शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
एमाले–नेकपा सहमति

सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत

चार प्रदेशमा कुन दलसँग मिल्ने ?
शनिबार, ०९ साउन २०८३, १९ : ३१
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको छ ।
  • एमाले र नेकपाको गठबन्धनले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहज बहुमत प्राप्त गर्नेछ ।
  • मधेस, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा भने सरकार गठनका लागि अन्य दलहरूको समर्थन आवश्यक पर्नेछ ।

विराटनगर । नेकपा (एमाले)ले कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ । उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।

सहमति अनुसार मधेस र गण्डकी प्रदेशमा भने अरू दलसँग सहकार्य गर्ने सहमतिमा उल्लेख । प्रदेश सभाको सांसदको संख्याको आधारमा एमाले र नेकपाको गठबन्धन बन्दा कोशी, कर्णाली र सुदूरपश्चिममा मात्रै सहजै सरकार बनाउने अवस्था छ । अरू चार प्रदेशमा भने साना दलको वैशाखी अनिवार्य देखिएको छ । 

कोशी प्रदेशमा कुल ९३ सदस्यीय प्रदेशसभा भए पनि हाल कायम सांसद संख्या ९२ रहेको छ । जसमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । जसका लागि एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।

मधेस प्रदेशमा कुल १०३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५२ सिट आवश्यक पर्छ । जहाँ एमालेको २४ र नेकपाको १५ सिट गरी ३९ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १५ सिट आवश्यक पर्छ । यसका लागि जसपाको २८ वा जनमत १२ सांसदको समर्थन बिना सरकार बन्न सक्दैन।

उता, बागमती प्रदेशमा कूल १०४ सदस्यीय प्रदेशसभाको लागि बहुमत जुटाउन ५३ सांसद अनिवार्य हुन्छ । जुन प्रदेशमा एमालेको २५ र नेकपाको २६ गरी ५१ सिट रहेको छ। यो प्रदेशमा दुवै दलका लागि बहुमत पुर्‍याउन मात्र २ सिट अपुग हुन्छ । राप्रपा (१२), हाम्रो नेपाली पार्टी (२) वा नेमकिपा (३) को समर्थनमा मात्रै यहाँ सरकार गठन हुन सक्छ ।

उता, गण्डकी प्रदेशमा कुल ५९ सदस्यका लागि बहुमत पुर्‍याउन ३० सांसद चाहिन्छ । यो प्रदेशमा एमालेको २२ र नेकपाको ७ गरी २९ सिट रहेको छ । यो प्रदेशमा पनि बहुमतका लागि १ सिट अपुग हुन्छ । यहाँ २ सिट भएको राप्रपा किङमेकर बन्ने देखिन्छ । यस्तै यो प्रदेशमा नेपाल समाजवादी पार्टीको १ जना सांसद रहेका छन्। 

यस्तै लुम्बिनी प्रदेशको कुल ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । यो प्रदेशमा एमालेको २९ र नेकपाको सभामुखसहित १३ गरी ४२ सांसद पुग्छन् । यहाँ दुई पार्टीको ठिक्क बहुमत पुग्ने देखिए पनि सभामुखले मतदान गर्न पाउँदैनन् । जसका कारण यो प्रदेशमा जसपा नेपालको ३, जनमतको ३, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र १ सांसद छन् । ३ सिट भएको कुनै पनि दलले यो गठबन्धनलाई सहयोग नगरे सरकार बन्दैन । 

उता, ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमत पुर्‍याउन २१ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १० र नेकपाका १४ सांसद गरी २४ सांसद छन् । यहाँ स्पष्ट बहुमत पुग्ने भएकाले वामपन्थी सरकार सहजै बन्छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको कूल ५२ सदस्यीय प्रदेशसभाको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा एमालेको ११ र नेकपाको २२ गरी ३३ सांसद छन् । यो प्रदेशमा एमाले र नेकपाको सहजै बहुमत पुग्ने देखिएको छ । 

यस्तै तथ्याङ्क केलाउँदा एमाले र नेकपा मिल्दा मधेस प्रदेशमा जसपाको समर्थन बिना कुनै पनि समीकरणले सरकार बनाउन सक्ने अवस्था छैन । लुम्बिनी प्रदेशमा दुवै समीकरणका लागि साना दलहरूको साथ अनिवार्य छ । गण्डकी र बागमती प्रदेशमा वामपन्थी समीकरण बनेको खण्डमा साना दलहरूको भूमिका सरकार बनाउन र टिकाउन महत्त्वपूर्ण हुने देखिन्छ । 

हेर्नुहोस् दलहरूको सांसद संख्या :

कोशी प्रदेश :

एमाले : ४०

कांग्रेस : २९

नेकपा : १७

राप्रपा : ५ (सभामुखसहित)

जसपा : १

जम्मा प्रदेशसभा संख्या ९२ (बहुमत ४७)

मधेस प्रदेश :

एमाले : २४ (सभामुखसहित)

जसपा : २८ 

कांग्रेस : २२

नेकपा : १५

जनमत : १२

नेपाल सङ्घीय समाजवादी : १

राप्रपा : १

जम्मा प्रदेशसभा संख्या १०३ (बहुमत ५२)

बागमती प्रदेश :

एमाले : २५

नेकपा : २६

कांग्रेस : ३६

राप्रपा : १२ (सभामुखसहित)

नेमकिपा : ३

हाम्रो नेपाली पार्टी : २

जम्मा प्रदेशसभा संख्या १०४ (बहुमत ५३)

गण्डकी प्रदेश :

एमाले : २२

कांग्रेस : २७

नेकपा : ७ (सभामुखसहित)

राप्रपा : २ 

नेपाल समाजवादी : १

स्वतन्त्र : १

जम्मा प्रदेशसभा संख्या ६० (बहुमत ३१)

कर्णाली प्रदेश :

एमाले : १० (सभामुखसहित)

नेकपा : १४

कांग्रेस : १४

राप्रपा : १

स्वतन्त्र : १

जम्मा प्रदेशसभा संख्या ४० (बहुमत २१)

लुम्बिनी प्रदेश :

एमालेका २९

कांग्रेस : २७

नेकपा : १३ (सभामुखसहित)

राप्रपा : ४

जसपा नेपाल : ३

जनमत : ३

जसपा : २

राष्ट्रिय जनमोर्चा : १

स्वतन्त्र : १

जम्मा प्रदेशसभा संख्या ८३ (बहुमत ४२)

सुदूरपश्चिम प्रदेश :

एमाले : ११

नेकपा : २२ (सभामुखसहित)

कांग्रेस  : १८

राप्रपा : १

जम्मा प्रदेशसभा ५२ (बहुमतका लागि चाहिने संख्या २७)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप