकहरू कसरी नाफाखोर भए ?’ केही समयअघि बैंकहरू विरुद्ध जिम्मेवार व्यक्तिहरू नै खनिएपछि गभर्नर अधिकारीले प्रतिवाद गरेका थिए ।

बढ्दो खराब कर्जा र लगानीको चिन्ता

बैंक तथा वित्त कम्पनीहरूको आम्दानी घट्नुको प्रमुख कारण लगानी नै हो । आर्थिक शिथिलताका बिच पछिल्लो ८ महिनामा वित्त कम्पनीहरूले राम्रोसँग लगानी गर्न सकेका छैनन् ।

केन्द्रीय बैंककै रिपोर्ट अनुसार फागुन मसान्तसम्म ६१ अर्ब ८६ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेका बैंक तथा वित्त कम्पनीले जम्मा ५० खर्ब ८९ अर्ब ८४ करोड हाराहारीमात्र लगानी गर्न सकेका छन् । त्यो पनि सरकारी बण्ड तथा अन्य सुरक्षण लगानीसहित ।

फागुन मसान्तसम्म बैंकहरूको खराब कर्जा अर्थात् ‘नन् पर्फमिङ लोन’ (एनपीएल) दर बढेर ३.७३ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म सबैगरी ५० खर्ब ८९ अर्ब कर्जा लगानी गरेका बैंकहरूको करिब १ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको हो ।

सुरक्षण (धितो) को रुपमा राखेको गैर बैंकिङ सम्पत्ति बढेर २३ अर्ब ९६ करोड रुपैयाँभन्दा माथि पुगेको छ । ऋण असुलीका लागि बैंकहरूले धितो लिलामी गर्न खोज्दासमेत बिक्री हुन सकिरहेको छैन ।

यस्तो छ बैंक तथा वित्तीय संस्थाहरूको स्थिति (अङ्क १० लाखमा)
Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप