काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
सारांश
- नेकपा (एमाले) ले नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ, जसअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा नेतृत्व गर्नेछ ।
- कोशी प्रदेशमा हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निरन्तरता वा राजीनामा पार्टीभित्रको छलफलपछि टुंगो लाग्नेछ ।
- एमाले स्रोतका अनुसार नेतृत्वले मुख्यमन्त्री परिवर्तन गर्ने चाहेको र उपनेता तिलकुमार मेन्याङ्बो मुख्यमन्त्रीको दौडमा अगाडि छन् ।
विराटनगर। नेकपा (एमाले)ले काँग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ। उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ।
कोशी प्रदेशमा अहिले पनि एमालेकै संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । केन्द्रले नयाँ गठबन्धनको सहमति गरेपछि अब उनै मुख्यमन्त्री कार्की निरन्तर रहन्छन् कि राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले मुख्यमन्त्री को हुने भन्ने विषयमा अब पार्टीभित्र छलफल सुरु हुने बताए । ‘मुख्यमन्त्री को हुने भन्ने विषय अबको पार्टीका बैठक र छलफलका क्रममा प्रवेश हुन्छन्,’ पराजुलीले भने, ‘नयाँ परिस्थिति बनेपछि मुख्यमन्त्री बन्ने आकांक्षा राख्ने साथीहरू हुन सक्छन् । त्यसपछि प्रदेश समितिले छलफल गरेर केन्द्रमा सिफारिस गर्छ । अनि केन्द्रले टुङ्ग्याउँछ।’
बहालवाला मन्त्री पराजुलीले मुख्यमन्त्री हिक्मत कार्की नै रहन्छन् भन्ने विषयमा स्पष्ट कुरा राखेनन् । यसको मतलब अब कोशी प्रदेशमा पनि मुख्यमन्त्री नयाँ आउने देखिएको छ । यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली कार्कीसँग असन्तुष्ट रहेको चर्चा हुने गरेको थियो।
एमाले स्रोतका अनुसार नेतृत्वले अब प्रदेशको मुख्यमन्त्री पनि परिवर्तन गर्ने चाहना राखेको छ । ‘सम्भवतः मुख्यमन्त्री परिवर्तन नै हुन्छ होला,’ उक्त स्रोतले भन्यो । मुख्यमन्त्रीको दौडमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो अगाडि छन् । एमालेमा कार्कीपछिको सिनियर नेता उनै मेन्याङ्बो हुन् ।
नेतृत्व परिवर्तन गर्दा हालका मुख्यमन्त्री कार्कीलाई अपमानित महसुस हुन सक्ने भए पनि राजनीतिक परिस्थिति र सहमतिका आधारमा अघि बढ्नुपर्ने बाध्यता देखिन्छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सहज ढङ्गले पद हस्तान्तरण गर्ने बताउँदै आएका छन् । तर, त्यसका लागि विधि र प्रक्रियाबाट हुनुपर्ने उनको अडान छ ।
सङ्घीयता कार्यान्वयनमा आएर प्रदेश सरकारहरू बन्न थालेयता कोशी प्रदेशमा ९ पटक सरकार गठन भइसकेको छ । यस अवधिमा ६ जना फरक–फरक नेताहरूले मुख्यमन्त्रीको कुर्सीमा बस्ने अवसर पाएका छन् ।
२०७४ फागुन २ गते प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमालेका शेरधन राईले पदभार ग्रहण गरेका थिए । तत्कालीन नेकपा विभाजनको असर प्रदेशसम्म परेपछि शेरधन राईले राजीनामा दिए र एमालेकै भीमप्रसाद आचार्यले २०७८ भदौ ११ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, एमाले विभाजन भएपछि उनको कार्यकाल जम्मा दुई महिना (२०७८ कात्तिक १५ सम्म) मात्र रह्यो । त्यसपछि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र कुमार राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री बने । उनी पहिलो प्रदेश सभाको कार्यकाल सकिएर नयाँ निर्वाचन नहुन्जेल (२०७९ पुस २४ गतेसम्म) सत्तामा रहे ।
दोस्रो प्रदेश सभा निर्वाचन (२०७९) पछि त कोशी प्रदेशमा सत्ताको लुकामारी नै चल्यो । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा वर्ष २०८० कोशीको संसदीय इतिहासमै सबैभन्दा अस्थिर वर्ष बन्न पुग्यो । २०८० सालभित्र मात्रै कोशीमा ५ पटक मुख्यमन्त्री फेरबदल भए।
२०७९ पुस २५ गते पहिलो पटक मुख्यमन्त्री बनेका एमालेका हिक्मत कुमार कार्कीको सरकार ६ महिनापछि २०८० असार २१ गते ढल्यो । त्यसपछि कांग्रेसका उद्धव थापा २०८० असार २२ गते मुख्यमन्त्री नियुक्त भए । तर, सभामुखको हस्ताक्षर प्रयोग गरेको भन्दै सर्वोच्च अदालतको आदेशबाट उनको सरकार २४ दिनमै (साउन १६ गते) ढल्यो ।
लगत्तै २०८० साउन १७ गते थापा नै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए, तर सभाध्यक्षलाई मतदान गराएको भन्दै सर्वोच्चले फेरि उनको सरकार बर्खास्त गरिदियो । उनको दोस्रो कार्यकाल पनि भदौ २१ गतेसम्म मात्रै टिक्यो ।
उद्धव थापाको सरकार ढलेपछि सर्वोच्च अदालतको परमादेशबाट २०८० भदौ २२ गते एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की दोस्रो पटक मुख्यमन्त्री बने । तर विश्वासको मत नपाउने भएपछि उनी पनि जम्मा एक महिना (असोज २७ गतेसम्म) मात्र सत्तामा रहे ।
त्यसपछि कांग्रेसभित्रै विद्रोह गरेर केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम २०८० असोज २८ गते मुख्यमन्त्री बने । केदार कार्कीले करिब ७ महिना सरकार चलाए पनि केन्द्रमा फेरिएको एमाले–माओवादी गठबन्धनको असर कोशीमा पर्यो । प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि केदार कार्की २०८१ वैशाख २६ गते पदमुक्त भए ।
त्यसलगत्तै २०८१ वैशाख २७ गतेदेखि हिक्मत कुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भई हालसम्म पदमा बहाल रहेका छन्। तथ्याङ्कलाई समग्रमा हेर्दा एउटै प्रदेश सभा कार्यकालमा एमालेका हिक्मत कुमार कार्कीले सर्वाधिक ३ पटक र कांग्रेसका उद्धव थापाले २ पटक मुख्यमन्त्री पदको शपथ लिएका छन् । शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्र कुमार राई र केदार कार्कीले एक–एक पटक प्रदेशको नेतृत्व सम्हालेका छन् । अब फेरि कोशी प्रदेशमा १० औँ पटक नयाँ सरकार गठन हुने तयारीमा छ । प्रदेशसभाको दोस्रो कार्यकालमै अब बन्ने सरकार ७ औँ सरकार हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण