शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते

शनिबार, ०९ साउन २०८३, २१ : ३४
शनिबार, ०९ साउन २०८३

दमास्कस । सिरियाको मध्य–पूर्वी मरुभूमि क्षेत्रमा शनिबार दुई यात्रुवाहक बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। घटनामा थप ३० जना घाइते भएका सिरियाली सञ्चार माध्यमहरूले जनाएका छन्।

दमास्कस–देइर एजोर सडकमा दुई यात्रु बस एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पुष्टि गरेको छ।

गृह मन्त्रालयले यो दुर्घटना आन्तरिक सुरक्षा बलका केही कर्मचारी बोकेको बस र अर्को सार्वजनिक बस आपसमा ठोक्किएर भएको बताएको छ। घाइते र मृत्यु हुनेमध्ये कति जना सुरक्षा बलका थिए भन्ने विषय भने मन्त्रालयले खुलाएको छैन।

राष्ट्रिय टेलिभिजनले दुर्घटनाका दृश्यहरू प्रसारण गरेको छ, जसमा आगो लागेको बस तथा राजमार्गभर छरिएका भग्नावशेष र मृतकहरूका तस्बिर देखिन्छ।

यस महिनाको सुरुतिर दक्षिणी सिरियाको दारा प्रान्तको राजमार्गमा साउदी अरबबाट फर्कने तीर्थयात्री बोकेको बस पल्टिएर पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। तीमध्ये अधिकांश लेबनानी नागरिक थिए। प्रान्तीय अधिकारीहरूले उक्त दुर्घटनाको कारण तीव्र गति हुन सक्ने अनुमान गरेका थिए।

गत वर्ष उत्तर–पूर्वी सिरियामा एउटा बस तेल ट्याङ्करसँग ठोक्किएर भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप