खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
टोकियो । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ।
पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्देशहरूको बाढी आएको छ। उसलाई अब त्यो अर्काको खेलौना खेल्नु पर्दैन। उसले धेरै शुभचिन्तक कमाएको छ र उनीहरूको माया पाइरहेको छ।
एक वर्षअघि जुलाई २५ मा जन्म दिएपछि सम्भवतः थकानका कारण उसकी आमाले स्याहार नगरी छाडिदिएकी थिइन्। चिडियाखानाका कर्मचारीहरूले उसलाई हुर्काए र नयाँ जन्मेका ‘मकाक’ बाँदरहरू बाँच्नका लागि आवश्यक समात्ने क्षमता विकास गर्न त्यो खेलौना दिएका थिए।
पन्च अब त्यो नरम खेलौना समात्ने मोटो बच्चा मात्र नरहेर ‘इचिकावा सिटी जुलोजिकल एन्ड बोटानिकल गार्डेन’को घेरामा अन्य बाँदरहरूसँग घुलमिल भएर खेल्ने भइसकेको छ। उसले अहिले पनि प्रशंसकको ठूलो भिडको ध्यानाकर्षण गरिरहेको चिडियाखानाका प्रमुख ताकाशी यासुनागाले बताएका छन्। उनका अनुसार पन्चले जापानभित्र र बाहिरबाट करिब दुई हजार ५०० जन्मदिनको शुभकामना कार्डहरू पाएको छ।
धेरै कार्ड र अन्य सन्देशहरू ‘पन्च जन्मदिन प्रदर्शनी’ का भित्री भित्ताहरूमा टाँसिएका छन्। त्यहाँ आगन्तुकहरूले पन्चका सुरुका दिनदेखिका भिडियोहरू पनि हेर्न सक्छन्।
पन्चले हरेक दिन बाँच्नका लागि धेरै सङ्घर्ष गरिरहेको बेला उसका दुई हेरचाहकर्ताहरूले आमाको अभाव मेटाउन सकेसम्म सबै सुविधा उपलब्ध गराएका र अन्य कर्मचारीहरूले निगरानी गरेका यासुनागाले जानकारी दिएका छन्। पन्च जन्मिएको बेला अत्यन्तै गर्मी रहेको र गर्मीको मौसम फर्किएसँगै त्यो सम्झना अझै ताजा रहेको उनले बताएका छन्।
जनवरीको मध्यतिर हेरचाहकर्ताहरूबाट छ महिना विशेष हेरचाह पाएपछि पन्चलाई चिडियाखानाको बाँदर घेरामा करिब ५० अन्य बाँदरहरूसँग राखिएको थियो। यो चुनौतीले उसलाई थप प्रसिद्ध बनायो।
फेब्रुअरीमा चिडियाखानाले सामाजिक सञ्जालमा पन्चको खेलौनासहितका तस्बिरहरू राखेपछि त्यो तुरुन्तै भाइरल बन्यो र चिडियाखानामा दसौँ हजार आगन्तुक आए। तीमध्ये आधाभन्दा बढी विदेशबाट आएका यासुनागाले बताएका छन्।
अन्य बाँदरहरूले बच्चालाई धपाउँदा पन्च तुरुन्तै ओरङउटानको खेलौनातिर दौडिन्थ्यो र सान्त्वनाका लागि त्यसलाई अँगालो मार्दथ्यो। प्रशंसकहरूले त्यसको भिडियो खिचेर ‘पन्च भाग र त्यसलाई समाऊ’ भन्दै सामाजिक सञ्जालमा ट्यागसहित हाली उसलाई प्रोत्साहन दिएका थिए। ओरङउटानको खेलौना उसको आमाको स्थानमा आएको साहारा र खेल्ने साथी बनेको थियो।
केवल खेलौनासहितको पन्चको मायालुपन मात्र नभई अरूहरूबाट बिस्तारै स्वीकृत हुनका लागि उसको एक्लो सङ्घर्षले पनि मानिसहरूको मन छोएको प्रशंसकहरू बताउँछन्।
कोबेकी बासिन्दा कुमी इशिजावाले यसै वर्षको सुरुमा सामाजिक सञ्जालमा पन्चबारे थाहा पाएपछि आफू निको भएर उसलाई भेट्न जाने अठोट गरेकी थिइन्। उनी अहिले निको भएर व्यावसायिक यात्रा सकी चिडियाखाना आएकी छन्। उनले पन्चलाई प्रत्यक्ष भेट्न पाउँदा धेरै खुसी लागेको बताएकी छन्।
सहरकी लामो समयकी बासिन्दा येये लाइट्स कहिल्यै चिडियाखाना गएकी थिइनन्। तर पन्चको कथा सुन्नेबित्तिकै उनले अहिले चिडियाखानाको वार्षिक आगन्तुक पास लिएकी छन्। फिलिपिन्समा रहेकी उनकी छोरीले बाँदरको बारेमा बताएपछि उनी पन्चप्रति आकर्षित भएकी हुन्।
‘पन्च कुन’ का लागि केक ल्याएर साथीहरूसँग उसको जन्मदिन मनाउन आएको भन्दै उनले हेरचाहकर्ताहरूलाई धन्यवाद दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण